coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

मतदाता शिक्षा शून्य

धरान- झापा, मेचीनगर-८ टोकला चिया कमानभित्र बस्दै आएकी पम्फी लेक्स स्थानीय तह निर्वाचनमा मतदान गर्न आतुर छिन्। मतपत्र लामो र ठूलो भएकाले आफूले चाहेकोे उम्मेदवारलाई बदर नहुने गरी कसरी भोट दिने भनेर चिन्तित छिन्। मन परेको व्यक्तिलाई छानेर हाल्न पाइने कि नपाइने, कसरी छाप लगाउने, मतपत्र कसरी पट्याउने कुरा जान्ने मन उनलाई चुनाव घोषणा गरेकै दिनदेखि थियो।

'मैले जसलाई मत दिए पनि अमूल्य हुनेछ। कतै बिग्रेर खेर गयो भने मेरो उम्मेदवार हार्छ। त्यसैले मैले चोकमा गएर दलका मान्छेसँग भोट हाल्न सिकेको छु।'

सोही वडाका हरिबहादुर तमाङको समस्या पनि त्यस्तै छ। मतपत्र लामो भएको र मतदान गर्न अप्ठ्यारो रहेको सुनेको तर अहिलेसम्म त्यसको नमुना लिएर कोही नआएको गुनासो उनको छ।

विराटनगर उपमहानगरसँगै जोडिएको जहदा गाउँपालिकाकी बलही टुडुर पनि मत बिग्रने चिन्तामा छिन्। २० वर्षपछि गाउँकै मान्छेलाई भोट दिन लागेकाले खेर नजाओस् भन्ने उनको चाहना छ। उनलाई कसैले पनि मतदान गर्ने तरिका सिकाएको छैन।

'दलहरू मत माग्न त आउँछन् नि, तर उहाँहरूले आफ्नै चिह्नमा मात्र  सिकाउनुहुन्छ,' सन्थालले भनिन्, 'हामीलाई त मन लागेको व्यक्तिलाई भोट हाल्न मन छ। तर कसरी मतदान गर्ने जानेको छैन।'

इलाम नगरपालिकाका नरेन्द्र नेम्वाङ (६५) ले धेरैपल्ट मतदान गरिसकेका छन्। तर यसपटक धेरै उम्मेदवारलाई भोट हाल्नुपर्ने भएकाले मत बिग्रने डर लागेको उनले बताए।

'मैले जसलाई मत दिए पनि अमूल्य हुनेछ,' नेम्वाङले भने, 'कतै बिग्रेर खेर गयो भने मेरो उम्मेदवार हार्छ। त्यसैले मैले चोकमा गएर दलका मान्छेसँग भोट हाल्न सिकेको छु।'

निर्वाचन आयोगका कर्मचारी मतदाता शिक्षाका लागि आउने कुरा थाहा पाउनुभएको छैन भन्ने जिज्ञासामा उनले त्यस्तो व्यक्ति आफूले नभेटेको बताए। 'खै बाबु कता आए कुन्नि? मेरोमा आएका छैनन्,' उनले भने, 'माथि चोकबजारमा सिकाए होलान्, म घरमै थिएँ।'

सुनसरी इनरुवा नगरपालिकामा भेटिए चुनाव बहिष्कार गरेका राजपाका क्षेत्रीय नेता महमद सागिर मियाँ। पार्टीले निर्वाचनमा भाग नलिए पनि निर्वाचन गतिविधिमा भने उनले चासो दिएका छन्। उनले पनि निर्वाचन शिक्षा र मतदान गर्ने विषयमा सरकारी पक्षबाट कुनै कार्यक्रम नराखिएको बताए। उनले भने, 'निर्वाचन आयोगले मतदाता शिक्षाबारेमा घरदैलो गरेको विषयमा मलाई जानकारी छैन।' चुनाव बहिष्कार गरेको भएर नसिकाएका हुन् कि भन्नेे प्रश्नमा उनले भने, 'अनुहार हेरेर कसरी थाहा हुन्छ हामी बहिष्कारवादी हौैं भनेर। सरकारले चलाएको अभियानमा त हामीले पनि जान्न पाउने हक छ नि।'

मेची नगरका कांग्रेस सभापति इन्द्र बुढाथोकीले आयोगले सञ्चालन गरेको मतदाता शिक्षा प्रभावकारी नभएको बताए। उनका अनुसार आयोगका कर्मचारी सुगम र राजमार्ग क्षेत्रमा मात्र केन्द्रित भएका छन्। 'सरकारी कोषको रकम मतदाता शिक्षामा प्रशस्त खर्च भएको देखिन्छ,' उनले भने, ' गाउँमा आयोगका कर्मचारी आएकै देखिँदैन।'

