८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

मेटिएला कांग्रेसभित्र मनमुटाव?

नेपाली कांग्रेसभित्र वर्षौंदेखि आन्तरिक ‘बेमेल-अन्त्य’ को बहस चल्दै आइरहेको छ। व्यक्तिगत रूपमै एकअर्काप्रतिको ‘रिसराग’ ले झन्झन् झाँगिदै गइरहेको बेमेलले कांग्रेसभित्र चल्दै आएको आन्तरिक एकता बहसलाई थप चुनौती दिइरहेको छ।

पार्टीको आन्तरिक प्रतिस्पर्धा वा आम निर्वाचनका क्रममा देखिने प्रतिशोध भावनाले कांग्रेसीजनलाई ध्रुवीकृत बनाउँदै लगेको मात्रै छैन, स्थानीय स्तरसम्म बोली बाराबारकै स्थिति निम्त्याएको छ। फलतः केन्द्रीय नेतृत्व वा केन्द्रीय नेताहरूले उपल्लो तहमा व्याप्त गुट अन्त्यका लागि चलाउने बहसले तल्लो तहमा व्याप्त कांग्रेसीबीचको मनमुटाव अन्त्य हुनेमा संशय देखिन्छ।

केही दिनअघि सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले पुनः पार्टीको आन्तरिक कलह व्यवस्थापन गरेर जाने परम्परागत निर्णय गर्‍यो। अझ पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रस्तावले ‘सिंगो कांग्रेस’ निर्माणको परिकल्पना गर्‍यो। गुटैगुटमा विभक्त कांग्रेसीलाई एकै थलोमा उभ्याउन विभिन्न उपाय खोजिएको महामन्त्रीद्वयको प्रस्ताव कागजी रूपमा सही देखिए पनि व्यवहारको पाटो कति सहज भन्ने प्रश्न आम कार्यकर्ताका मनमा उब्जिएको छ। पार्टीको उपल्लो तहमा महामन्त्रीद्वयको प्रस्तावको मोडालिटीमा पार्टीलाई रूपान्तरण गर्न खोजिए पनि स्थानीय तहसम्म यसको कार्यान्वयन गर्न भने उत्तिकै चुनौतीपूर्ण देख्छन् तल्लो तहका कांग्रेसी।

नेपाली कांग्रेसभित्र वर्षौंदेखि आन्तरिक ‘बेमेल-अन्त्य’ को बहस चल्दै आइरहेको छ। व्यक्तिगत रूपमै एकअर्काप्रतिको ‘रिसराग’ ले झन्झन् झाँगिदै गइरहेको बेमेलले कांग्रेसभित्र चल्दै आएको आन्तरिक एकता बहसलाई थप चुनौती दिइरहेको छ।

व्यक्तिपिच्छे गुट निर्माण गरेर एकअर्काप्रति ‘तुष’ पालेका स्थानीय स्तरका कांग्रेसी कार्यकर्ता कतिपयले महामन्त्रीद्वयको प्रस्तावलाई सही तर्क गरे भने कतिपयले अग्रज नेताहरूलाई उछिन्न खोजेर ‘बढी जान्ने बनेको’ विश्लेषण गर्न भ्याए। ‘अग्रज नेताहरूको बाटोभन्दा अलग बनेर पार्टीको मोडालिटी नै चेन्ज गर्छु भन्नु सही हैन’, एक कार्यकर्ताले भने, ‘अग्रजहरूलाई बायस गरेर भन्दा पनि उहाँहरूको सरसल्लाहबाट पार्टीलाई कसरी अगाडि बढाउने भन्ने निक्र्योल गरिनुपर्छ।’

