१६ चैत्र २०८० शुक्रबार
राजनीति

सरकारको निर्णय राजपालाई अस्वीकार्य, अब १ र ५ नं.को चुनाब बिथोल्न केन्द्रित हुने

लहान—राष्ट्रिय जनता पार्टी नेपालले दुई नम्बर प्रदेशमा चुनाब स्थगित गर्ने सरकारको निर्णय आफूहरुलाई अस्वीकार्य रहेको बताएको छ। राजपा अध्यक्ष मण्डलका तीन नेताहरु राजेन्द्र महतो, राजकिशोर यादब र अनिल झाले सरकारको निर्णय अस्वीकार्य भएको यसबारे छिटै पार्टीले धारणा सार्वजनिक गर्ने जनाएका हुन्।

'मधेसभरि चुनाब स्थगित गर्न हामीले माग गरेका थियौं। मधेस भनेको प्रदेश नं. २ मात्र होइन। अब हाम्रो सम्पूर्ण शक्ति झापा, मोरङ, सुनसरी र पाँच नम्बर प्रदेशको चुनाब बिथोल्न केन्द्रित हुनेछु, उनले भने।

सरकारको निर्णयप्रति असहमति जनाउने तीनै जना नेताहरु बिहीबार रौतहट र सर्लाहीमा थिए। त्यही बेला काठमाडौंमा सत्तारुढ काँग्रेस-माओवादीका नेताहरुसँग राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, सदस्यद्वर महेन्द्र राय र शरदसिंह भण्डारी सम्मिलित बैठकले २ नम्बर प्रदेशमा चुनाब स्थगित गर्ने समझदारी गरेको थियो।

'अहिले सरकारले गरेको निर्णय अस्वीकार्य छ। प्रदेश नं.२ को निर्वाचन सार्नलाई मात्र हामीले आन्दोलन गरेका होइनौ', राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले नागरिकन्युजसँग भने, 'संविधानमा संशोधन चाहेका हौं। हाम्रो माग ओझेलमा पार्न सरकारले चुनाब पछाडि धकेलेको हो। यो हामीलाई मान्य छैन।'

आन्दोलनका लागि जिल्ला दौडाहामा रहेका तीन नेताहरु यो निष्कर्षमा पुगेको नेता महतोले बताए। 'हामी राजकिशोरजी, अनिलजी र म मिलेर यो निर्णयमा पुगेका हौं। काठमाडौंमा रहेका अध्यक्ष मण्डलका संयोजक र सदस्यद्वयसँग पनि छलफल भइसकेको छ। काठमाडौं पुगेर औपचारिक निर्णय सार्वजनिक गर्छौ', उनले भने।

नयाँ परिस्थितमा पार्टीको धारणा सार्वजनिक गर्न सम्भव भए आजै राति वा भोलि बिहानसम्म पार्टीको बैठक बस्ने उनले जानकारी दिए। परिस्थिति बद्‌लिएपछि सर्लाहीमा रहेका तीनै जना नेताहरु आकस्मिक रुपमा काठमाडौंतिर लागेका छन्।

'मधेसभरि चुनाब स्थगित गर्न हामीले माग गरेका थियौं। मधेस भनेको प्रदेश नं. २ मात्र होइन। अब हाम्रो सम्पूर्ण शक्ति झापा, मोरङ, सुनसरी र पाँच नम्बर प्रदेशको चुनाब बिथोल्न केन्द्रित हुनेछु, उनले भने।

सरकारले राजपाको माग देखाएर दुई नम्बर प्रदेशमा चुनाब सार्ने निर्णय गरेको केही घन्टापछि सो पार्टीका जिम्मेवार नेताहरुबाट यस्तो भनाइ आएको हो।

यसअघि सत्ता पक्षसँग बैठकमा सहभागी भएका राजपा अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारीले निर्वाचनको सहभागिताबारे पार्टीले निर्णय गरिनसकेको बताएका थिए। तराईमा रहेका नेताहरुसँग छलफलपछि मात्र आधिकारिक धारणा तयार हुने उनले उल्लेख गरेका थिए।

बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा सहभागी राजपा नेताहरुले पनि निर्वाचनमा सहभागिताबारे प्रस्ट धाराणा राखेका थिएनन्।

सत्ता पक्षले भने राजपासँग समझदारी भएको भन्दै २ नम्बर प्रदेशको निर्वाचन स्थगितको निर्णय गरेको थियो। 'चुनाबमा राजपा नछुटोस् भनेर नै हामीले निर्वाचन आयोगसँग १४ असारका लागि उम्मेदवारी दर्ता मिति केही दिन सार्न भनेका छौं। उहाँहरु आउनुहुन्छ भन्ने आशा छ', बैठकमा सहभागी एक नेताले भने, 'उहाँहरुसँग लिखित सहमति चाहिँ भएको छैन।'

निर्वाचनमा जान संविधान संशोधनको पूर्वसर्त राख्दै आएको राजपाले प्रदेश नं. २  र ५ को निर्वाचन स्थगित गर्न माग गर्दै आएको थियो।

शक्तिशाली तराइ केन्द्रित दलहरु भने निर्वाचनका लागि तयारै छन्। उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी फोरम तथा विजय गच्छदारको फोरम लोकतान्त्रिक चुनाबी अभियानमा होमिइसकेको अवस्थामा सरकारले राजपालाई समेट्न भन्दै २ नं. प्रदेशमा चुनाब सार्ने निर्णय गरेको थियो।
 

प्रकाशित: १ असार २०७४ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App