इटहरी उपमहानगरपालिकाका राप्रपाका नगर अध्यक्ष रामु पोखरेलले आफहरूले घरदैलोका क्रममा मतदातालाई भोट हाल्न सिकाएको बताए। उनले भने, 'हामी ले नै मतदातालाई भोट हाल्न सिकाएका छौं। आयोगले कुन क्षेत्रमा कसरी गरेको छ हामीलाई जानकारी छैन।' 

संघीय समाजवादी फोरमका नेता कोविदचन्द्र कार्कीले पनि इटहरी उपमहानगरमा मतदाता शिक्षा प्रभावकारी नभएको बताए।

इलामका प्राध्यापक तथा इतिहासकार मोहनसिंह थेवेले पनि आयोगले प्रभावकारी रूपमा मतदाता शिक्षा दिन नसकेको टिप्पणी गरे। आयोगले सोचेअनुसार गाउँगाउँसम्म अभियान सञ्चालन गरेर काम गर्न नसकेको उनले बताए। उनले भने, 'समय अभाव वा कर्मचारी अभाव त्यो आयोगले जान्ने कुरा हो। जनताले शिक्षा नपाउनुचाहिँ चासोको विषय हो।'

सुविधामुखी गैरसरकारी संस्थाका प्रतिनिधिलाई मतदाता शिक्षाको ठेक्का दिँदा सबै मतदातामा जानकारी पुग्न नसकेको राजनीतिक दलहरूको विश्लेषण छ। आयोगले शिक्षकमार्फत गर्नुपर्ने काम गैरसरकारी संस्थालाई दिँदा उनीहरूले आफ्नो प्रभाव वरिपरिमात्र त्यसलाई प्रचार गरेको र आवश्यक ठाउँमा मतदाता शिक्षा नपाएको उनीहरूको आरोप छ। निर्वाचन अनुगमन टोलीका अध्यक्ष सुरेश आचार्यले मतदाता शिक्षा प्रभावकारी रूपमा दिन नसकिएको स्वीकार गर्दै केही गल्ती भएको बताए। धरानमा भेटिएका आचार्यले भने, 'मतदाता शिक्षा प्रभावकारी हुन नसेकेको विषयमा  जिल्लाका सबैसँग बसेर छलफल गरेका छौं। राजनीतिक दललाई पनि सहयोग गर्न भन्दै आएका छौं।' 

स्थानीय भाषाका कारण पनि यस्तो समस्या आएको उनले बताए। नेपाली भाषा नबुझ्ने तर सिकाउने व्यक्ति नेपालीमात्र बोल्ने हुँदा केही समस्या देखिएको उनले बताए।

(अजित तिवारी/विराटनगर, राजु अधिकारी/झापा, भीम चापागार्इं /इलाम, अमर खड्का/इटहरी र रोहित राई/धरानको सहयोगमा)

पाँच लाख ६३ हजार आठ सय ७० जना मतदाता रहेको मोरङमा १७ स्थानीय तहको निर्वाचनका लागि ६ सय ९ वटा मतदानस्थल तोकिएको छ। तीन सयवटा मतदान केन्द्र कायम गरिएको छ। हरेक मतदानस्थलमा मतदान अधिकृत र सहायक मतदान अधिकृत मात्रै जिल्लाभर एक हजार दुई सय १८ जना खटिएका छन्।

 ‘सबै मतदानस्थलमा खटिएका कर्मचारीले कमान्ड सम्हालिसकेका छन्,’ निर्वाचन कार्यालय प्रमुख सञ्जेलले भने, ‘मतदाता परिचयपत्र आइतबारदेखि वितरण सुरु गरिएको छ।’ मतदान स्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ। ‘सबै मतदान केन्द्रमा सुरक्षाकर्मी खटिसकेका छन्,’ मोरङका एसपी सन्दीप भण्डारीले भने, ‘म आफैँ सबै बुथमा पुगेर सुरक्षा बन्दोबस्तबारे बुझिरहेको छु।’

