१६ चैत्र २०८० शुक्रबार
राजनीति

११ वर्षमा ४ अर्ब बाँडियो

काठमाडौं-  सरकारमा सहभागी दलहरूले ‘आर्थिक सहायता’ नाममा आफ्ना नेता तथा कार्यकर्तालाई वार्षिक करोडौं रुपैयाँ वितरण गरी राज्यकोषको दुरुपयोग गरेका छन्। दोस्रो जनआन्दोलनपछि बनेका सरकारले आर्थिक सहायता नाममा कार्यकर्तालाई रकम बाँड्दै आएको देखिन्छ।

२०६३/०६४ देखि २०७३/०७४ सम्मका ११ वर्षमा सरकारमा सहभागी दलले करिब ४ अर्ब रुपैयाँ आर्थिक सहायता नाममा कार्यकर्तालाई वितरण गरेका छन् । कार्यकर्तालाई रकम वितरण गर्न सहज होस् भनेर बजेटमा नै ‘आर्थिक सहायता’ शीर्षकमा यस्तो प्रयोजनका लागि बजेट छुट्याउने गरिएको छ । तर, अर्थ मन्त्रालय स्रोतका अनुसार वास्तविक असहाय कमैले यस्तो सहायता रकम पाउने गरेका छन् । अधिकांश यस्तो रकम पहुँचवाला कार्यकर्ता तथा दलका नेताले नै पाउँदै आएका छन् ।

 आव २०६३/०६४ मा सरकारमा सहभागी दलहरूले कार्यकर्तालाई ३ करोड रुपैयाँ वितरण गरेका थिए । आव २०७२/०७३ मा दलहरूले आर्थिक सहायताको नाममा आफ्ना नेता कार्यकर्तालाई २५ करोड ६६ लाख ४१  हजार रुपैयाँ वितरण गरेका छन् । यो आर्थिक वर्ष (२०७४/०७५) का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपैयाँ छुट्याएको छ। सरकारले बजेटमा आर्थिक सहायता शीर्षकमा छुट्याएको रकमभन्दा वर्ष सकिँदा खर्च हुने रकम बढी हुने गरेको छ ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार आर्थिक सहायताका नाममा सबैभन्दा बढी रकम आव २०७१/०७२ मा वितरण भएको छ । उक्त वर्ष आर्थिक सहायता शीर्षकमा २ अर्ब ५१ करोड १७ लाख १८ हजार रुपैयाँ वितरण भएको थियो । त्यो वर्ष भूकम्पपीडितलाई पनि ‘आर्थिक सहायता’ शीर्षकबाट रकम वितरण गरिएको थियो ।

सरकारमा सहभागी दलका मन्त्रीहरूले मन्त्रिपरिषद् बैठकमा सिधै प्रस्ताव लगेर आर्थिक सहायता नाममा आफ्ना नेता तथा कार्यकर्तालाई रकम उपलब्ध गराउँछन् । नेता तथा कार्यकर्तालाई ५० हजारदेखि १० लाख रुपैयाँसम्म वितरण गरेको देखिएको छ । पछिल्लो ११ वर्षमा सरकारमा सहभागी दलले ३ अर्ब ८८ करोड ९ लाख ७६ हजार रुपैयाँ आफ्ना नेता तथा कार्यकर्तालाई वितरण गरेको देखिएको छ । दोस्रो जनआन्दोलनपछिका १० वर्षमा सरकारले नेता तथा कार्यकर्ता पोस्न आर्थिक सहायतासम्बन्धी बजेट ८ सय प्रतिशतभन्दा बढीले बढाएको पाइएको छ ।

अर्थ मन्त्रालयको तथ्यांक अनुसार आव २०६४/०६५ मा ५ करोड रुपैयाँ, २०६५/०६६ मा ६ करोड रुपैयाँ, २०६६/०६७ मा १९ करोड २३ लाख १३ हजार रुपैयाँ, २०६७/०६८ मा १५ करोड ४३ लाख ९२ हजार रुपैयाँ, २०६८/०६९ मा ९ करोड ३२ लाख ५२ हजार रुपैयाँ, २०६९/०७० मा ११ करोड ७७ लाख ८० हजार रुपैयाँ, २०७०/०७१ मा १६ करोड १५ लाख २१ हजार रुपैयाँ सरकारमा सहभागी दलले आफ्ना नेता तथा कार्यकर्तालाई वितरण गरेका छन् ।

