१५ चैत्र २०८० बिहीबार
राजनीति

साझा प्रकाशनमा अनियमितता : छानबिन प्रभावित पार्न सदस्यकी पत्नीलाई जागिर

विष्णुप्रसाद अर्याल/वसन्त खड्का

काठमाडौं- साझाका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझा प्रकाशनमा भइरहेको अनियमितता छानबिन गर्न गठित समितिका सदस्य तथा शिक्षा मन्त्रालयका लेखा अधिकृत भोला पौडेलकी पत्नी नवीना कोइराला पौडेललाई सहायक तृतीय (मुखियासरह) पदमा नियुक्त गरेका छन्।

आफूले गरेको अनियमितता ढाकछोप गर्न शर्माले छानबिन समितिका सदस्य पौडेलकी पत्नी नवीनालाई साझामा जागिरमा लगाइदिएको आशंका गरिएको छ।

शिक्षा मन्त्रालयले साझाको अनियमिमताबारे छानबिन गर्न गठित समितिमा लेखा अधिकृत पौडेल सदस्य छन्। मन्त्रालयले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिएर यही साउन १२ गते छानबिन समिति गठन गरेको थियो। सदस्य पौडेलकी पत्नी नवीना साउन १५ गते साझाको केन्द्रीय कार्यालयमा हाजिर भएको स्रोतले जानकारी दिएको छ।  

सदस्य पौडेलले आफ्नी पत्नीले साझामा जागिर सुरु गरेको स्वीकार गरेका छन्। प्रतिस्पर्धाका आधारमा आफ्नी पत्नीले साझामा जागिर सुरु गरेको दाबी उनले गरे। तर साझाले विज्ञापन नै नगरी नयाँ कर्मचारी भर्ना गरेको हो।

पौडेलले नागरिकसँग भने, 'मेरी पत्नीले साझामा जागिर खाएको सत्य हो। उनी प्रतिस्पर्धाका आधारमा छनोट भएकी हुन्। यसबाट छानबिनमा असर पर्दैन।'

साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शर्माले पनि नवीनाले साउन १ गतेदेखि साझा प्रकाशनमा काम गर्न थालेको दाबी गरेका छन्। 'मलाई ठ्याक्कै मिति याद भएन, तर नवीनाले साउन १३ वा १४ मा उनले नियुक्ति लिएकी हुन्,' शर्माले नागरिकसँग भने। नवीनालाई कुनै स्वार्थबाट प्रेरित भएर नियुक्ति नदिएको दाबी शर्माले गरे।

करिब सात महिनाअघि शर्माले अघिल्लो सञ्चालक समितिका सदस्यले गरेको अनियमितता छानबिनका लागि तीन सदस्यीय समिति गठन गरेका थिए। उक्त समितिमा वर्तमान छानबिन समिति सदस्य पौडेल, ठाकुर बेल्वासे र आरएम डंगोल रहेका थिए। शर्माले बेल्बासेकी पत्नीलाई साझामा करारमा नियुक्त गरेका छन्।

शिक्षा मन्त्रालयकी सह–प्रवक्ता सरस्वती पोखरेल छानबिन सुरु भइसकेको अवस्थामा सदस्यकै पत्नीलाई नियुक्त गर्नुले राम्रो सन्देश नजाने बताउँछिन्। 'छानबिन समिति गठन भएपछि उनलाई नियुक्त गरिएको हो भने यसले शंका उत्पन्न गराउँछ,' उनले भनिन्।  

एक सय पाँच वर्ष पुरानो राज्यको स्वामित्व भएको साझा प्रकाशन राजनीतिक संरक्षणमा हुने अनियमितताका कारण लथालिंग भइरहेको छ। अध्यक्ष तथा महाप्रबन्धकको दुवै जिम्मेवारी सम्हालिरहेका शर्माले अघिल्लो ३० महिने सेवा अवधि लेखा परीक्षण नगरी बिताएका थिए।

साझा प्रकाशनले कक्षा ११ र १२ को पाठ्यक्रमअन्तर्गत अनिवार्य विषय 'सबैको नेपाली', लिंक इङ्लिस र एक चिहान उपन्यास प्रकाशित गर्दै आएको छ। ती पुस्तक छपाइ र बिक्रीमा अनियमितता  भइरहेको पाइएको छ। ती पुस्तक कक्षा ११ मा भर्ना हुने विद्यार्थीको संख्या प्रत्येक वर्ष बढिरहेको छ। साझाको नेतृत्वमा शर्मा आएपछि पुस्तकको प्रकाशन भने कम हुँदै गएको छ। तर बजारमा पुस्तकको अभाव छैन। शर्माले ती पुस्तक साझाको लोगो प्रयोग गरी निजी छापाखानामा छापेर बिक्री गर्दै आएका छन्। निजी छापाखानामा छापेको पुस्तक साझा प्रकाशनमा दाखिला नगराई बिक्री गर्दा संस्थालाई ठूलो नोक्सानी हुँदै आएको छ।

शर्मालाई तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले महाप्रबन्धकका रूपमा ०७१ म्ाा नियुक्त गरेकी थिइन्। ०७३ मा उनको पहिलो कार्यकाल सकिएलगत्तै तत्कालीन शिक्षामन्त्री भएका धनीराम पौडेलले उनको कार्यकाल  पुनः चार वर्षका लागि थप गरेका थिए।

उनी माओवादी केन्द्रका सदस्य तथा पूर्वमन्त्री दिनानाथ शर्माका नातामा भाइ पर्छन्। साझा प्रकाशनको सञ्चालक समिति सदस्यसमेत रहेका दिनानाथलाई डोलिन्द्रले साझाका चालक निजी प्रयोगमा दिएका थिए। तर नागरिकमा समाचार प्रकाशित भएपछि शर्माले चालक फिर्ता गरेको साझा स्रोतले जानकारी दिएको छ।   

यसैबीच शर्माले मंगलबार नागरिकमा प्रकाशित समाचारमा प्रयोग भएको गाडी अल्पाइन अफसेट प्रेसको भएको र उक्त गाडीमा अल्पाइनमा छापिएका साझाका पुस्तक केन्द्रीय कार्यालयमा लगेको दाबी गरेका छन्। अल्पाइन अफसेट प्रेस शर्माकै अक्सफोर्ड इन्टरनेसनलबाट नाम र स्वामित्व परिवर्तन गरिएको प्रकाशन हो। शर्माले अल्पाइन आफ्नै स्वामित्वमा रहेको स्वीकारिसकेका छन्।  

प्रकाशित: १९ श्रावण २०७४ ०३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App