२७ असार २०७७ शनिबार
राजनीति

फोरमले नयाँ शक्तिलाई चुनाव चिह्न प्रयोग गर्न नदिने

काठमाडौं- स्थानीय तह चुनावमा तालमेल गर्दा ठाउँठाउँमा पराजित हुनुपरेको निष्कर्षमा पुगेको संघीय समाजवादी फोरम नेपालले अब उपरान्त नयाँ शक्ति पार्टी नेपाललाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न नदिने भएको छ। राजधानीमा शुक्रबार सम्पन्न समाजवादी फोरमको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो।

निर्वाचन आयोगले पार्टीको हैसियतमा चुनाव चिह्न नदिएपछि नयाँ शक्तिले पहिलो र दोस्रो चरणका स्थानीय तह निर्वाचनमा समाजवादी फोरमको चुनाव चिह्न हातले बोकेको मसाल प्रयोग गरेको थियो।

बैठकमा पार्टीका केन्द्रीय नेतामध्ये अधिकांशले नयाँ शक्तिसँगको कार्यगत एकताबाट पार्टीलाई घाटा भएको विश्लेषण सुनाए। नयाँ शक्तिसँगको तालमेलले केही ठाउँमा मतदाता झुक्किएर अरू पार्टीलाई भोट हाल्न पुगेको जानकारी पनि उनीहरूले बैठकमा दिए।

नयाँ शक्तिको प्रभाव कतै पनि नदेखिएको भन्दै उनीहरूले नयाँ शक्तिले फोरम नेपालको चुनाव चिह्न  प्रयोग गरेर आफ्नो  प्रभाव देखाउन खोजेको आरोप लगाए। नेताहरूको धारणापछि केन्द्रीय समिति बैठकले अबदेखि नयाँ शक्तिसँग कार्यगत एकता नगर्ने र त्यस पार्टीलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न नदिने निर्णय गरेको केन्द्रीय सदस्य तथा फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले बताए। उनले तेस्रो चरणको स्थानीय तह निर्वाचनमा फोरम नेपालले आफ्नो चुनाव चिह्न आफूमात्र प्रयोग गर्ने जानकारी निर्वाचन आयोगमा गराउने निर्णय भएको पनि बताए।

बैठकका सहभागीले नयाँ शक्तिसँग मिलेर चुनावमा नगएको भए थप केही ठाउँमा विजयी प्राप्त हुने दाबी गरे। केही नेताले भने पार्टीले पहाडमा भोट नपाएको भन्दै घुमाउरो पारामा पार्टीका पहाडी मुलका नेताको आलोचना गरेका थिए। तर, फोरम नेपालको राजनीतिक समिति सदस्य रेखा यादवले यस कुरालाई अस्वीकार गरिन्।  पहाडमा पार्टीले भोट नपाउने कुरा पहिले नै अनुमान गरिसकिएको उनले बताइन्।

बैठकले तेस्रो चरणको स्थानीय तह चुनावमा कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय पनि गरेको छ। पहिलो र दोस्रो चरणको चुनावबारे समीक्षा गर्न र तेस्रो चरणका लागि चुनावी रणनीति तयार गर्न केन्द्रीय समिति बैठक बोलाइएको थियो।

यसैबीच नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईले फोरम नेपालको उक्त निर्णयसँगै दुवै पार्टीबीच एकताको ढोका बन्द भएको टिप्पणी गरेका छन्। 

यसैगरी शुक्रबार बसेको नयाँ शक्तिको केन्द्रीय कार्यकारी समिति बैठकले शुक्रबारबाटै लागू हुनेगरी केन्द्रीय कार्यकारी समिति भंग गरेको छ। अब पार्टीमा संयोजक डा. भट्टराईको मात्रै पदाधिकार छ। त्यसअघि शुक्रबार नै खिमलाल देवकोटाले पार्टी प्रवक्ता पदबाट राजीनामा दिएका छन्। स्थानीय चुनावमा पार्टी पराजित भएको भन्दै उनले राजीनामा दिएका हुन्।

पहिलो चरणको स्थानीय चुनावअघि फोरम नेपाल र नयाँ शक्तिबीच पार्टी एकता नै  गर्नेगरी सम्बन्ध अघि बढेको थियो। नयाँ शक्तिसँग सम्बन्ध बढाउन फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्कालीन मधेसी मोर्चासँग सम्बन्ध तोडेर डा.भट्टराईसँग नजिकिएका थिए। केही दिनअघिसम्म यादव र भट्टराईले पटकपटक संयुक्त विज्ञप्ति जारी गरेर दुवै पार्टीबीच निकट सम्बन्ध रहेको जनाउ दिँदै आएका थिए।

सुरक्षा खर्च, मतपत्र छपाइ, ढुवानी, जनशक्ति परिचालन, मतदाता शिक्षामा अर्बाैं खर्च गर्दै आएको आयोग र सरकारले केही महिनाभित्रै हुने चुनाव एकैपटक गराउने हो भने एकैपटकको खर्चमा दुईवटा निर्वाचन गराउन सक्ने देखिएको छ।

प्रकाशित: १४ श्रावण २०७४ ०८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App