आर्थिक सहायता नाममा आफ्ना नेता तथा कार्यकर्तालाई पैसा वितरण गर्न कुनै पनि सरकार चुकेका छैनन् । दोस्रो जनआन्दोलनपछि बनेका गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल (दुई पटक), माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला र केपी ओली नेतृत्वको सरकार प्रत्येकले राज्यकोषको दुरुपयोग गर्दै आफ्ना नेता तथा कार्यकर्तालाई रकम वितरण गरेका छन् ।

सरकारले खासगरी चार अवस्थामा आफ्ना नेता तथा कार्यकर्तालाई ठूलो रकम वितरण गर्दै आएको देखिन्छ । चाडवाडको मुख, निर्वाचनको मुख, आर्थिक वर्ष अन्त्य हुनेबेला र सरकारबाट हट्ने बेलामा नेता कार्यकर्तालाई रकम वितरण गरेको अर्थको तथ्यांकले देखाउँछ।

दोस्रो संविधानसभा निर्वाचनलगत्तै प्रधानमन्त्रीको कुर्सीमा बसेका थिए, नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला । उनको सरकारले २०७१ असार २० गते एकै दिन एक सय २० जनालाई १ करोड ८० लाख रुपैयाँ बाँडेको थियो । उनैले फेरि २०७२ असोज १४ गते (सरकारबाट हट्नु केही दिनअघि दसैंको मुखमा) एकै दिन १ सय ७८ जनालाई २ करोड २० लाख रुपैयाँ वितरण गरेको देखिन्छ । कोइराला मन्त्रिपरिषद्को चारवटा बैठकले मात्र ५ करोड ६१ लाख रुपैयाँ नेता तथा कार्यकर्तालाई बाँड्ने निर्णय गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा पनि कार्यकर्तालाई पैसा बाँड्ने प्रक्रिया उस्तै देखिन्छ। ओलीले २०७३ जेठ १३ गते २२ जनालाई ६९ लाख ५० हजार रुपैयाँ वितरण गर्ने निर्णय लिएका थिए । लगत्तै अर्काे महिना आर्थिक वर्ष समाप्त हुन लाग्दा २०७३ असार २६ गते उनले एकैदिन ७८ जनालाई आर्थिक सहायतास्वरुप १ करोड ३१ लाख ५० हजार रुपैयाँ बाँडेको देखिन्छ । ओलीले चार महिनाबीचमा ३ करोड ४४ लाख ४० हजार रुपैयाँ आर्थिक सहायता नाममा नेता तथा कार्यकर्तालाई वितरण गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले पनि कार्यकर्तालाई रकम वितरण गर्ने पुरानै शैली अपनाएको थियो । प्रधानमन्त्री भएको पहिलो तीन महिनामा उनले दलका कार्यकर्तालाई आर्थिक सहायता नाममा १ करोड २८ लाख रुपैयाँ वितरण गरेका थिए । दसैं नजिकिएकै बेला ०७३ असोज २ गते दाहाल नेतृत्व सरकारले एकै दिन ४४ जनालाई १ करोड ३ लाख रुपैयाँ वितरण गर्ने निर्णय लिएको थियो  । उनले आफ्नो ११ महिने कार्यकालमा १७ करोड रुपैयाँ वितरण गरेको देखिन्छ ।

आर्थिक सहायता नाममा वितरित रकम

आव         रकम (रुपैयाँ)       

२०७३/०७४         २५ करोड                

२०७२/०७३         २५ करोड ६६ लाख ४१ हजार

२०७१/०७२          २ अर्ब ५१ करोड १७ लाख १८ हजार

२०७०/०७१          १६ करोड १५ लाख २१ हजार

२०६९/०७०          ११ करोड ७७ लाख ८० हजार

२०६८/०६९          ९ करोड ३२ लाख ५२ हजार

२०६७/०६८          १५ करोड ४३ लाख ९२ हजार

२०६६/०६७          १९ करोड २३ लाख १३ हजार

२०६५/०६६          ६ करोड

२०६४/०६५          ५ करोड

२०६३/०६४          ३ करोड

प्रकाशित: १८ श्रावण २०७४ ०१:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App