१६ चैत्र २०८० शुक्रबार
राजनीति

कार्यकर्ता कुटपिटको विवाद कांग्रेस र एमालेले टुङ्ग्याए

खोटाङ– खोटाङमा पार्टीको झण्डा झिकेको विषयमा कांग्रेस र एमालेबीच चर्किएको झगडा टुंग्याइएको छ। झण्डा झिकेको विषयमा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा र दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा कांग्रेस र एमालेका कार्याकर्ताबीचको विवाद सहमतीमा टुंग्याइएको हो।

जेठ २४ गते डिकुवाका स्थानीयको घरमा एमालेले राखेको झण्डा कांग्रेस कार्याकर्ताले झिकेको र जेठ २५ गते छोरम्बुमा राखिएको कांग्रेसको झण्डा एमालेले झिकेर आफ्नो झण्डा राखेको भन्दै दुई पक्षबीच झडप भएको थियो। त्यसपछि चर्किएको द्वन्द्वलाई जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सहमतीमा टुंग्याएको हो।

झण्डा झिकेको निहुँमा भएको विवादकाक्रममा भएको झडपमा छोरम्बुमा कांग्रेस कार्याकर्ताबाट एमालेका वडाध्यक्षका उम्मेदवार ईन्द्र तामाङ गम्भीर घाईते भएका थिए। उनको अन्नपूर्ण न्यूरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ। यस्तै डिकुवामा एमाले कार्याकर्ताको कुटपिटबाट कांग्रेस कार्यकर्ता अर्जुन राउत घाईते भएका थिए। उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी संयोजकत्वको सर्वदलीय निर्वाचन सञ्चालन सहयोग समितिमा भएको छलफलमा कांग्रेस र एमालेका नेताबीचमा दुवै घटनाका घाइतेलाई उपचार गर्नेक्रममा लागेको खर्च कुटपिट गर्नेपक्षले बेहोर्ने, अन्य भौतिक क्षतीको क्षतिपुर्ति लेनदेन गर्ने लगायतका बुँदामा लिखित सहमती जुटेको प्रशासनले जनाएको छ।

बैठकमा दुई दलबीचमा आगामी दिनमा निर्वाचन प्रचार–प्रसारकाक्रममा आफ्ना कार्याकर्तालाई संयमता अपनाउन निर्देशन दिने, कुनै किसिमका राजनैतिक बिवाद आए तत्काल वडा तहका नेतृत्वमार्फत समाधान गर्ने, वडा तहबाट हल नभए जिल्ला स्तरका नेताको समन्वयमा बैठक बसेर समाधान गर्ने सहमती भएको डिएसपी नबिनकिशोर प्रधानले बताए।

बैठकमा दल, सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयबीचको समन्वयबाट स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र सौहाद्रपूर्ण वाताबरणमा सम्पन्न गर्नका लागि भूमीका सबैले निर्वाह गर्ने सहमती भएको छ।

प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलका अनुशार कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशी, क्षेत्र नम्बर २ का सभापति तिर्थ भट्टराई, एमालेका प्रदेश कमिटि सदस्य हरिकुमार पोखरेल, एमाले जिल्ला सचिवालय सदस्य जलसेर राई, हलेसी तुवाचुङ नगरपालिकाका मेयरका प्रत्यासी खडेन्द्र राई लगायतका नेताबीचमा शनिबार प्रचार–प्रसार र निर्वाचनलाई शान्तिपूर्ण वनाउने सहमती भएको हो। कांग्रेसका क्षेत्रीय सभापति भट्टराईले पनि झण्डाको निहुमा दुई पार्टीबीचमा चुलिएको द्वन्द्व समाधान गर्नका लागि समहती भएको बताए।

एमालेका सचिवालय सदस्य राईले भने दुबै घट्नालाई साम्य पार्दै आगामी दिनमा मिलेर जाने सहमती भए पनि छोरम्बुमा कुट्ने र कुटिनेपक्षलाई एक ठाउँमा राखेर छलफल गराएपछि मात्र सहमती गराउने निर्णय भएको उल्लेख गरे।

‘दुबै ठाउँको घटना प्रकृति फरक छ, कुट्ने बेपत्ता छ, कुटिने अस्पतालमा छ,’ राईले भने, ‘आगामी दिनमा मिलेर जाने भन्ने छँदैछ, त्यही भएर ती दुबैपक्षलाई एक ठाउँमा ल्याएर मात्र सहमतीमा जानु पर्छ भन्ने हाम्रो माग हो ।’

गत बैसाख यता झण्डाकै विषयमा जिल्लाका बिभिन्न स्थानमा दलीय बिवाद हुँदैआएको छ । स्वस्थ प्रतिष्पर्धा गर्नुको सट्टा झण्डाकै निहुमा भइरहेका झगडा र झडपले सर्वसाधारणमा भने असन्तुष्टी छाएको छ । गत बैसाख ८ गते बुईपामा एमालेको कार्यक्रमस्थलबाट कांग्रेसको झण्डा राखेको बाईक ओहोरदोहोर गरेको विषयमा झडप भएको थियो । घरमा एमालेको झण्डा राखेकै विषयमा विवाद हुँदा जेठ १९ गते जन्तेढुंगा गाउँपालिका–२ बोपुङका एमाले समर्थक सन्तोष राईमाथि सोही ठाउँका माओबादी केन्द्रका समर्थक शक्तीराज राईले खुर्पा प्रहार गरेका थिए ।

प्रकाशित: २९ जेष्ठ २०७४ ०७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App