८ वैशाख २०८१ शनिबार
राजनीति

प्रमुख दल प्रदेश र संघको चुनाव तयारीमा

काठमाडौं – स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै प्रमुख राजनीतिक दल प्रदेश र केन्द्रको निर्वाचन तयारीमा जुटेका छन् । प्रदेश र केन्द्रको निर्वाचन एकैपटक तर दुई चरणमा मंसिर १० र २१ गते तोकिएको छ।

नेपाली कांग्रेसले दुवै तहको उम्मेदवार सिफारिस गर्न तल्लो तहलाई परिपत्र गर्दै असोज १७ भित्र केन्द्रीय कार्यालयमा नाम पठाउन सिफारिस गरेको छ । प्रत्येक क्षेत्रबाट महिलासहित तीनजनाको नाम सिफारिस गर्न कांग्रेसले सोमबारै परिपत्र गरिसकेको छ।

त्यस्तै, एमालेले पनि प्रदेश र केन्द्रको निर्वाचन तयारीका लागि केन्द्रीय कमिटी बैठक बोलाएकोे छ । एमालेले असोज ६–८ गते बैठक डाकेको छ । बैठकले उम्मेदवार छनोटका लागि मापदण्ड तयार गर्नुका साथै जिम्मेवारी बाँडफाँट गर्ने छ । 
एमाले सचिव पृथ्वीसुब्बा  गुरुङले बैठकले उम्मेदवार चयन मापदण्ड बनाउन कार्यादल गठन गर्नेछ । ‘उम्मेदवार छनोट प्रक्रिया पनि सोही बैठकबाट सुरु हुनेछ’, गुरुङले भने।

नेकपा माओवादी केन्द्रले पनि प्रदेश र प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार छनोट गर्न रामबहादुर थापाको नेतृत्वमा १५ सदस्यीय कार्यदल बनाएको छ।

पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार प्रत्येक प्रदेशका इन्चार्ज र संयोजक सदस्य रहनेगरी कार्यदल गठन गरिएको छ । ‘प्रदेशका इन्चार्ज र संयोजकसँग सहकार्य गरेर प्रदेश र संघका लागि उम्मेदवार छनोटलगायत काम कार्यदलले गर्नेछ,’ उनले नागरिकसँग भनिन् । उनका अनुसार समावेशी र समानुपातिक प्रतिनिधित्व हुने गरी नाम छनोटमा  ध्यान दिन भनिएको छ। 

कांग्रेसको परिपत्र
कांग्रेसले मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनका लागि असोज १७ भित्र सम्भावित उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला समितिलाई परिपत्र गरेको छ । कांग्रेस कार्यसम्पादन समितिको आइतबारको बैठकले प्रदेश र केन्द्रका लागि नाम सिफारिस गर्न जिल्लालाई परिपत्र गर्ने निर्णय गरेको हो । सोही अनुसार कांग्रेस केन्द्रीय कार्यालयले सोमबार सबै जिल्लालाई परिपत्र गरेको छ।

‘पार्टीको तेह्रौं महाधिवेशनमा गठन भएका गाउँ÷नगर कार्यसमितिले २०७४ असोज १० गतेभित्र सम्भावित उम्मेदवारको नाम क्षेत्रमा, क्षेत्रले १३ गतेभित्र जिल्लामा र जिल्लाले क्षेत्रबाट आएका नाममा आफ्नो रायसहित १७ गतेभित्र केन्द्रमा अनिवार्य रूपमा सिफारिस पठाउनुपर्नेछ,’ कांग्रेसले जिल्लालाई पठाएको परिपत्रमा भनिएको छ, ‘तोकिएको निकायले निर्धारित समयभित्र सिफारिस नपठाए माथिल्लो निकायले निर्णय गर्नेछ।’

पार्टीमा निरन्तर क्रियाशील सदस्य, पार्टीभित्र र जनतामा लोकप्रिय एवं स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई विजयी बनाउन क्रियाशील भएका मध्येबाट नाम सिफारिस गर्न भन्दै कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा तथा समानुपातिकतर्फ महिलासहित बढीमा ३÷३ जनाको नाम पठाउन भनेको छ । ‘समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको नाम सिफारिस गर्दा समावेशी प्रतिनिधित्वको सिद्धान्तका आधारमा सम्बन्धित क्षेत्रको जनसंख्याको बनोटलाई ध्यानमा राखी (दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिम) गर्नुपर्नेछ,’ उसले भनेको छ।

कांग्रेसले उम्मेदवार छनोट गर्ने संसदीय बोर्ड भने अझै गठन गरेको छैन । केन्द्रीय सदस्य प्रकाशशरण महतले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा विदेश भ्रमण (अमेरिका) बाट फर्केलगत्तै बोर्ड गठन हुने दाबी गरे । ‘प्रधानमन्त्री विदेश भ्रमणबाट आइसक्दा जिल्लाबाट नाम पनि सिफारिस भइसक्छ,’ महतले भने, ‘त्यसपछि टिकट वितरण गर्ने समिति गठन गरेर नाम टुंगो लगाउँदै जान्छौं।’

संसदीय बोर्डको पदेन सदस्य रहने पार्टी उपसभापति, महामन्त्री र सहमहामन्त्री अझै मनोनीत भएका छैनन् । सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री बनाउन केन्द्रीय समिति बैठकमा प्रस्ताव गर्नुपर्छ । र, ती नाम केन्द्रीय समितिले अनुमोदन गर्नुपर्ने व्यवस्था विधानमा छ।

यसैबीच कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्ने भएको छ । कांग्रेसले मंगलबार विज्ञप्ति जारी गर्दै ३ सय ३० प्रादेशिक क्षेत्रमा चियापान गर्ने निर्णय गरेको हो । ‘आसन्न संसदीय र प्रादेशिक निर्वाचनका लागि आमजनता माझ क्रियाशील रहनुपर्ने भएकाले सो कार्यक्रमलाई अझ व्यापकता दिनुपर्ने आवश्यकता बोध गर्दै केन्द्रको सट्टा यस वर्षको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा गर्ने निर्णय भएको छ,’ पार्टी मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम वर्षौंदेखि गर्दै आएको छ ।

प्रकाशित: ४ आश्विन २०७४ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App