८ वैशाख २०८१ शनिबार
राजनीति

देउवालाई बालुवाटार सर्न ज्योतिषीले रोके

काठमाडौं- ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको एक साताभन्दा बढी भइसक्दा पनि बूढानीलकण्ठस्थित निजी निवास छाडेर बालुवाटारस्थित सरकारी निवासमा सर्न सकेका छैनन्। उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन्।

देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ। ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विघ्नबाधा आउने सुझाएपछि उनी बूढानीलकण्ठमै अड्किएका हुन्।

वरिष्ठ ज्योतिषी अंगीरस न्यौपानेले देउवालाई ३ गतेपछि मात्रै निवास सर्न सुझाएका छन्। 'उहाँलाई बालुवाटार सर्न जेठ २७ गते शुभ मुहूर्त थियो, अब  असार ४ वा ५ गते मात्रै शुभ मुहूर्त छ,' न्यौपानेले नागरिकसँग भने, '४ गते दिन बिहान, दिउँसो र बेलुका शुभ साइत देखिन्छ।' बिहान सर्दा पूजापाठ, रुद्री, स्वस्तिवाचन गर्दा उत्तम हुनेछ भने साँझ सर्दा स्वस्तिवाचन गरे पुग्ने उनको सल्लाह छ।

'देउवाको कुण्डलीमा बृहस्पति भाग्य स्थानमा भए पनि आगामी असार ३ गतेसम्म राहु अष्टम पदमै रहन्छ। अष्टम पदमा राहु बस्नु भनेको शत्रु पक्ष बलियो हुनु हो,' न्यौपानेले नागरिकसँग भने, 'शत्रु बलियो हुँदाहुँदै पनि देउवाज्यू प्रधानमन्त्री बन्नु त भएको छ तर असार ३ गतेसम्म जति काम गरे पनि उहाँले जस पाउने अवस्था देखिन्न।' त्यसपछि भने देउवा शक्तिशाली हुने न्यौपानेले दाबी गरे।

 न्यौपानेले बालुवाटार र सिंहदरबारमा कतापट्टि कुर्सी राख्ने र कतापट्टि मोहडा बनाउने भन्ने पनि सुझाएका छन्। 'बालुवाटारमा उत्तरपूर्व मोहडा राखेर बस्दा उत्तम हुन्छ। भेट्न र छलफल गर्न आउनेलाई दक्षिणतर्फ फर्काएर कुराकानी र छलफल गर्दा सफलता मिल्ने देखिन्छ,' न्यौपानेले भने, 'सिंहदरबारमा भने पूर्व दिशातर्फ फर्केर प्रधानमन्त्री बस्नुपर्छ। भेट्न जानेलाई पश्चिमतर्फ फर्काउनुपर्छ भने कुराकानी गर्दाचाहिँ अन्यलाई दक्षिणतर्फ फर्काउनु उत्तम देखिन्छ।'

अन्य ज्योतिषीहरूले पनि ४ गतेदेेखि गर्ने निर्णय र काममा देउवाले सफलता पाउने भविष्यवाणी गरेका छन्।

कुण्डलीअनुसार चैतदेखि नै देउवाको बृहस्पति भाग्य स्थानमै छ। कुण्डलीमा राजयोग भएको व्यक्तिको जीवनमा बृहस्पति भाग्य स्थानमा रहेमा त्यो व्यक्ति प्रधानमन्त्री या राष्ट्रपति हुने सम्भावना नकार्नै नसकिने ज्योतिषीहरू बताउँछन्।

ज्योतिषी न्यौपानेका अनुसार अष्टम पदमा बसेको राहुका कारण आफ्नैबाट बढी असहयोग भए पनि बाह्य सहयोग भने प्राप्त गर्न सक्ने अवस्था हुन्छ। उनले भने, 'बाह्य सहयोग र समर्थनमा अष्टम पदको राहुले हानि गर्दैन।' असार ३ गतेपछि देउवाको राहु ग्रह बृहस्पतिको सहयोगी भएर बस्ने न्यौपानेले बताए।

ज्योतिष शास्त्रअनुसार राहु ग्रह बृहस्पतिको सहयोगी भएर बस्नु भनेको शत्रु पक्षमा झगडा र विभाजन ल्याउन सक्नु हो। शत्रु पक्ष कमजोर र विभाजित हुने भएकाले प्रधानमन्त्री देउवा थप बलियो हँुदै जाने अनुमान ज्योतिषहरूको छ।

देउवाको जन्मकुण्डलीमा केतु द्वितीय स्थानमा छ। द्वितीय स्थानमा भएको केतुले बृहस्पतिलाई  साथ दिन्छ। आगामी मंसिर १ गतेसम्म राहु र केतु पूर्ण फल दिने स्थानमा पुग्दैनन्। त्यति बेलासम्म देउवा समस्या र झन्झटसँग बढी जुध्नुपर्नेछ।

मंसिर १ गतेपछि भने देउवालाई नौवटै ग्रहले अनुकूल फल दिन थाल्नेछन्, जसका कारण प्रदेश र संघको चुनाव गराउन उनलाई सहज हुने ज्योतिषीको भविष्यवाणी छ। उनी पाँचौं कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भई दुई वर्षसम्म निर्विघ्न प्रशासन चलाउने उनको कुण्डलीले देखाएको ज्योतिषीहरूले बताएका छन्।

प्रकाशित: १ असार २०७४ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App