१६ चैत्र २०८० शुक्रबार
राजनीति

उम्मेदवार छनौटमा असन्तुष्ट कांग्रेस क्षेत्रीय सभापतिसहित १५ जनाद्वारा राजीनामा

इलाम- जिल्ला समिति बैठकले सिफारिस गरेका उम्मेदवारका ठाउँमा केन्द्रीय समितिले अर्कैको नाममा निर्णय गरी पठाएको विरोधमा नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिसहित १५ जनाले राजीनामा दिएका छन्। केन्द्रले निर्णय नसच्याएसम्म राजीनामाको निर्णय फिर्ता नलिने दाबीसहित उनीहरूले शुक्रबार केन्द्रीय र जिल्ला समितिमा राजीनामापत्र थमाएका हुन्।

                जेठ १४ गते बसेको जिल्ला समिति बैठकले सूर्योदय नगरपालिकाको प्रमुख (मेयर) मा क्षेत्रीय सभापति दुर्गा बरालको नाम सिफारिस गरेको थियो । तर, बिहीबारको केन्द्रीय समिति बैठकले बरालको ठाउँमा महासमिति सदस्य प्रेम चाम्लिङको नाम मेयरका लागि निर्णय गरेर पठाएपछि सभापति बरालसहित क्षेत्रीय समितिका पदाधिकारीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

                सभापति बरालका अनुसार आफूसँगै क्षेत्रीय उपसभापति श्याम कार्की, सचिव हरिकला श्रेष्ठ, कोषाध्यक्ष पुण्य मुखिया, सदस्यहरू राजकुमार सेरेङ, सोनामछिरिङ काजी, ज्ञानबहादुर राई, विमल श्रेष्ठ, पुष्पा कार्की, मेनुका प्रधान, हीराबहादुर लाप्चा, अर्जुन पोख्रेल, राजु बमजन, हरि बुढाथोकी र नरेन्द्र सापकोटाले राजनीमा दिएका हुन् । ‘हामीले आफू अब पदमा नरहने निर्णय गरी केन्द्रीय समितिलाई इमेल पठाइसकेका छौं । जिल्ला समितिका पदाधिकारीलाई चाहिँ फोन गरी राजीनामाबारे जानकारी दियौं,’ सभापति बरालले नागरिकन्युजसँग भने, ‘जिल्ला समितिकै निर्णयअनुसार माथिको निर्णय नआएसम्म राजीनामा फिर्ता हुँदैन ।’

                बरालले कांग्रेस नेता कुलबहादुर (केबी) गुरुङले बिहीबार दिउँसो फोन गरी सूर्योदय नगरपालिकाको मेयरमा प्रेम चाम्लिङको नाममा केन्द्रको निर्णय भएको जानकारी दिएको बताए।

                बराल बिहीबारसम्म सूर्योदय नपाका विभिन्न वडासम्म ‘मेयरको उम्मेदवार’कै रूपमा चुनावी अभियानमा थिए । बिहीबार पनि उनी त्यही रूपमा सूनपाको श्रीअन्तु गाउँमा चुनावी सभामा सहभागी भएका थिए । ‘ममाथि ज्यादै अन्याय भएको छ,’ निर्णय नसच्चिएसम्म हामी चुनावका कुनैपनि गतिविधिमा भागसमेत लिने छैनौं,’ बरालले भने ।

                कांग्रेस जिल्ला सभापति हिमालय कर्माचार्यले क्षेत्र नम्बर १ को क्षेत्रीय समितिका पदाधिकारीले राजीनामा दिएकोबारे जिल्ला समितिमा औपचारिक जानकारी नआएको बताए।

 

प्रकाशित: २६ जेष्ठ २०७४ १२:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App