१६ चैत्र २०८० शुक्रबार
राजनीति

मौन अवधिमा माछा, कुखुरा र पैसाको चलखेल

रौतहट- प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको अघिल्लो दिन मतदाता फकाउन उम्मेदवारहरुले माछा, मासु, कुखुरा, हाँस र पैसा बाँडेका छन्। निर्वाचनमा चुनाव जित्ने दौडमा रहेका उम्मेदवारहरुले आफ्नो पक्षको भोट कायम राख्न र विपक्षीको भोट आफूतिर तान्न मौन अवधिको सम्पूर्ण नियम र आचार संहिताको धज्जी उडाउँदै उम्मेदवारहरुले मतदातालाई भेट्दै मागेको सामग्री उपलब्ध गराएका छन्।

रौतहटको मौलापुर नगरपालिका ४ मा माछा बाँड्दै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देखेपछि भागेको छ। प्रहरीले एक क्वीन्टल माछा बरामद गरेको छ । बरामद गरेको माछा खाल्टो खनी पुरेर नष्ट गरेको रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए। आचार संहिताको उल्लंघन गर्दै कतै कतैबाट माछा र कुखुरा वितरण गरेको गुनासो आएको पोखरेलले बताए। माछा वितरण गरेको सूचना आएपछि नै गस्ती पठाएकोमा टोलीलाई देखेर माछा बाँड्नेहरु फरार भएका थिए । उनीहरुको खोजी भइरहेको पोखरेलको भनाइ छ।

गढीमाई नगरपालिकाको संग्रामपुरका श्रीनारायण झाको सानैदेखि साकाहारी भए पनि कुनै उम्मेदवारले माछा, कसैले कुखुराको मासु, कसैले हाँसको मासु पठाइदिने गरेको बताएका छन्। गाउँमा विभिन्न पार्टीको उम्मेदवारको तर्फबाट माछा, मासु र पैसा वितरण भएको बताउँदै झाले आफूकहाँ आएको माछा र मासु सम्बन्धित उम्मेदवारलाई फिर्ता गरेको बताए।

गौर नगरपालिका ७ सिसवामा उम्मेदवारहरु रातभरि आउन थालेपछि स्थानीयले बाटो नै बन्द गर्ने युक्ति निकालेका छन् । गाउँ पस्ने मूल बाटोलाई ह्युम पाइपले छेकेर राति ११ बजेदेखि कोही पनि उम्मेदवारलाई पस्न निषेध गरिएको स्थानीय राम जनम दास तत्माले बताए। आचार संहिताको उल्लंघन गर्दै विभिन्न पार्टीका उम्मेदवारहरुले पैसाको लोभ देखाउन थालेपछि स्थानीयले राती गाउँको बाटो नै बन्द गर्ने उपाय निकालेका हुन्।

जिल्लाको अधिकांश नगर तथा गाउँमा उम्मेदवारहरुले अन्तिममा आएर मतदाता फकाउन उसले मागेको बस्तु दिन थालेका छन्। नागरिक समाजका सचिव विजय किशोर झाले पर्दापछाडिबाट उम्मेदवारहरुले मतदाता फकाउन अनेक उपाय गरिरहेको बताएका छन् । देखावटी रुपमा उम्मेदवारहरु मौन अवधिको पालन गरेको तर मौन अवधिमा प्रचार प्रसार गर्नुका साथै मतदाता फकाउन आफूले सकेको सबै उपाय गरिरहेको पाइएको झाले बताए।

जिल्लामा निर्वाचन आचार संहिताको उल्लंघन सामान्यरुपमा कतै कतै भएको गुनासो सुनिएको प्रमुख निर्वाचन अधिकृत लेखनाथ ढकालले बताएका छन् । निर्वाचनको समयमा कानुनले निषेध गरेको काम फाटफुटरुपमा भएको आफूले सुनेको र तुरुन्त कारबाहीको लागि आफूले भनेको ढकालले बताएका छन्।

प्रकाशित: १ आश्विन २०७४ १०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App