८ वैशाख २०८१ शनिबार
राजनीति

साझामा अनियमितता छानबिन शंकाको घेरामा

काठमाडौं – साझा प्रकाशनको अनियमिततामा अघिल्लो पटक सफाइ दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक अधिकारी यसपटक पनि छानबिन र अनुसन्धानमा खटिएको पाइएको छ । अख्तियारका उपसचिव रामप्रसाद सुवेदी यसअघि पनि साझामा अनियमितता विषयमा परेको उजुरीमा छानबिन गर्न खटिएका थिए । त्यतिबेला उनले साझामा कुनै अनियमितता नभएको भन्दै सफाइ दिएको स्रोत बताउँछ । 

यसअघि उन्मुक्ति दिएका अख्तियारका अधिकारी फेरि छानबिनमा तोकिए

साझामा भएका अनियमिततासम्बन्धी समाचार प्रकाशनमा आएपछि यस पटक पनि अख्तियारले चासो देखाएको छ । तर अनुगमनका लागि भने तिनै पुराना अधिकारी खटाइएपछि छानबिन प्रभावकारी हुनेमा आशंका उत्पन्न भएको छ । विश्वस्त सूत्रका अनुसार हाल अनुगमनमा खटिएका उपसचिव सुवेदी साझाका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माका निकट हुन् । उनले पहिलोपटक शर्मालाई सफाइ दिएपछि शर्माले अख्तियारमा समेत आफ्नो पहुँच रहेको भन्दै कसैले कारबाही गर्न नसक्ने बताउँदै आएका थिए । ‘यसअघि पनि मलाई अख्तियारले सफाइ दिइसकेको छ, त्यसैले अनियमितता भयो भन्नु गलत हो’, नागरिकसँगको कुराकानीमा शर्माले भने । उपसचिव सुवेदीले समेत अघिल्लोपटक साझाको विषयमा परेको उजुरी आफंैले हेरेको स्वीकारे । उनले भने, ‘त्यो प्रारम्भिक अनुसन्धान थियो, डेक्स प्रमुख भएको हिसाबले मैले हेरैकै हो ।’ तर शर्मासँग निकट सम्बन्ध रहेको आरोप भने उनले अस्वीकार गरे । 

यसैबीच अख्तियारबाट सुवेदीको नेतृत्वमा खटिएको टोलीले बिहीहबार महाप्रबन्धक शर्माले साझाको जिम्मेवारी सम्हालेयताका कागजात नियन्त्रणमा लिएको छ । अख्तियार प्रवक्ता जीवराज कोइरालाले साझाका कागजात नियन्त्रणमा लिएको जानकारी दिँदै गम्भीर रुपमा अनुसन्धान गरिने बताए । ‘हामी यो विषयमा निकै गम्भीर छौैं, प्राप्त कागजात पूर्वाग्रहबिना अध्यन गरी आवश्यक कारबाही गरिने छ,’ कोइरालाले नागरिकसँग भने। 

साझाका महाप्रबन्धक शर्माले आफ्नो पक्षमा समर्थन नगरेको भन्दै आफैंले नियुक्त गरेका कर्मचारीलाई करार नसकिँदै बर्खास्त गरेका छन् । साझामा भएको अनियमिततामा आफ्नो पक्ष नलिएको भन्दै शर्माले सुनिता भट्टराईलाई बिहीबारदेखि लागू हुनेगरी बर्खास्त गरेका छन् । उनको करार सम्झौता भदौ १८ सम्म थियो । 

 

प्रकाशित: २७ श्रावण २०७४ ०२:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App