४ वैशाख २०८१ मंगलबार
राजनीति

प्रदेश निर्वाचन अगाडि नै प्रदेश प्रहरी

काठमाडौँ – गृहमन्त्री जनार्दन शर्माले प्रदेशको निर्वाचन अगाडिनै प्रदेश प्रहरी गठन गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको बताएका छन् ।  गृहमन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा उनले निर्वाचन अगाडिनै प्रहरीको संघीय संरचना कार्यान्वयनमा ल्याउनुपर्ने भएकाले तिब्र गतिमा काम भइरहेको बताए ।

प्रदेश प्रहरीको संरचना बनाउन र त्यसको गृहकार्यका लागि हालै बढुवा भएका सात एआइजीलाई सात प्रदेशको जिम्मेवारी तोक्ने तयारीमा मन्त्रालय रहेको उनले बताए।

संविधानमा व्यवस्था भए अनुसारको संघीय प्रहरीको संरचना बनाउन मन्त्रालयले संघीय प्रहरी ऐन निर्माणको काम शुरु गरेको र यसका लागि आवश्यक परामर्श र छलफल चलिरहेको उनले बताए।

‘प्रत्येक स्थानीय तहमा प्रहरी टोली खटाउनुपर्ने प्रावधान रहे पनि कस्तो प्रकृतीको टोली एकिन छैन्, त्यसका लागि मन्त्रालयले गृहकार्य अगाडि बढाइसकेको छ,’ शर्माले भने ‘ स्थानीय तहमा प्रहरी गएपछि सुरक्षाको अनुभूति हुन्छ र अन्य निकाय पनि जान्छन् ।’

उनले संघीय प्रहरी संरचानमा जाँदा अञ्चल र क्षेत्रीय प्रहरीको संरचना नरहने जानकारी दिए । संघीय प्रहरी संरचना कार्यान्वनमा ल्याउनकै लागि प्रहरीमा रहेको एआइजीको संख्या ३ बाट ११ पु¥याएको दाबी गर्दै उनले भने‘ अहिले हेर्दा किन संख्या बढाएको भन्ने आशंका रहनु सामान्य नै हो । जुन बेला संघीय प्रहरी संरचना कार्यान्वयनमा आउँछ त्यो बेला ठिक हो हैन भन्ने देखिन्छ ।’ उनले प्रहरीको कार्यसम्पादन मूल्यांकन नम्बर सार्वजनिक गर्ने तयारी गरेको समेत बताए ।

शान्ति बाटिका प्रर्दशन स्थल
प्रत्येक शहरमा धर्ना र विरोधका लागि निश्चित स्थान तोक्ने तयारी स्वरुप काठमाडौंको शान्ति बाटिकालाई धर्ना र विरोध प्रर्दशन स्थल तोक्ने तयारी भइरहेको उनले बताए । यसका लागि केही पूर्वाधार बनाउनुपर्ने भएकाले काठमाडौं महानगरपालिकासँग समन्वय भइरहेको उनले बताए ।

साइबरक्राइम र मानववेचविखन हेर्न विशेष टोली
मन्त्री शर्माका अनुसार साइबरक्राइम र मानववेचविखन नियन्त्रणका लागी विशेष टोली गठन गरेर परिचालनको तयारी भइरहेको छ । यसलाई ब्युरो बनाउने या अन्य प्रकृतीको संगठित संरचना त्यसबारे छलफलकै चरणमा रहेको उल्लेख गर्दै उनले भने‘ यी दुवै अपराध बढ्दो क्रममा रहेकाले तत्काल नियन्त्रणका लागि प्रहरीको विशेष टोली घटाउन आवश्यक देखियो । त्यही अनुसार काम गरिरहेको छु ।’

प्रकाशित: २० श्रावण २०७४ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App