 निर्वाचन कार्यालयले चुनाव परियोजनाका लागि उपलब्ध गराएको सामग्रीसहितका कर्मचारी मोरङका सबै बुथमा पुगिसकेका छन्। बुथमा मतदान कार्यका लागि घेराबेरा गर्ने काम पनि सुरु भइसकेको निर्वाचन कार्यालय प्रमुख सञ्जेलले जानकारी दिए। पूर्व क्षेत्र प्रहरी कार्यालय, विराटनगरका डिआइजी रमेश भट्टराईले प्रदेश नम्बर १ का सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी खटिएको जानकारी दिए।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर १ मा एक सय ३७ तहमा उम्मेदवार निर्वाचित हुनेछन्। प्रदेश नम्बर १ का १४ जिल्लाका एक हजार एक सय ५७ वडाका लागि निर्वाचन हुनेछ। जसमा २६ लाख ७४ हजार पाँच सय ६३ मतदाता छन्। यी सबै ठाउँमा मतदानका लागि एक हजार आठ सय ६२ मतदानस्थल र तीन हजार चार सय ६० वटा मतदान केन्द्र कायम गरिएको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ।

 मौनअवधि सुरुअघि अन्तिम ‘शक्ति’ प्रदर्शन गरेका राजनीतिक दल र उनका उम्मेदवार आइतबार मध्यरातिदेखि आन्तरिक कसरतमा व्यस्त छन्। चुनावको प्रचारप्रसारको आइतबार अन्तिम दिन हो। राति १२ बजेपछि खुला प्रचारप्रसार र चुनावी अभियानमा हिँड्न बन्देज लागेको छ।

२० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतदान गर्न प्रदेश नम्बर १ का मतदाता भने व्यग्र प्रतीक्षामा छन्। परिचयपत्र लिन मतदान केन्द्रमा मतदाताको भीड छ। आयोगले मतदान केन्द्रबाटै मतदाता परिचयपत्र बाँडिरहेको छ। परिचयपत्र मंगलबार साँझसम्म वितरण गरिनेछ।

परिचय पत्र बाँडिँदै

झापाका ६ सय ३७ वटै मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण सुरु भएको छ। आइतबारदेखि जिल्लाका सबै केन्द्रबाट परिचयपत्र वितरण सुरु भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यो क्रम मंगलबारसम्म चल्नेछ।

'झापाका १५ वटै तहका सबै मतदान केन्द्रमा हाम्रा कर्मचारी पुगेर काम थालेका छन्', जिल्ला निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यले भने, 'आइतबार बिहानैबाट परिचयपत्र वितरण सुरु भएको छ। मंगलबारसम्म यो काम सकिनेछ।' उनका अनुसार तीन दिनभित्र सबै केन्द्रमा बुथ निर्माण गर्ने काम पनि सकिनेछ। 'अब मतदाताले ढुक्कले मतदान गर्ने दिनको प्रतीक्षा गरे हुन्छ', उनले भने, 'झापामा सबै तयारी पूरा भइसकेको छ।'

स्थानीय तह  निर्वाचनका लागि  झापामा आठ हजारभन्दा  बढी कर्मचारी परिचालित भइसकेका छन्। निर्वाचन कार्यालय र सुरक्षा निकायबाट खटिने सुरक्षाकर्मीसहित जिल्लामा आठ हजार आठ सय २७ जना जनशक्ति परिचालित भएका हुन्। निर्वाचन कार्यालय झापाका तर्फबाट तीन हजार आठ सय २७ जना, जिल्ला प्रहरी कार्यालय झापाबाट एक हजार नौ सय नेपाल प्रहरी, दुई हजार एक सय म्यादी प्रहरी चुनावी सुरक्षामा परिचालित भएका छन्। एक हजारभन्दा बढी सशस्त्र प्रहरीसमेत परिचालित भइसकेको झापामा नेपाली सेनाले पनि निर्वाचन लक्षित गस्ती थालेको छ।

आठ नगरपालिका र सात गाउँपालिका रहेको झापामा पाँच लाख १० हजार दुई सय १६ मतदाता छन्। जिल्लामा दुई सय ८३ मतदान स्थल र ६ सय ३७ मतदान केन्द्र छन्। सात सय २३ जना प्रतिनिधि निर्वाचित हुनुपर्ने जिल्लामा  तीन हजार तीन सय ४० जना उम्मेदवार मैदानमा छन्।

झापामा एक हजार मतदाता बराबर एउटा मतदान केन्द्र कायम गरिएको छ। जिल्लामा एउटा मतदान स्थलमा बढीमा सातवटासम्म मतदान केन्द्र छन्। प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत एक/एक जना गरी कुल एक हजार दुई सय ७४ जना र बाँकी सहायक कर्मचारी, कार्यालय सहयोगी छन्। आचार्यका अनुसार कार्यालयका तर्फबाट एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र स्वयम्सेवकसहित नौ जना कर्मचारी खटिएका छन्। 

