२५ जेष्ठ २०७७ आइतबार
राजनीति

चुनावमा जाने विषयमा राजपा नेता विभाजित

काठमाडौं- केन्द्रीय समितिको आसन्न बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको अन्तर्वस्तुबारे राजपा नेपालको अध्यक्ष मण्डलका सदस्यबीच मतभिन्नता देखिएको छ। बैठक आगामी साउन २१ गते बोलाइएको छ। राजपा नेपाल निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बोलाइएको हो।

अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो र राजकिशोर यादव संविधान संशोधन नभए पार्टी चुनावमा जान नहुने अडानमा छन् भने महेन्द्र यादव र शरत्सिंह भण्डारी सरकारबाट सहिद घोषणा, मुद्दा फिर्ता, बन्दी रिहा र अपांगता भएकाको भरणपोषणको व्यवस्था भए चुनावमा जाने पक्षमा।

अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो र राजकिशोर यादव संविधान संशोधन नभए पार्टी चुनावमा जान नहुने अडानमा छन् भने महेन्द्र यादव र शरत्सिंह भण्डारी सरकारबाट सहिद घोषणा, मुद्दा फिर्ता, बन्दी रिहा  र अपांग भएकाको भरणपोषणको व्यवस्था आदि काम भएमा चुनावमा भाग लिन सकिने बताउँदै आएका छन्।

बैठकमा प्रस्तुत हुने प्रतिवेदन कस्तो बनाउने भन्ने विषयमा अध्यक्ष मण्डलका सदस्यहरूले केही दिनदेखि पार्टीका वरिष्ठ उपाध्यक्ष, महासचिव, उपाध्यक्षलगायतका पदाधिकारीसँग सल्लाह लिइरहेका छन्। अध्यक्ष मण्डलका सदस्यसँग निकट नेताहरू पनि आफ्ना पूर्व पार्टीका अध्यक्षकै धारणाप्रति सहमत रहँदै दुई खालका विचारमा विभाजित छन्। आइतबारसम्म प्रतिवेदन तयार हुनेछ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएमा पार्टी कुनै पनि अवस्थामा चुनावमा जान नहुने बताए। 'जुन कारणले पहिलो र दोस्रो चरणको चुनाव बहिस्कार गर्‍यौं, ती कारण कायम नै रहेसम्म हामी तेस्रो चरणको चुनावमा जान सक्दैनांै,' महतोले भने।

पार्टीका महासचिव केशव झाले बन्दी रिहा, सहिद घोषणा, पचास प्रतिशतभन्दा बढी अपांग भएकालाई भरणपोषण गर्ने निर्णय सरकारले कार्यान्वयन गरेमा चुनावमा जानुपर्ने  सुझाव आएको बताए। 'ती माग पूरा भए पार्टीको संगठन जोगाउन पनि चुनावमा जानुपर्ने सुझाव आएको छ,’ उनले भने। 

चुनाव पक्षधर नेताहरूले अनौपचारिक बैठकमा अध्यक्ष मण्डलका सदस्यहरूलाई तेस्रो चरणको चुनावमा पार्टी सहभागी नगएमा पार्टीको संगठन जोगाउन कठिन हुने भन्दै आएका छन्।

असन्तुष्ट नेताहरू पार्टी कार्यलयमा गएनन्

साउन १ गते बबरमहलस्थित निजामती मधेसी कर्मचारी मञ्चको भवनमा पार्टीको केन्द्रीय कार्यालय सरेयता राजपा नेताहरू हृदयेश त्रिपाठी, सर्वेेन्द्रनाथ शुक्ल, वृजेश गुप्तालगायत असन्तुष्ट नेता नयाँ अझैसम्म्म त्यहाँ पुगेका छैनन्। नयाँ भवनमा कार्यालय सरेपछि राजपा अध्यक्ष मण्डलको बैठक पनि त्यहीँ बस्ने गरेको छ।

त्रिपाठीले आफू नयाँ पार्टी कार्यालयमा नगएको स्वीकार गरे। 'नयाँ पार्टी कार्यालय जान पाएको छैन,' त्रिपाठीले भने। असन्तुष्ट नेताहरूले गत  साउन १ गते रुपन्देहीमा कार्यक्रम गरी १५ दिनभित्र केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए।

प्रकाशित: १३ श्रावण २०७४ ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App