१६ चैत्र २०८० शुक्रबार
राजनीति

नेपाल एजुकेसनल हब बन्ने : मन्त्री श्रेष्ठ

काठमाडौं- उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले नेपाललाई विश्वस्तरको शैक्षणिक केन्द्र बनाउने लक्ष्य रहेको बताएका छन्। शुक्रबार नेपाल रिपब्लिक मिडिया प्रालिले आयोजना गरेको हेराल्ड कलेज नागरिक एजुकेसन करिअर फेयरको उद्घाटन गर्दै उनले नेपाललाई एजुकेसनल हबमा परिणत गर्न शिक्षा मन्त्रालयले सबैखाले सहयोग तथा सहकार्यमा जोड दिँदै आएको प्रस्ट पारे।

विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने उच्च शिक्षा स्वदेशमै उपलब्ध गराउने सरकारी नीति छ। उच्च र गुणस्तरीय शिक्षाका लागि विदेशी भूमिमा गएर दुःख गर्नुपर्ने  स्थिति समाप्त हुनेछ।

'विश्वस्तरका विश्वविद्यालयका सम्बन्धनबाट नेपालमा कलेज खुलिरहेका छन्,' मन्त्री श्रेष्ठले भने, ' त्यही स्तरको प्रतिस्पर्धी बजारमा हाम्रो उच्च शिक्षालाई स्थापित गर्न कोर्सहरूमा पनि समयानुकूल परिमार्जन भइरहेको छ।'  विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने उच्च शिक्षा स्वदेशमै उपलब्ध गराउने सरकारी नीति रहेको उल्लेख गर्दै उनले यो प्रयासको परिणामले उच्च र गुणस्तरीय शिक्षाका लागि विदेशी भूमिमा गएर दुःख गर्नुपर्ने  स्थिति समाप्त हुने बताए।

विश्वस्तरमा प्रतिस्पर्धी पठनपाठनको केन्द्र बन्न नेपालका विश्वविद्यालयले पनि विज्ञान तथा प्रविधिसँगै अन्य संकायका विषयमा केन्द्रित हुन थालेको उनको भनाइ छ। उनले स्नातकमा विषय तथा कलेज छनोट गर्न अन्योलमा रहेका विद्यार्थीका लागि नागरिक एजुकेसन करिअर मेला लागि फलदायी साबित हुने विश्वास व्यक्त गरे। 'कुन विषय र कहाँ अध्ययन गर्ने भन्ने विद्यार्थीको दोधार एजुकेसन फेयरबाट समाप्त भएको मलाई लागेको छ,' मेलामा शैक्षिक स्टल अवलोकनपछि मन्त्री श्रेष्ठले भने, 'स्वदेश र विदेशका विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको सहभागिताले विद्यार्थीलाई छनोटका थुप्रै अवसर रहेको मेलामा पाएँ।'

विगतमा विद्यार्थीको पहिलो रोजाइ चिकित्साशास्त्र वा इन्जिनियरिङ अध्ययन गर्ने रहने गरेको भए पनि आजभोलि विद्यार्थीले अध्ययन सक्नेबित्तिकै रिजल्ट आउने विषय पढ्न चाहेको मन्त्री श्रेष्ठले बताए। 'अब विद्यार्थीले विज्ञानमात्रै पढ्नुपर्छ भन्ने छैन,' उनले भने, 'व्यवहारिक तथा सीपमूलक शिक्षा हासिल गरे विश्वबजारमै बिक्न सक्ने बुझाइ  विद्यार्थी र अभिभावकमा छ।' उनले त्यही बुझाइले गर्दा अहिले व्यवस्थापन र मानविकी संकायका विषयहरू बिबिए,बिएचम ,बिआइटी, सामाजिक कार्यलगायत विषयमा आकर्षण बढिरहेको बताए।

दुईदिने एजुकेसन मेलाले स्वदेशमा समेत अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा पाउनेबारे सुसूचित हुने औसर जुरेको उनले बताए। मन्त्री श्रेष्ठले विद्यार्थीलाई सही शैक्षिक जानकारी दिएर विदेश पठाउने शैक्षिक परामर्शदातृ संस्थालाई विधिवत सञ्चालनमा ल्याउन मन्त्रालयले पहल गरिरहेको जनाए। उनले विदेशी डिग्री दिने गरी सञ्चालित कलेजलाई थप निरन्तरता दिन र विदेशी विद्यार्थीलाई समेत नेपालमै उच्च शिक्षा उपलब्ध गराउने वातावरण तयार पार्न शिक्षा मन्त्रालय र सरोकारवाला निकाय लागिपरेको बताए।

प्रकाशित: ३ भाद्र २०७४ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App