१५ चैत्र २०८० बिहीबार
राजनीति

भारत र चीनसँग सम्बन्धको नयाँ आधार : 'त्रिदेशीय साझेदारी'

काठमाडौं- दुई ठूला छिमेकी भारत र चीनबीच 'दोक्लम क्षेत्र' लाई लिएर तनाव बढिरहेको बेला नेपालले भने 'त्रिदेशीय (नेपाल, भारत र चीन) साझेदारी अभिवृद्धि' हुनेगरी भारत र चीनसँग सम्बन्ध अघि बढाउने नीति लिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपालले दुई छिमेकीसँगको अबको सम्बन्ध 'त्रिदेशीय साझेदारी' मा आधारित हुने नीति सार्वजनिक गरेको हो।

'देशगत रणनीति तर्जुमा गरी मित्र राष्ट्रहरुसँगको सम्बन्ध विस्तार र सुदृढीकरण गर्दै लगिनेछ,' उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले हालै सार्वजनिक गरेको नेपाल सरकार, परराष्ट्र मन्त्रालयको तत्कालीन कार्ययोजनामा भनिएको छ, 'आर्थिक महाशक्तिका रुपमा उदीयमान दुई विशाल छिमेकी (भारत र चीन) सँगको त्रिदेशीय साझेदारी अभिवृद्धि गर्न पहल गर्दै राष्ट्रिय समृद्धि हासिल गर्न जोड दिइनेछ।'

नेपालले सन्तुलित परराष्ट्र नीतिको मर्मअनुसार दुई ठूला छिमेकी चीन र भारतसँग 'त्रिदेशीय साझेदारी अभिवृद्धि' हुनेगरी कूटनीतिक सम्बन्ध अघि बढाउने कार्ययोजनामा उल्लेख छ। सरकारले आफ्नो कार्ययोजनामा नेपाल, भारत र चीनबीचको त्रिदेशीय साझेदारीलाई आधार बनाएर कूटनीतिक सम्बन्ध अघि बढाउने निर्णय पहिलो पटक गरेको हो।

यसअघि नेपालले समानता तथा सन्तुलित र पारस्परिक हितका आधारमा दुई ठूला छिमेकीसँग कूटनीतिक सम्बन्ध कायम रहने बताउँदै आएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भने अबका दिनमा भारत र चीनको सम्बन्ध 'त्रिदेशीय साझेदारी' का आधारमा अघि बढाउने निर्णय लिएको हो।

'नेपालको आर्थिक विकासमा सहयोग पुर्‍याउने अन्तर्देशीय पूर्वाधार एवं यातायात सञ्जाल निर्माणमा जोड दिइनेछ। हालसालै चीन सरकारसँग हस्ताक्षर गरिएको 'वान बेल्ट वान रोड' (ओबिओआर) बाट अधिकतम लाभ लिन अन्तरमन्त्रालय र अन्तरनिकाय संयन्त्र बनाई ठोस अधिकार तथा जिम्मेवारी दिइनेसमेत कार्ययोजनामा जनाइएको छ।

केही वर्ष यता त्रिदेशीय साझेदारीको अवधारणाले चर्चा पाउँदै आए पनि यसलाई नेपालले आफ्नो नीतिमा समेटेको थिएन। चीनले पटकपटक नेपाललाई त्रिदेशीय साझेदारी अवधारणामा अघि बढ्न सुझाव दिँदै आएको थियो तर भारतले यसलाई सकारात्मक रुपमा नलिँदा यो अवधारणा अघि बढ्न सकेको छैन।

गत वर्ष भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन्पिङबीच पनि त्रिदेशीय साझेदारीका विषयमा छलफल भएको थियो। छलफलमा भारत सकारात्मक देखिएको थिएन। चीनले भने सधैं आफू त्रिदेशीय साझेदारीको पक्षमा रहेको बताउँदै आएको छ। यसअघि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदा पनि उनले त्रिदेशीय साझेदारी अघि बढाउन नेपाललाई आग्रह गरेका थिए।

अहिले भारत र चीनबीच दोक्लम क्षेत्रलाई लिएर तनाव बढ्दो छ। दोक्लममा दुई देशका सेना आमनेसामने भएका छन्। यस्तो अवस्थामा दुई छिमेकीसँग सम्बन्ध बलियो बनाउन त्रिदेशीय साझेदारीलाई आधार बनाउने नीति नेपालले लिएको हो।

'सन्तुलित परराष्ट्र नीतिको मर्मअनुसार छिमेकी लगायत मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखी सबै मित्र राष्ट्रहरुसँग असल कूटनीतिक सम्बन्ध कायम गरिनेछ,' कार्ययोजनामा उल्लेख छ, 'दुवै छिमेकी मित्र राष्ट्रहरुसँग हालैका वर्षमा सम्पन्न सन्धिसम्झौता र समझदारी कार्यान्वयनको व्यवस्था मिलाइनेछ।'

नेपाल र मित्र राष्ट्रबीच परामर्श संयन्त्रहरु नभएकोमा स्थापना गर्ने र भएकोमा नियमित रुपमा बैठकको आयोजना गर्ने प्रबन्ध मिलाइनेसमेत कार्ययोजनामा जनाइएको छ।

