१५ चैत्र २०८० बिहीबार
राजनीति

गयो जागिर, मिलेन टिकट

खोटाङ- स्थानीय तहको निर्वाचनमा उठ्नका लागि खोटाङको दिप्रुङ गाउँपालिका–४ बतासेस्थित जनता माविका शिक्षक बसन्त राईले वैशाख ५ गते पदबाट राजीनामा दिए।

कांग्रेस समर्थक शिक्षक राईले दिप्रुङ गाउँपालिका प्रमुखमा उठ्नका लागि अन्तिम समयसम्म टिकटका लागि लवी गरे। मन मिल्ने नेता साथीको सरसल्लामै उनले छँदाखाँदाको जागिर छाडेर पूर्णकालिन राजनितीको मैदानमा आएका थिए। तर, टिकट लिने दिनेक्रममा कांग्रेसभित्रको कडा प्रतिष्पर्धामा उनी पछि परे। ‘टिकट लिएर लड्नकै लागि शिक्षकबाट राजीनामा दिएर राजनीतिमा होमिएको हुँ,’ पूर्वशिक्षक राईले भने, ‘तर टिकट हात परेन। अव टिकट पाउनेलाई सहयोग गरेर अघि बढ्छु।’ उनी प्राशि द्धितीय पदमा कार्यरत थिए।

यस्तै, दिप्रुङ गाउँपालिकाकै प्रमुखको टिकटमा लड्नका लागि दिप्रुङ गाउँपालिका–५ सछितापोखरीस्थित सरस्वती मावि डाँडाखर्कका मावि शिक्षक केशवराज कार्कीले बैसाख १७ गते पदबाट राजीनामा दिए। जीवन र परिवार धानिरहेको जागिर छाडेर गाउँप्रमुखको रूपमा दावेदारी प्रस्तुत गर्दै आएका शिक्षक कार्कीले पनि जनता माविका राईकै नियती भोग्नु पर्‍यो। गाउँप्रमुखको टिकटको दौडमा उनी पनि पछाडि परे। टिकट हात नलागेपछि उनीहरूसँग टिकट पाउने सहकर्मीलाई सहयोग गर्नुको बिकल्प रहेन। दिप्रुङ गाउँपालिका प्रमुखमा पार्टीभित्रै कार्कीको सुरुदेखि नै चर्चा चल्दै आएको थियो।

आगामी असार १४ गते हुने निर्वाचनका लागि खोटाङका ५ मावि शिक्षक, २ निमावि शिक्षक र १४ प्रावि तहका शिक्षकले जागिर छाडेका छन्। जागिर छाड्नेमध्ये धेरैजसो शिक्षक टिकट लिएर चुनावी मैदानमा उत्रिएका छन्। श्रोत व्यक्तिकारूपमा काम गरिरहेका बेला माक्पा माविबाट राजीनामा दिएका विश्वनाथ निरौला कांग्रेसकातर्फबाट ऐसेलुखर्क गाउँपालिका प्रमुखमा उठेका छन्। सिम्पानी माविको प्रअबाट राजीनामा दिएका राजन ढकालले माओबादी केन्द्रकातर्फबाट खोटेहाङ गाउँपालिकाको प्रमुखमा लड्दैछन्। कांग्रेसकातर्फबाट जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा उम्मेदवारी पाउने भएछि दिक्तेल बहुमुखी क्याम्पस छाडेका प्राध्यपक खेमबहादुर खड्का हाल चुनावी प्रचार–प्रसारमा व्यस्त छन्।

धेरैजसो शिक्षक भने वडाअध्यक्ष र सदस्यमा उठेका छन्। टिकट नपाउने अधिकांश शिक्षक पार्टीबाट टिकट पाउने उम्मेदवारको सहयोगमा चुनावी अभियानमा हिँडिरहेका छन्। टिकट नपाउने आकांक्षीले निर्वाचनमा असहयोग गर्ने त्रास पनि हरेक पार्टीभित्र छ। तर, आकांक्षी बनेर टिकट नपाए पनि पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गरेर जाने पूर्वशिक्षक राईले बताए। ‘मलाई कुनै असन्तोष छैन। टिकट पाउँदा खुसी हुने, नपाउँदा पार्टीलाई असहयोग गर्ने भन्ने कुरा हुँदैन,’ राईले भने, ‘राजनीतीमा सहयोग गरागर हुनुपर्छ, आफै मात्र हुनुपर्छ भन्ने मानसिकता राख्नुहुँदैन।’

प्रकाशित: २ असार २०७४ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App