१६ चैत्र २०८० शुक्रबार
राजनीति

बिमस्टेक बैठकका लागि सात देशका विदेशमन्त्री आउँदै

काठमाडौं- बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को १५ औं विदेशमन्त्रीस्तरीय बैठक शुक्रबार काठमाडौंमा हुँदैछ। बैठकमा सहभागी हुन सदस्य राष्ट्रका विदेशमन्त्री बिहीबार काठमाडौं आउँदैछन्। बिमस्टेकमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्यान्ड सदस्य छन्।

बैठकमा सहभागी हुन थाइल्यान्ड र म्यानमारबाट विदेश राज्यमन्त्री र बाँकी देशबाट विदेशमन्त्री आउने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार साँझ एक कार्यक्रमबीच बिमस्टेक मन्त्रीस्तरीय बैठकको उद्घाटन गर्नेछन्। त्यसअघि बिहीबार नै बिमस्टेकको विदेश सचिवस्तरीय बैठक सम्पन्न हुनेछ।

बैठकको उद्घाटन बिहीबार गरिने भए पनि विदेशमन्त्रीस्तरीय बैठक भने शुक्रबार बस्नेछ। बैठकले विदेश सचिवस्तरीय बैठकले तय गरेका अजेन्डालाई अघि बढाउनेछ र बिमस्टेक शिखर सम्मेलनको मिति घोषणासमेत गर्नेछ। नेपाल बिमस्टेकको अध्यक्ष राष्ट्र हो भने बिमस्टेक शिखर सम्मेलन आयोजना गर्ने पालो पनि नेपालकै छ।

बैठकमा सहभागी हुन आएका बिमस्टेक सदस्य राष्ट्रका विदेश तथा विदेश राज्यमन्त्रीले बिहीबार नै प्रधानमन्त्री देउवासँग सामूहिक शिष्टाचार भेट गर्नेछन्। बैठकमा सहभागी हुन आएका विदेशमन्त्री शनिबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: २६ श्रावण २०७४ ०२:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App