४ वैशाख २०८१ मंगलबार
राजनीति

सिंहासन पल्टाउने तागत देखेर मेरो विरोध : एमाले नेता नेपाल

चितवन – पूर्व प्रधामन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तराई मधेसमा एमालेसँग डराएकाहरूले नै कार्यक्रममा भौतिक आक्रमणको प्रयास गरेको बताएका छन्। प्रेस चौतरी नेपाल चितवन शाखाले शुक्रबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले संविधान संसोधनको विपक्षमा अरु दलहरू पनि रहेको तर एमालेमाथि मात्रै आक्रमण गर्नु डराएरै हो भनेका हुन्।

‘यो पार्टीको यो माधव नेपाल भन्ने मान्छेले हाम्रो सिंहासन पल्टाउने तागत राख्छ भनेर नै मेरा विरुद्ध प्रदर्शन गर्दै कार्यक्रम विथोल्न खोजेका हुन । नभए त संविधान संशोधनको औचित्य छैन भनेर स्वयम उपेन्द्र यादवले नै भनेका हुन् । तर आक्रमणको तारो एमाले मात्रै बनाएका छन्’ नेता नेपालले भने । नेता नेपाल सहभागी वीरगञ्ज र जनकपुरको कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका थिए।

चुनाव घोषणा भएपछि अरु पार्टीको सभा विथोल्नु दुर्भाग्य पूर्ण काम भएका कारण यस्ता गतिविधि रोक्न सरकार र निर्वाचन आयोग गम्भीर हुनु पर्ने उनले बताए । ‘यो निर्वाचन आचारसंहित विरोधी काम हो । चुनावका बेलामा होस वा अरु कुनै बेलामा पनि एउटा पार्टीले अरु पार्टीको कार्यक्रम विथोल्ने भन्ने हुँदैन । सरकार र निर्वाचन आयोगले उनीहरुलाई सम्झाउनु पर्‍यो नमाने कारवाही गर्नु पर्‍यो’ नेता नेपालले भने । 

प्रकाशित: १६ भाद्र २०७४ ०९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App