coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

शीर्ष तीन नेताको जिल्लामा राजपा कमजोर

सर्लाही- स्थानीय तह निर्वाचनका घोषित  परिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) का तीन शीर्ष नेताको गृहजिल्ला सर्लाहीमा पार्टीको अवस्था दयनीय देखिएको छ । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहित सदस्यहरू राजेन्द्र महतो र महेन्द्रप्रसाद यादवको गृहजिल्ला हो सर्लाही । तर, शीर्ष नेताहरूकै जिल्लामा राजपाले अपेक्षित जित हासिल गर्न सकेन । २० स्थानीय तह रहेको सर्लाहीमा शनिबार साँझसम्म १६ वटाको परिणाम आइसकेको छ । जसमा ५ स्थानमा मात्रै राजपाका उम्मेदवार विजयी भएका छन् । घोषणा हुन बाँकी ४ नगरपालिकामध्ये कविलासी नगरपालिकामा मात्र राजपाको अग्रता छ ।  
राजपा सर्लाहीका संयोजक प्रमोद साहले सबैभन्दा ठूलो गल्ती उम्मेदवार चयनमा भएकाले अपेक्षित परिणाम नआएको स्वीकारे । ‘एकातिर उम्मेदवार छनोटमा गल्ती भयो, अर्काेतिर आन्दोलनरत पार्टीहरूबीच एकता हुनेबित्तिकै निर्वाचनमा होमिनु परेकाले व्यवस्थित हुन सकिएन’, उनले भने, ‘नेताकार्यकर्तालाई समेट्न नसक्दा ठूलो क्षति भएको छ ।’
उनका अनुसार राजपाले सर्लाहीमा कम्तीमा १२ वटा स्थानीय तह जित्ने अनुमान गरेको थियो । तर, उम्मेदवार चयनको किचलोले ५ वटामा खुम्चिएको छ । गणना भइरहेको एक नगरपालिकामा जित्ने या नजित्ने निश्चित छैन ।
राजपामा एकीकृत तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टी सम्बद्ध नेताकार्यकर्ता उम्मेदवारमा नसमेटिएपछि महामन्त्री एवं सांसद जंगीलाल रायले उम्मेदवार मनोनयनपत्र दर्ताको अघिल्लो दिन सदरमुकाम मलंगवामा कार्यकर्ता भेला गरेर राजपाका उम्मेदवारलाई नै भोट हाल्नुपर्ने बाध्यता नरहेको जानकारी गराएका थिए । त्यतिमात्र हैन उनले राजपा सर्लाहीका पूर्वसंयोजक विनय कर्णलाई एमालेबाट कविलासी नगरपालिकाको मेयरमा टिकट दिलाएर छाडे । राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवका भाइले हरिपूर्वा नगरपालिकाको मेयर तथा सोही पार्टीका नेता रामनरेश राय यादवका छोराले पर्सा गाउँपालिकाका अध्यक्षमा टिकट पाएपछि पार्टीमा एकीकृत विभिन्न पूर्वदलका नेताकार्यकर्ताले असहयोग गरे । जसले गर्दा हरिपूर्वा नगरपालिका कांग्रेस तथा पर्सा गाउँपालिका संघीय समाजवादी फोरमको पोल्टामा गयो । पर्सा गाउँपालिकामा त राजपाले टिकट नदिएपछि संघीय समाजवादी फोरममा पसेर टिकट पाएका किशुनदेव राय यादवले जित हासिल गरे । राजपाभित्रकै असन्तुष्टिका कारण चक्रघट्टा गाउँपालिकामा पनि माओवादी केन्द्रले थोरै भोटले बाजी मा¥यो । मलंगवा एवं कविलासी नगरपालिकामा पनि महेन्द्र यादवपक्षीय उम्मेदवार भएपछि राजपामा एकीकृत अन्य पूर्वदलका नेताकार्यकर्ताले असहयोग गर्दा मलंगवामा कांग्रेसले तथा कविलासीमा संघीय समाजवादी फोरमले कडा टक्कर दिइरहेको राजपाकै एक कार्यकर्ता बताउँछन् ।  

 

प्रकाशित: ८ आश्विन २०७४ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App