कांग्रेसको स्थानीय तहसम्मको संरचना नियाल्ने हो भने केन्द्रमा हाबी धारहरू उसै मजबुत छन्। संस्थापन वा संस्थापनइतर समूहको वर्चश्व कायम गर्ने होडमा लागेका स्थानीय कार्यकर्तालाई आफू जोडिएको गुट मात्रै सच्चा कांग्रेस रहेको महसुस वर्षौंदेखि भइरहेकै छ। फलतः केन्द्रबाटै निर्धारित दुई गुटको लडाइँले प्रतिशोधको भाव उच्चतम् जागृत भइरहेको छ। ‘केन्द्रमा भएजस्तै संस्थापन र संस्थापनइतर समूह जिल्लामा मजबुत बनिरहेको अवस्था छ’, दाङ कांग्रेसका एक जिल्ला नेताले भने, ‘पार्टीको आन्तरिक चुनावमा होस् वा आम चुनावमा होस् दुवै पक्षले आफ्नो वर्चश्व कायम गर्ने होड चलिरहेकै छ।’

केन्द्र तहबाट सिर्जित गुटहरू मात्रै हैन, जिल्ला तहका नेताहरूले जन्माएका व्यक्तिगत गुटले कांग्रेसीबीच अन्तरघुलनको चुनौती स्थानीय स्तरमा अझ बढी देखिन्छ। जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्नेदेखि केन्द्रीय नेतादेखि जिल्ला तहका नेताहरूले समेत स्थानीय स्तरसम्मै आफ्नो प्रभाव जमाउन व्यक्तिगत गुट निर्माण गरिरहेकै छन्।

जिल्ला तहका नेताहरूका नाममा जन्मिएका यस्ता गुटमा आबद्ध कांग्रेसीहरू एकअर्काप्रति कठोर रूपमा प्रस्तुत हुने गरेका छन्। फलतः उनीहरूका बीचमा ‘वैचारिक एकता’ को चुनौती बढी नै छ। ‘आआफ्नो प्रभाव छाड्नका लागि वडा तहसम्मै व्यक्तिगत गुट जन्मनुले कांग्रेसभित्रको अन्तरघुलन झन् चुनौतीपूर्ण छ’, कांग्रेसी एक नेताले भने, ‘यस्ता व्यक्तिगत गुटहरू सबैभन्दा बढी खतरनाक हुन्छन्।’

कांग्रेसको स्थानीय तहसम्मको संरचना नियाल्ने हो भने केन्द्रमा हाबी धारहरू उसै मजबुत छन्।

स्थानीय स्तरमा हुने पार्टीको आन्तरिक तथा आम निर्वाचनमा उत्पन्न हुने असन्तुष्टिले यस्ता व्यक्तिगत गुटहरू सिर्जित गरेका हुन्छन्। व्यक्तिगत रूपमा हुने कार्यकर्ताको टकराबलाई क्यास गर्दै जिल्ला तहमा आफ्नो प्रभाव छाड्न खोजेकाहरूले कसरी आफूतिर समेट्ने भन्ने दाउ हेरिरहेका हुन्छन्।

दाङमै यसैगरी जन्मिएका गुटका कारण कांग्रेसी कार्यकर्ताबीच बोली बाराबारकै स्थिति उच्च बनेको छ। उनीहरूबीच आपसी एकताभन्दा पनि ‘देख्लास् र पख्लास्’ कै भावना उच्च बन्दै गइरहेको छ। अनि त आम निर्वाचनमा अन्तरघातको सिकारमा कांग्रेसी स्वयं परिरहन्छन्। पार्टी केन्द्रले जारी गर्ने ह्विप वा निर्देशनलाई समेत अवज्ञा गर्ने यस्ता व्यक्तिवादी गुटहरूलाई कसको कस्तो परिकल्पना वा प्रस्तावले लगाम लगाउन सक्ला? यो भने हेर्न बाँकी नै छ।

जिल्लादेखि वडा तहसम्मै फैलिएका व्यक्तिवादी गुटलाई निस्तेज पारेर सबैका बीचमा भावनात्मक एकता कायम कांग्रेस नेतृत्वले कतिसम्म सक्ला भन्ने चुनौती कांग्रेसीहरूले देखिरहेका छन्। यसका लागि कांग्रेसीहरूलाई विधि र विधानले बाँध्न सक्नैपर्ने नीति पार्टीले अवलम्बन गर्न जरुरी रहेको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन बताउँछन्। 

प्रकाशित: १८ श्रावण २०८० ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App