१५ चैत्र २०८० बिहीबार
राजनीति

देउवाद्वारा सार्क सदस्य राष्ट्रका प्रमुखसँग वार्ता

काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न देशका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग साइड लाइन भेटवार्ता गरेका छन् ।
देउवाले बिहीबार अफगानस्तिानका राष्ट्रपति असरफ घानी, श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद र पाकिस्तानका प्रधानमन्त्री सहिद अब्बासीसँग द्विपक्षीय वार्ता गरेको न्युयोर्कस्थित नेपाली स्थायी नियोगले जनाएको छ । भेटमा आपसी हित र अन्तर्राष्ट्रिय साझा मुद्दामा छलफल भएको नियोगको विज्ञप्तिमा उल्लेख छ ।
अफगानिस्तानका राष्ट्रपति घानीसँगको भेटमा आपसी सम्बन्धलाई थप मजबुत बनाउन दुवै देशका नेताले जोड दिएका थिए । त्यस्तै बंगलादेशकी प्रधानमन्त्री बाजेदसँगको भेटवार्तामा दुई देशबीच यातायात कनेक्टिभिटी बढाउने सम्बन्धमा छलफल भएको जनाइएको छ । ऊर्जा सहयोग र नेपालको जलविद्युतमा संयुक्त लगानी गर्ने विषयमा पनि दुई प्रधानमन्त्रीले छलफल गरेको नियोगले जनाएको छ ।
पाकिस्तानका प्रधानमन्त्री अब्बासीसँगको भेटमा पनि द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल भएको जनाइएको छ । भेटमा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको शिखर सम्मेलन सदस्य राष्ट्र तयार हुनेबित्तिकै आयोजना गर्न आफ्नो देश तयार रहेको बताएका थिए ।
श्रीलंकाका राष्ट्रपति सिरिसेनासँग दुई देशबीचको ऐतिहासिक तथा धार्मिक सम्बन्धका विषयमा छलफल भएको नेपाली नियोगले जनाएको छ । यस वर्ष दुई देशबीचको दौत्य सम्बन्ध ६०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा व्यापार, पर्यटन र आर्थिक सहयोगलाई थप मजबुत बनाउनुपर्नेमा दुवै प्रधानमन्त्रीले जोड दिएका थिए ।
प्रधानमन्त्री देउवाले बिहीबारै कोलम्बियन युनिभर्सिटीको ‘वल्र्ड लिडर्स फोरम’ लाई सम्बोधन गरेका थिए । उनले नेपालको पछिल्लो राजनीतिक अवस्था र सामाजिक आर्थिक विकासबारे मन्तव्य दिएका थिए । उनले समावेशी लोकतन्त्र र विकासको मार्गमा नेपालको यात्राबारे पनि जानकारी गराएका थिए ।

प्रकाशित: ७ आश्विन २०७४ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App