८ वैशाख २०८१ शनिबार
राजनीति

नेपालको विकास उच्च प्राथमिकतामा : चीन

काठमाडौं- चारदिने नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। दुवै भेटमा उनले नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकतामा राखेको जनाउँदै नेपालको विकासमा सघाउन चीन तयार रहेको सन्देश दिएका छन्।

'ल्हासाबाट काठमाडौं जोड्ने रेलको प्राविधिक र अन्य सम्भाव्यता अध्ययन चीनले गरिरहेको छ,' भेटवार्तामा चिनियाँ उपप्रधानमन्त्री वाङको भनाइ उद्वृत गर्दै प्रधानमन्त्री देउवाको विदेशमामिला सल्लाहकार दिनेश भट्टराईले भने, 'ल्हासा–काठमाडौं रेल सेवा जोड्नका लागि नेपाललाई आवश्यक पर्ने सहयोग गर्न चीन तयार छ।'

भेटमा वाणिज्य, पर्यटन, पूर्वाधार विकास, अन्तरदेशीय कनेक्टिभिटी, जनस्तरमा सम्बन्धलगायत विषयमा छलफल भएको थियो। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआरइ)बारे पनि भेटमा छलफल भएको थियो। प्रधानमन्त्री देउवालाई नेपालका वरिष्ठ नेता भएको जनाउँदै चिनियाँ उपप्रधानमन्त्री वाङले नेपाल–चीन सम्बन्ध उनको कार्यकालमा झन् प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए।

चिनियाँ उपप्रधानमन्त्रीले नेपालको विदेश नीतिको प्रशंसा गरेका थिए। नेपालले आफ्नो विदेश नीतिलाई एकरूपताका साथ अघि बढाएकोमा उनले खुसी व्यक्त गरेका थिए। भेटमा प्रधानमन्त्री देउवाले चीनसँग नेपालको व्यापारघाटा बढेको उल्लेख गर्दै यसलाई कम गर्न नेपाली सामग्रीलाई चीनको बजार दिन आग्रह गरेका थिए। 

भेटमा प्रधानमन्त्री देउवाले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो स्मरण गराएका थिए। जवाफमा चिनियाँ उपप्रधानमन्त्रीले राष्ट्रपति सी जिन्पिङ्ले छिट्टै नेपाल भ्रमण गर्ने जनाएका थिए। 'राष्ट्रपति सि जिन्पिङले नेपालसँगको सम्बन्धलाई उच्च महŒव दिनुभएको छ। उहाँ छिट्टै नेपाल भ्रमण गर्न चाहनुहुन्छ,' चिनियाँ उपप्रधानमन्त्री वाङले भने।

भेटमा चिनियाँ उपप्रधानमन्त्री वाङले आफ्नो प्रधानमन्त्रीका तर्फबाट प्रधानमन्त्री देउवालाई चीन भ्रमणको निम्तो दिएका थिए। जवाफमा प्रधानमन्त्री देउवाले उपयुक्त समयमा आफू चीन भ्रमण गर्ने बताएका थिए। भेटमा जलवायु परिवर्तनका विषयमा पनि छलफल भएको थियो। जलवायु परिवर्तनले नेपाल र चीन दुवैलाई असर गरेको भन्दै दुवै पक्षले चिन्ता व्यक्त गरेका थिए।

प्रकाशित: १ भाद्र २०७४ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App