१५ चैत्र २०८० बिहीबार
राजनीति

भारतीय महावाणिज्य दूतावास नहट्नु दुर्भाग्य : दाहाल

विराटनगर- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विराटनगरमा रहेको भारतीय महावाणिज्य दूतावास नहट्नु दुर्भाग्यपूर्ण भएको बताए । आफ्नै पार्टीका नेता नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा सरकारले गरेको निर्णय कार्यान्वयन नभएकोमा उनले दुःख व्यक्त गरेका हुन् ।

 प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा दिएको अभिव्यक्तिप्रति पनि दाहालले असन्तुष्टि जनाए । उनले भने, ‘संविधान संशोधनको एक चरणको प्रक्रिया सकिएकाले पुनः संशोधनकै विषयलाई लिएर भारतमा अभिव्यक्ति दिनु उपयुक्त होइन ।’

पार्टीको प्रदेश नम्बर १ को भेलाअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा दाहालले प्रधानमन्त्री देउवाले भारतसँग कोसी उच्च बाँध निर्माणमा सहमति नगरेको दाबी गरे । उनले नेपाल–भारतको संयुक्त वक्तव्यमा कोसी सम्झौताबारे उल्लेख भएको बुँदामा छलफल गरिने बताए ।

‘कोसी उच्च बाँध निर्माण गर्नेबारे माओवादीको धारणा पुरानै हो, यो सम्झौता पुनरावलोकन हुनुपर्छ,’ दाहालले भने, ‘देउवाजीले सहमति गरेको नभई संयुक्त वक्तव्यमा उल्लेख भएको मैले जानकारी पाएको छु, तत्कालै प्रधानमन्त्रीसँग छलफल गर्छु ।’

भद्रगोलले चुनाव जित्न सकिएन

आफ्नो पार्टीभित्र भएको ‘भद्रगोल’ भएकै कारण स्थानीय निर्वाचनमा जित्न नसकेको उनले खुलासा गरेका छन् । त्यही भएर पार्टीको हेडक्वाटर भंग गरिएको उनले दाबी गरे ।

विराटनगरस्थित अतिथि सदनमा सोमबार प्रदेश नम्बर १ को पार्टी भेलामा माओवादी अध्यक्ष दाहालले भने, ‘पार्टीमा भद्रगोल भएकै कारण माथिबाटै घटुवाको प्रारम्भ गरेका हौं ।’ पार्टीका प्रदेशस्तरीय नेता र कार्याकर्तालाई मात्र प्रवेश दिइएको गोप्य भेलामा उनले पार्टीभित्रको भद्रगोल ‘सम्हाल्न’ नसक्ने अवस्थामा पुगेको समेत खुलासा गरेको सहभागी एक नेताले बताए ।

‘हामी विचार, राजनीति र नेतृत्वमा त जित्यौं । तर, संगठन र चुनावी परिणाममा जित्न सकेनौं, त्यसको मुख्य कारण संगठन भद्रगोल हुनु नै हो,’ दाहालले भने, ‘त्यसैले पार्टीमा माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं । केन्द्रीय कार्यालय (हेडक्वाटर) भंग गरेर सचिवालयलाई कार्यकारी बनाएका छौं । अब संगठनलाई चुस्त बनाएर अघि बढ्छौं ।’

दाहालले बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीप्रति पनि कटाक्ष गरे । ‘माओवादी केन्द्रबाट अलग भएका शक्तिलाई जनताले रुचाएनन्,’ उनले भने, ‘वैद्यजी, विप्लवजी, बाबुरामजी पनि चुनावमा जानुभयो, जनताले माओवादी केन्द्रमै जाऊ भनेर जनमत दिए ।’ उनले चुनावले माओवादी केन्द्रलाई पनि ‘शिक्षा’ दिएको बताउँदै भने, ‘हामीलाई पनि जनताले अहंकार नगर, सबैलाई मिलाऊ भन्ने जनमत दिएका छन् । धेरै साथी आइसक्नुभएको छ, अब नेताहरू पनि आउनुपर्छ, नत्र उनीहरूको पनि भविष्य छैन ।’

उनले माओवादीकै कारण देशको एकता र समृद्धि सम्भव भएको पनि दाबी गरे । ‘एकथरी मान्छेले बिगार्न र भत्काउन मात्र माओवादी सिपालु छ भन्ने ठान्थे । तर, हामीले १० महिनामा त्यो भ्रमलाई पूरै गलत साबित ग¥यौं,’ उनले भने, ‘देशलाई एकताबद्ध ग¥यौं, हिमाल, पहाड र मधेसलाई मिलायौं ।’ उनले आफ्नो पहलमा भएका कामको फेहरिस्त नै सुनाए, ‘छिमेकीसँग सन्तुलित सम्बन्ध बनायौं, संविधान कार्यान्वयन ग¥यौं, स्थानीय तह बनायौं, चुनाव ग¥यौं । आर्थिक समृद्धि गुणात्मक स्थानमा पुग्यो । मूल्यवृद्धि रोकियो, लोडसेडिङ हट्यो, विकास आयोजनाले गति लिए, यो सामान्य कुरा हुँदै होइन ।’ दाहाल सोमबार नै सप्तरी हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् ।

प्रकाशित: १३ भाद्र २०७४ ०२:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App