'दोक्लम समस्या' शान्तिपूर्ण समाधान होस्

परराष्ट्रमन्त्री कृष्णबहादुर महराले 'दोक्लम क्षेत्र' विवाद शान्तिपूर्ण ढंगले सुल्झाउन भारत र चीनलाई आग्रह गरेका छन्। दोक्लम घटनालाई लिएर दुवै छिमेकीबाट कुनै प्रकारको दबाब नआएको स्पष्ट पार्दै उनले नेपाल कतै पनि नढल्किने बताए।

'दोक्लम समस्याको समाधान युद्धबाट खोजियोस् भन्ने पक्षमा नेपाल छैन,' सोमबार परराष्ट्र मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले भने, 'भारत र चीनबीच सीमामा देखा परेको विवाद शान्तिपूर्ण कूटनीति र वार्तामार्फत समाधान होस् भन्ने नेपाल चाहन्छ। यही नै नेपालको नीति हो।'

दोक्लम क्षेत्रको केही भाग चीन र केही भुटानमा पर्छ। यो विवादास्पद भूमिलाई चीन र भुटान दुवैले आफ्नो भएको दाबी गर्दै आएका छन्। गत असार २ गते चीनले आफ्नो नियन्त्रण क्षेत्रमा सडक निर्माण कार्य सुरु गरेपछि भुटानले आपत्ति जनाउँदै त्यहाँ आफ्नो सेना पठाएको थियो। भुटानी सेनाले निर्माण कार्य रोक्न गरेको आग्रहलाई चीनले अस्वीकार गर्दै कामलाई निरन्तरता दिएपछि भुटानले भारतसँग गुहार मागेको थियो।

भारत र भुटानबीच भएको रक्षा सम्झौताअनुसार भारतले दोक्लममा आफ्नो सेना पठाएको थियो। त्यसपछि त्यहाँ चीन र भारतीय सेनाबीच ठेलमठेल भएको थियो। अहिले चीन र भारतका सेना दोक्लम क्षेत्रमा आमनेसामने छन्। 'हामीलाई कुनै पक्षमा लाग्न दबाब आएको छैन। हामी दबाबमुक्त छौं। हामी कुनै एक देशको पक्षमा छैनौं,' मन्त्री महराले भने।

चीनले दोक्लम पुगेका भारतीय सेनालाई पछि हट्न भने पनि भारतले नहटाउने अडान लिँदै आएको छ, जसका कारण दुई देशबीच पछिल्ला दिन तनाव बढ्दै गएको छ। यसै विषयलाई लिएर भारतीय र चिनियाँ मिडियाबीच जुहारी चलिरहेको छ। यसले दुई ठूला शक्तिशाली राष्ट्रबीच युद्ध निम्त्याउने हो कि भन्ने खतरा बढ्दै गएको छ।

'चिनियाँ उपप्रधानमन्त्रीको आसन्न नेपाल भ्रमण र प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको आसन्न भारत भ्रमणका बेला दोक्लम विषय उठ्दैन,' मन्त्री महराले स्पष्ट पारे।

प्रधानमन्त्रीले भारत भ्रमण गर्ने

परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भदौ ७ गते सुरु हुने जानकारी दिए। प्रधानमन्त्रीको भारत भ्रमणका अजेन्डा तय गर्न अहिले विभिन्न मन्त्रालयमा छलफल भइरहेको उनले जनाए।

'प्रधानमन्त्रीज्यूको भारत भ्रमण भदौ ७ गते सुरु हुने लगभग तय भएको छ। अहिले अजेन्डामा छलफल चलिरहेको छ,' मन्त्री महराले भने। भ्रमणका बेला नयाँ सन्धिसम्झौताभन्दा पनि भएका सन्धिसम्झौता कार्यान्वयनमा जोड दिइने उनले बताए।

प्रधानमन्त्री देउवा भारत भ्रमणमा निस्कनुअघि चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपाल भ्रमण गर्ने जानकारी मन्त्री महराले दिए। उनले भने, 'चीनबाट उच्चस्तरीय भ्रमण हुँदैछ। चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै हुनुहुन्छ। उहाँको नेपाल भ्रमण विकास गतिविधिमा केन्द्रित हुनेछ।'

चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमणका बेला दुई देशबीच द्विपक्षीय बैठक हुने उनले जनाए। बैठकमा नेपालको नेतृत्व उपप्रधानमन्त्री विजय गच्छदारले गर्नेछन् भने चिनियाँ टोलीको नेतृत्व वाङले। 'बैठकमा द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुन्छ। खासमा उहाँ (वाङ) नेपालको पुनर्निर्माणलाई गति प्रदान गर्न आउन लाग्नुभएको हो,' मन्त्री महराले भने।

नेपाल बसाइमा चिनियाँ उपप्रधानमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नेछन्। यस्तै उनले चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेको वसन्तपुर दरबार क्षेत्र र स्वास्थ्य अनुसन्धान केन्द्रको अवलोकन गर्नेछन्।

प्रकाशित: २४ श्रावण २०७४ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App