१६ चैत्र २०८० शुक्रबार
राजनीति

डोलिन्द्रले बुझाए स्पष्टीकरण

काठमाडौं – साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सरकारबाट दोस्रोपटक सोधिएको स्पष्टीकरणको जबाफ आइतबार शिक्षा मन्त्रालयमा बुझाएका छन् । साझामा भएको अनियमितताबारे समाचार प्रकाशित भएपछि मन्त्रालयले गठन गरेको छानबिन समितिले शर्मासहितको सञ्चालक समितिलाई कारबाही गर्न सिफारिस गरेपछि मन्त्रालयले भदौ १९ मा उनलाई स्पष्टीकरण सोधेको थियो। 

मन्त्रालयको निर्देशनअनुसार अध्यक्ष शर्माले भदौ २३ मा करिब सय पृष्ठ लामो स्पष्टीकरण मन्त्रालयलाई बुझाएका थिए। मन्त्रालयले चित्तबुझ्दो नभएको भन्दै उनलाई भदौ २७ मा ‘तपाईंलाई किन कारबाही नगर्ने’ भन्दै पुनः तीनदिने स्पष्टीकरण सोधेको थियो । शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले शर्माको जबाफ हेरेर कारबाही प्रक्रिया अघि बढाउने बताए । ‘शर्माले मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन्, अध्ययन गरेपछि कारबाही अघि बढाउँछौं,’ लम्सालले भने। 

मन्त्रालय आफैंले गठन गरेको छानबिन समितिले साझामा अनियमितता भएको पुष्टि गरे पनि मन्त्रालय शर्मालाई कारबाही गर्न सुस्त देखिएको छ । शर्मालाई कारबाही नगरेको भन्दै शिक्षामन्त्री गोपालमान श्रेष्ठको आलोचना सुरु भएपछि मन्त्रालयले शर्मालाई दोस्रोपटक स्पष्टीकरण सोधेको हो।

छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेपछि अध्यक्ष शर्मासहित मनोनीत सदस्यले राजीनामा दिएका थिए । शिक्षामन्त्रीले राजीनामा अस्वीकृत गर्दै अध्यक्ष शर्मालाई काममा फर्किन आग्रह गरेका थिए। 
साझामा भएको अनियमितताबारे संसद्को सार्वजनिक लेखा समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेका छन्। 

तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवबाट २०७१ माघ ५ मा महाप्रबन्धक तथा २०७२ साउन १० गते अध्यक्षमा नियुक्ति पाएका शर्माले दुईवर्षे कार्यकाल पूरा गरी २०७३ पुसमा पुनः तत्कालीन शिक्षामन्त्री धनिराम पौडेलबाट चार वर्षका लागि दुवै पदमा नियुक्ति पाएका थिए।

 

प्रकाशित: ४ आश्विन २०७४ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App