१४ जेष्ठ २०७७ बुधबार
राजनीति

लुछाचुँडी गरेर देश बन्दैन : ओली

इटहरी उपमहानगरपालिकाको प्रथम नगरसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : नागरिक

इटहरी – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले थोत्रो राजनीतिका नाममा लुछाचुँडी गरेर अब देशको विकास नहुने बताएका छन् । उनले विकासमा बाधक हुने गरी राजनीति नगर्न सबैलाई आग्रह गरे।

‘राजनीतिका नाममा लुछाचँुडी गर्दा अब देश बन्दैन, विकास जहाँको त्यहीं हुन्छ,’ अध्यक्ष ओलीले शनिबार इटहरी उपमहानगरपालिकाको प्रथम नगरसभा उद्घाटन क्रममा भने, ‘राजनीति स्वच्छ गर्नुहोस्, अस्वथ्य नगर्नुहोस् ।’ 

 ओलीले एउटाले विकास गर्दा अर्कोले विरोध गर्ने संस्कारकै कारण विकासले गति लिन नसकेको बताए । ‘एउटाले बाटो बनायो अर्काले विरोध गर्ने । एउटाले स्कुल बनाउँदा अर्को समूह विरोधमा उत्रिने । अनि अस्पताल बनाउनेविरुद्ध लाग्ने संस्कार नै गलत बस्यो,’ उनले भने, ‘अब यस्ता गलत संस्कारविरुद्ध सबै संगठित हुनुपर्छ।’

‘अब देशको विकास गर्न पाँचौं गियर लगाएर अघि बढनुपर्छ,’ ओलीले भने, ‘विकाको रफ्तार ट्याक्टरजस्तो हुनु भएन, कारजस्तो हुनुपर्छ ।’

उनले राजनीतिका नाममा कुन दल ठूलो भनेर स्कुले उमेरमा केटाकेटीबीचको जस्तो वादविवाद प्रतिस्पर्धा नगरी विकासमा एकजुट भएर लाग्न आग्रह गरे । ‘स्कुले विद्यार्थीबीच कलम ठूलो कि तरबार भनेजस्तै गरी अब एमाले, कांग्रेस र माओवादी कुन ठूलो भनेर तर्कवितर्क गर्ने दिन छैन,’ उनले भने, ‘जसले काम ग¥यो त्यही दल ठूलो । त्यसैले काम गरेर देखाउनुहोस्।’ 

स्थानीय तहमा विजयी हुने मेयर, उपमयेर, वडाध्यक्ष र सदस्यले जनताको काम गर्न कुन पार्टीको भनेर सोध्न नमिल्ने ओलीले बताए । ‘सबैले भोट दिएपछि तपाईंले (जनप्रतिनिधि) जित्नु भएको हो । सबैले मलाई भोट दिए भनेर सम्झनुहोस्,’ उनले भने, ‘तपाईंले जितेको सबैको काम गर्न हो । फराकिलो भावना राख्नुहोस् ।’ उनले इटहरीलाई कस्तो बनाउने जिम्मा नगर कार्यकारिणी सभाको भएको बताए। 

ओलीले दीर्घकालीन विकास गर्न गुरुयोजना बनाउनुपर्ने बताए । ‘इटहरीलाई कस्तो बनाउने चुनावमा विजयीहरूले गुरुयोजना ल्याउनुहोस् । गुरुयोजना पाँच वर्षका लागि ल्याउनुहोस्,’ उनले भने, ‘अनि टार्गेट पूरा गर्ने गरी काम गर्नुहोस्।’ 

उनले पूर्व–पश्चिम र उत्तर–दक्षिण जोडिएको चौबाटो भएका हिसाबले प्रदेश नं. १ को राजधानी इटहरी भए राम्रै हुने बताए । ‘धरान साँघुरो छ । विराटनगरमा भद्रगोल छ,’ उनले भने, ‘म निर्णय गर्ने ठाउँमा पनि छु । यसले गर्दा चुनावी भाषण जस्तो जहाँ पुग्यो, त्यही ठाउँको बारेमा बोल्नु उपयुक्त हुन्न । तर, इटहरी प्रदेश नं. १ को राजधानी हुँदा राम्रै हुन्छ ।’ उनले राजधानी बनाउने आधारहरू कसरी व्यवस्थित गर्ने, कलेज, अस्पताल, मेडिकल कलेजजस्ता पूर्वधार कहाँ राख्ने योजनामा समेटिनुपर्ने बताए। 

उनले समग्र देशको विकास गर्न पनि विकासको गियर बढाउनुपर्ने बताए । ‘अब देशको विकास गर्न पाँचौं गियर लगाएर अघि बढनुपर्छ,’ ओलीले भने, ‘विकाको रफ्तार ट्याक्टरजस्तो हुनु भएन, कारजस्तो हुनुपर्छ।’

 नगरसभा उद्घाटन गरिए पनि बजेट भने दलीय सहमतिमा असोज ४ गते मात्र सार्वजनिक गरिने छ । कार्यक्रममा तत्कालीन इटहरी नगरपालिकाका मेयर सर्वध्वज साँवा र उपमेयर  रेवतीरमण भण्डारी (हाल सांसद) लाई सम्मान गरियो । एक महिनाअघि साउन २७ गते इटहरीको बूढीखोला मानवबस्तीमा पस्दा पीडित भएकालाई सहयोग गर्ने संस्थालाई पनि सो अवसरमा कदरपत्र प्रदान गरियो। 

प्रकाशित: १ आश्विन २०७४ ०७:४५ आइतबार

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App