६ वैशाख २०८१ बिहीबार
राजनीति

तत्काल केन्द्रीय समिति बैठक बोलाउन पौडेल पक्षको माग

काठमाडौं-  स्थानीय तहको निर्वाचन समिक्षाका साथै प्रदेश र केन्द्रको चुनावको तयारीका लागि तत्काल केन्द्रीय समितिको बैठक बोलाउन नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले माग गरेका छन्। पौडेल पक्षको मंगलबार अनामनगर बसेको भेलाले स्थानीय तहको निर्वाचन समिक्षाका लागि असोज १८ भित्र केन्द्रीय समिति बैठक बोलाउन माग गरेको हो।

नेतृत्वका कारण स्थानीय निर्वाचनमा पार्टी पराजीत हुन पुगेको पौडेल पक्षको ठहर छ। त्यसको सम्पूर्ण जिम्मेवारी नेतृत्वले लिनुपर्ने निष्कर्ष निकाल्दै पौडेल पक्षीय एक नेताले भने, ‘नेतृत्वका कारण पार्टी स्थानीय निर्वाचनमा दोस्रो हुनपुग्यो त्यसको समिक्षा गर्दै नेतृत्वले त्यसको जिम्मेवारी लिनुपर्छ।’

सभापति शेरबहादुर देउवाले एकलौटी टिकट वितरण गर्दा स्थानीय चुनावमा पार्टी दोस्रो हुन पुगेको ठहर गर्दै उनीहरुले त्यसको सम्पूर्ण जिम्मेवारी नेतृत्वले लिनुपर्ने निष्कर्ष निकालेका छन् । ‘नेतृत्वले आफ्नो अक्षमता अब स्वीकार गर्नुपर्छ की पर्दैन भन्ने आजको सवाल हो,’ पौडेल निकट एक नेताले भने, ‘राम्रोलाई भन्दा हाम्रोलाई मात्र अघि सारेपछि त्यसको जिम्मेवारी उहाँ(सभापति)ले नै लिनुपर्छ।’

तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस प्रमुख प्रतिपक्षी एमाले भन्दापछि पर्दै दोस्रो स्थानमा झरेको छ।

त्यस्तै, पौडेल पक्षले प्रदेश र केन्द्रको निर्वाचन तयारीमा पार्टी त्तकाल जुट्नु पर्ने ठहर गर्दै संसदीय समिति तत्काल गठन गर्नु पर्ने पनि माग गरेको छ । समितिले नै प्रदेश र केन्द्रको टिकट वितरण गर्नुपर्ने भन्दै पौडेल पक्षले त्यसप्रति सभापतिले चासो नदेखाएको आरोप लगाएको छ ।

‘संसदीय समितिमार्फत केन्द्री र प्रदेशको उम्मेदवार छनोट गर्ने विषयमा सभापति उदासीन देखिनु भएको छ,’ पौडेल निकट एक केन्द्रीय सदस्यले भने, ‘समिति गठन नगरी टिकट वितरण गर्ने कुरा हामीलाई मान्यछैन । त्तकाल समिति गठन हुनुपर्छ ।’

कांग्रेसले प्रदेश र केन्द्रको उम्मेदवार छनोटका लागि मातहतका निकायलाई परिपत्र गर्दै १७ गतेभित्र  केन्द्रमा नाम सिफारीस गर्न जिल्ला समितिहरुलाई परिपत्र गरीसकेको छ।

 

 

प्रकाशित: १० आश्विन २०७४ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App