१५ चैत्र २०८० बिहीबार
राजनीति

पूर्व सचिवसहित काँग्रेसका १८ जनाको सामूहिक राजीनामा

बाजुरा –  नेतृत्व गर्नेले एकलौटी र मनोमानी गरेको भन्द्र नेपाली काँग्रेस जिल्ला कार्य समिति बजुराका पूर्व सचिवसहित १८ जनाले सामूहिक राजीनामा दिएका छन् । जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्ने उम्मेदवार छनोटमा एकलौटी र मनोमानी गरेको भन्दै पत्रकार सम्मेलन गरेर उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

पार्टीको क्रियाशिल सदस्य बाहेक कुनै पदीय जिम्मेवारीमा नहरने गरी सामूहिक राजीनामा दिएको तरुण दल जिल्ला सचिव हिरेन्द्र रोकायाले बताए । पार्टी भित्र नेतृत्वको दादागिरी निरङ्कुशताको विरोध गर्दै पार्टीबाट सामूहिक राजीनामा दिएको जिल्ला कार्य समिति सदस्य वीरबहादुर विकले बताए ।

राजीनामा दिनेमा जिल्ला कार्य समिति सदस्य संगठन विभाग प्रमुख एवं पूर्व सचिव धनराज पण्डित, जिल्ला कार्य समिति सदस्य जयबहादुर थापा, उमा रोकाया, वीरबहादुर विक, गोविन्द्र सिंह, बेलु साउँद, नन्द बहादुर थापा, मंगल विष्ट, महाधिवेशन प्रतिनिधि राधिका सिंह रहेका छन्। 

यस्तै बडिमालिका नगर कार्य समिति कार्यवाहक सभापति धनलाल उपाध्याय, नगर सचिव गणेश थापा, नेपाल महिला संघ जिल्ला अध्यक्ष अमृता सिंह, तरुण दल सचिव हिरेन्द्र रोकाया, कोषाध्यक्ष श्रीचन्द्र पाध्याय, नेविसंघ उपाध्यक्ष दिलबहादुर थापा, गौमुल गाउँ कार्य समिति उपसंयोजक देवबहादुर रोकाया, नगर सदस्य नरबहादुर जैशी र छेडेदह गाउँ कार्य समिति उपसंयोजक भीमबहादुर नेपाली रहेका छन् । 

राजीनामा दिएका मध्ये ८ जना जिल्ला कार्य समिति सदस्य नै रहेका छन् । पार्टी केन्द्रीय सदस्य बद्री प्रसाद पाण्डे, सभापति कविराज पण्डित, पूर्व सभापति मनबहादुर रावल, काँग्रेस महासमिति सदस्य पूर्व सहायक मन्त्री जनकराज गिरी, सांसद देवराज जोशी र रामसिंह रावलको गतिविधि कार्यकर्ता र पार्टी अनुकल नभएको आरोप उनीहरूको छ ।

पार्टी विधि र प्रक्रिया चल्नु पर्ने हो, काँग्रेस आफँैमा लोकतन्त्रको पक्षधर पार्टी हो, तर त्यो नामको मात्र भयो, व्यवहारमा पुरै मनोमानी र पार्टी पद्दती विरोधी देखियो, त्यसको विरुद्धमा राजीनामा दिएको जिल्ला कार्य समिति सदस्य एवं पूर्व सचिव धनराज पण्डितले बताए ।

‘हामीले खोजेको काँग्रेस र नेताहरूले सञ्चालन गरेको काँग्रेस बीच धेरै फरक देखियो, स्थानीय तहमा जितको घमण्ड देखियो, त्यो नहुनु पर्ने हो, गलत प्रवृत्तिको हावी हुँदै गएको छ, यसैलाई रोक्न राजीनामा दिएको हो,’ पण्डितले भने ।

पार्टी सदस्य रहने र पदमा नबस्ने र तठस्ट बस्ने गरी राजीनामा दिएको नेपाल महिला संघ अध्यक्ष अमृता सिंहले भनिन् । उनले पार्टीका भातृ संगठनलाई बेवास्ता गर्ने र किनाराका साक्षी बनाएर प्रयोग मात्र गर्ने प्रवृत्ति हावी हुँदै गयो र पदमा बसीरहनुको औचित्य नै समाप्त भएपछि राजीनामा दिएको बताइन् । 

उनीहरूले काँग्रेस दलित महिला युवा विरोधी पार्टी भएको प्रमाणित नेताहरूबाटै भएकोले पदबाट राजीनामा दिनु परेको पत्रकार सम्मेलनमा सामूहिक गुनासो गरेका छन् । जिल्ला समन्वय समितिमा पठाइएका ९ जना प्रति कुनै विरोध नभएपनि नेतृत्वको कार्यशैली र मनोमानी विरुद्ध राजीनामा दिएको जिल्ला कार्य समिति सदस्य जयबहादुर थापाले बताए। 

प्रकाशित: २६ श्रावण २०७४ ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App