coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधान संशोधन छाडेर स्थानीय विकास अजेन्डा

बालकृष्ण/सुरेश
जनकपुर – संविधान संशोधनको विषयलाई लिएर पक्षविपक्षमा देखिएका प्रमुख दल स्थानीय निर्वाचनमा भने त्यो अजेन्डा थाती राख्दै स्थानीय विकासका मुद्दालाई प्राथमिकतामा राखी जनताको घरदैलोमा पुगेका छन् । संविधान संशोधनको विपक्षमा रहेको नेकपा एमालेमात्र होइन, संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने अडान राख्दै आएको राष्ट्रिय जनता पार्टी नेपालले समेत स्थानीय विकास निर्माणलाई मुख्य अजेन्डा बनाएका छन् । 

संविधान संशोधनको पक्षमा रहेका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतले पनि स्थानीय विकासलाई नै जोड दिएका छन् । उनीहरुले स्थान र परिस्थिति हेरी संशोधनको विषयलाई एकाध ठाउँमा अघि सार्ने गरे पनि स्थानीय विकासलाई नै जोड दिने गरेका छन् । 

मधेस केन्द्रित दलले आफूले जितेमात्र मधेसी र मधेसको अधिकार प्राप्त हुने दाबी गर्दै आएका छन् भने एमालेले संशोधन पारित हुँदा वा नहुँदा मधेसका जनताको जीवनस्तर र अधिकारमा कुनै परिवर्तन नआउने तर्क गर्दै आएको छ । एमाले धनुषाका सचिव लक्ष्मीनारायण यादवले संविधान संशोधन प्रस्तावमा समेटिएको विषयले जनताले कुनै अधिकार नपाउने दाबी गरे । ‘संशोधनमा जनतालाई फाइदो हुने कुनै कुरा थिएन त्यसैले एमाले विपक्षमा उभिएको हो,’ उनले भने, ‘यो कुरालाई हामीले सम्झाउने प्रयास गरिरहेका छौं । नागरिकतासहितका सवाललाई हाम्रो पार्टीको पहलमा सम्बोधन गर्ने काम गरेकै हो ।’ स्थानीय तहको चुनावमा विकास र समृद्धिको कुरालाई प्राथमिकता दिने उनले सुनाए । 

संविधान संशोधनको विषय अब हट्यो भन्ने होइन । व्यक्ति र जातको कुराले मधेस र मधेसी जनताको हकअधिकारको कुरा गौण बन्न पुगेको छ ।’
बजरंग नेपाली, नेता, कांग्रेस महोत्तरी

कांग्रेस महोत्तरीका नेता बजरंग नेपाली स्थानीय निर्वाचनमा व्यक्ति र जातले प्राथमिकता पाउँदा संविधान संशोधनको मुद्दा ओझेलमा परेको सुनाउँछन् । ‘संविधान संशोधनको विषय अब हट्यो भन्ने होइन,’ उनले भने, ‘व्यक्ति र जातको कुराले मधेस र मधेसी जनताको हकअधिकारको कुरा गौण बन्न पुगेको छ ।’

राजपा नेता परमेश्वर साहले मधेसी जनताको अधिकार प्राप्तिको आन्दोलन जारी रहेको दाबी गरे । आन्दोलनको स्वरुपमात्र परिवर्तन भएको बताउँदै उनले भने, ‘प्रदेशको सीमांकन, भाषा, राष्ट्रियसभा गठन, नागरिकतासहितका विषयमा राज्यसँगको लडाइ जारी छ ।’ 

राष्ट्रिय जनता पार्टी नेपालबाट जलेश्वर नगरपालिकाको प्रमुख पदका उम्मेदवार रामशंकर मिश्रले स्थानीय चुनावलाई आन्दोलनको रुपमा मात्र आफ्नो पार्टीले स्वीकार गरेको बताए । आन्दोलनको स्वरुपमात्र परिवर्तन भएको दाबी गर्दै उनले भने, ‘संविधान संशोधनसहित मुद्दालाई हामीले छाडेका छैनौं, त्यसैलाई सफल बनाउन दललाई स्थापित गर्न स्वरुपमात्र परिवर्तन गरेका हौं ।’

धनुषा नगरका रामविलाय रायले संविधान संशोधनका विषयमा दलले खासै कुरा नगरेको सुनाए । ठूला नेता नआएको र स्थानीय नेता कोही पनि त्यस विषयमा नबोलेको बताउँदै उनले भने, ‘गाउँठाउँको विकासका कुरा गर्छन्, अरु कुरा हुँदैन।’

 

प्रकाशित: २६ भाद्र २०७४ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App