१६ चैत्र २०८० शुक्रबार
राजनीति

बागीलाई कारवाही गर्न काँग्रेसद्वारा समिति गठन

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा पाँच सदसीय अनुशासन समिति गठन गरेको छ। स्थानीय तह निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई कारवाही गरी छाड्ने प्रतिवद्धता जनाएका सभापति शेरबहादुर देउवाले बुधबार नयाँ दिल्ली उड्नु अघि अनुशासन समिति गठन गरेका हुन्।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा पाँच दिन भारत भ्रमणमा निस्कनुअघि रिजालको नेतृत्वमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे, हृदयराम थानी सदस्य रहेको समिति गठन गरेका हुन्।

चार केन्द्रीय सदस्य मनोनित
सभापति देउवाले पार्टीका चार नेतालाई केन्द्रीय समितिमा मनोनित गरेका छन् । केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा  हरिप्रसाद नेपाल (पाल्ला), राधेचन्द्र यादव, अमृत अर्याल र ध्यानगोविन्द रञ्जित रहेका छन्। रञ्जीतलाई पार्टी विधानको धारा २१(झ) अनुसार र अरुलाई २१(ठ) अनुसार केन्द्रीय सदस्यमा मनोनित गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

२१ केन्द्रीय सदस्य मनोनित गर्न पाउने विधानको व्यवस्था अनुसार देउवाले यसअघि पटक पटक गरी १२ नेतालाई केन्द्रीय सदस्य मनोनित गरिसकेका छन् ।

पार्टी महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र केन्द्रीय समितिसहित सबै निकायलाई पूर्णता दिइसक्नु पर्ने व्यवस्था भएपनि पदाधिकारी, विभागसहितका अन्य निकायहरु अझै गठन हुन सकेको छैन।

 

प्रकाशित: ७ भाद्र २०७४ १०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App