जिल्ल्ााका अधिकांश मतदानस्थल विद्यालयमा छन्। ८५ प्रतिशत मतदान स्थल विद्यालय र बाँकी सम्बन्धित स्थानीय तह, सामुदायिक वन उपभोक्ता समितिका कार्यालय तथा स्वास्थ्य केन्द्रमा रहेका छन्।  निर्वाचनलाई लक्षित गर्दै स्थानीय प्रशासनले जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार झापाका सबै मतदान स्थलमा एक हजार नौ सय नेपाल प्रहरी, दुई हजार एक सय म्यादी प्रहरी परिचालन गरिनेछ। यसबाहेक सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान तथा सादा पोसाकमा समेत प्रहरी परिचालन गरिनेछ। निर्वाचन लक्षित गरी सशस्त्र प्रहरी बलले झापाका १५ वटा स्थानीय तहमा १५ वटै सशस्त्र प्रहरीको अस्थायी पोस्ट खडा गरेको छ।

चुनावी सुरक्षा लक्षित गरेरै सोमबारदेखि ७२ घन्टाका लागि नेपाल–भारत सीमा 'सिल' हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीका अनुसार सीमा नाका असार १५ गते बिहान ६ बजेपछि मात्रै खुला हुनेछ। झापा, मोरङ, सुनसरी तथा सीमावर्ती भारतीय क्षेत्रका प्रशासन तथा सुरक्षा अंगका प्रमुखको संयुक्त बैठकले यसअघि नै चुनावका बेला सीमा सिल गर्ने निर्णय गरेको थियो।

४८ घन्टा सीमा सिल

बुधबार हुन लागेको दोस्रो चरणको स्थानीय निकायको निर्वाचनका लागि सुनसरीका एक सय ६६ वटा मतदान स्थलका चार सय ८५ वटै मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रत्येक मतदान केन्द्रको भित्री सुरक्षाका लागि जनपद प्रहरी, बाहिरी सुरक्षाका लागि सशस्त्र प्रहरी र तेस्रो घेरामा सेनाको टोली परिचालन गरिएको छ। मतदान केन्द्रसँग भारतीय सीमा क्षेत्रसँगै जिल्लाभरका संवेदनशील स्थानलाई विशेष निगरानी राखेर सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए।

जिल्लाभर म्यादी र जनपद प्रहरी गरी जिल्लाभर तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। सशस्त्र प्रहरी एकजना जना र सेनाले १५ स्थानमा अपरेटिङ पोस्ट स्थापना गरी सुरक्षाकर्मी परिचालन गरेको छ। 'मतदान केन्द्रमा प्रहरीका तर्फबाट अफिसरको नेतृत्वमा टोली खटाइएको छ,' जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले भने, 'मतदान केन्द्रबाहेक मोबाइल गस्ती, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ।'

भारतीय सीमासँग जोडिएकाले गर्दा विशेष सुरक्षा सतर्कता अपनाइएको हो। 'जिल्लाका मतदान केन्द्रमा सुरक्षा प्रदान गर्नुका साथै १४ गते बिहान ८ बजेदेखि मतदान हुने हुँदा त्यसको २४ घन्टाअघिदेखि ७२ घन्टाभर भारतीय सीमा सिल गरिनेछ,' प्रजिश पराजुलीले भने, 'भारतीय सीमा सिल गर्ने सहमति नेपाल र भारतका सुरक्षा अधिकारीको जेठ २४ गतेको बैठकले निर्णय गरिसकेको छ।'

जिल्लामा मतदान गर्नका निम्ति तीन हजार आठ सय ३८ जना कर्मचारी खटिएका छन्। यी कर्मचारीले आइतबारदेखि मतदाता परिचयपत्र वितरण गर्न थालेका छन्। आइतबार मात्र कही ३० प्रतिशत र कहींकहीं ४० प्रतिशतसम्म मतदाता परिचयपत्र वितरण गरिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जानकीराज कर्णले बताए। उनका अनुुसार मतदान केन्द्रमा खटिने कर्मचारीमध्ये कार्यालय सहयोगीको अपुग भएको छ। 'अपुग कार्यालय सहयोगीलाई सोमबारसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट व्यवस्थापन गरी खटाइने तयारी भइरहेको छ,' कर्णले भने। सुनसरीमा कुल चार लाख २१ हजार एक सय ५९ मतदाता छन्। जिल्लाभर दुई उपमहानगरपालिका, चार नगरपालिका र ६ गाउँपालिका छन्।

प्रकाशित: १२ असार २०७४ ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App