coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रमुख पदमा भिड्दै पूर्वलडाकु

इलाम- ‘बन्दुकको नालबाटै' सत्ता हत्याउने अभ्यास गर्दै तत्कालीन नेकपा (माओवादी) ले दुई दशकअघि देशमा सशस्त्र युद्ध थाल्यो। ११ वर्षमै देशले ठूलो धनजनको क्षति बेहोर्नुपरेपछि २०६३ सालमा माओवादी पनि शान्ति स्थापनातिरै लम्कियो। युद्ध रोकियो र शान्तिपूर्ण रूपमै संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गर्दै राज्यको पुनर्संरचना भएर अहिले देश स्थानीय तहको सरकार गठन चरणमा आइपुगेको छ।

 सशस्त्र युद्धमा बन्दुक बोकेर राजनीतिक ‘करिअर' सुरु गरेका त्यतिबेलाका बालबालिका र युवा अहिले शान्तिपूर्ण बाटोबाटै जनताको नेतृत्व लिन खोज्दैछन्। अनि, बन्दुकको नाल बिर्सेर ब्यालेटको मैदानमा उत्रिँदैछन्। दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा अन्य दलसँग जनताको मतका आधारमा ‘प्रिय' बन्न खोज्दैछन्। स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार हुनेहरूको विगतले यसलाई पुष्टि छ।

 असार १४ मा हुने स्थानीय तह निर्वाचनमा माओवादीबाट उम्मेदवारी दिने निश्चित भइसकेका नाममध्ये अधिकांश पूर्वलडाकु छन्। वडा सदस्य, वडाध्यक्षमात्र होइन, नगरपालिका प्रमुख (मेयर), उपप्रमुख (उपमेयर) र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षमै भिड्दै गरेका उम्मेदवार पूर्वलडाकु छन्।

 जिल्लाका चारमध्ये तीन नगरपालिकाका प्रमुख–उपप्रमुख तथा दुई गाउँपालिकाका अध्यक्षका उम्मेदवार पूर्वलडाकु हुन्। सदरमुकामसमेत रहेको इलाम नगरपालिका मेयर पदका लागि माओवादीले छविलाल आचार्य (प्रभास) लाई उम्मेदवार बनाउँदैछ। उनले करिब सात महिना ‘जनमुक्ति सेना' को ‘भाइस कमान्डर' का रूपमा काम गरेका थिए। ‘म जनमुक्ति सेनाको भाइस कमान्डरकै रूपमा इलाम, घन्टेलगायत विभिन्न स्थानका भिडन्तमा सहभागी थिएँ,' उनले भने, ‘पछि मलाई पार्टीको फौजी लाइनबाट संगठनमा ल्याइएको हो।' इलामकै माई नगरपालिका (साविक दानाबारी–२) मा जन्मिएका आचार्य दानाबारीस्थित कन्काई माविबाट प्रवेशिका पास गरेपछि झापाको मेची क्याम्पसमा पढ्दापढ्दै माओवादीको भूमिगत राजनीतिमा होमिएका थिए।

 ‘पार्टीमा प्रवेश गर्दा विद्यार्थी संगठनको सदस्य थिएँ। घर–परिवार, नातागोता सबै एकातिर राखेर जनताको काममा खटिएकाले राजनीतिक कार्यकर्ताकै रूपमा पहिचान बनाउँछुु,' उनले भने। २०५८ सालपछि माओवादीको झापा जिल्ला सदस्य, भद्रपुर नगरपालिकाको पार्टी इन्चार्ज, इलामको पूर्वी क्षेत्र इन्चार्ज हुँदै उनी करिब सात वर्षयता माओवादीको इलाम नगरपालिका इन्चार्ज छन्। उनी माओवादीको केन्द्रीय सम्मेलन आयोजक समिति सदस्यसमेत हुन्।

 जिल्लाको सूर्याेदय नगरपालिकाको प्रमुखको उम्मेदवार छविराज राई पनि पूर्वलडाकु नै हुन्। सूर्याेदय नपा–१, जोगमाईमा जन्मेका राई २०५७ सालदेखि माओवादी राजनीतिमा विद्यार्थीका रूपमा प्रवेश गरे। प्रमाणपत्र तहसम्मको अध्ययन गरेका उनी २०५८ सालपछि माओवादी सेनाको मिलिसिया र प्लाटुन कमान्डर थिए। त्यसपछि उनी योङ कम्युनिस्ट लिगको दुई वर्षसम्म जिल्ला अध्यक्ष भए। माओवादीको जिल्ला सदस्य, सचिव हुँदै अहिले उनी जिल्ला सहसंयोजक छन्। ‘राजतन्त्र फालेर गणतन्त्र ल्याउन जनमुक्ति सेनामै लाग्नुको विकल्प छैन भन्ने बुझेर पार्टी प्रवेश गरेको थिएँ,' उनले भने, ‘म पार्टी संगठनमा आएपछि गणतन्त्र स्थापना भयो, यसलाई स्थापित गर्न पनि अहिले आफूलाई अनुभवी उम्मेदवार सम्झन्छु।' उनले आफू अब राजनीतिक कार्यकर्ताकै हैसियतमा आइसकेकाले नागरिकसँग भिजेर काम गर्न सजिलो भएको बताए।

 माओवादीबाट सूर्याेदय नपाकै उपप्रमुखको उम्मेदवार बन्दै गरेकी टीका घिमिरे (राई) बाल्यकालमै माओवादी सेनामा प्रवेश गरिन्। जिल्लाकै नयाँबजारस्थित अमरकल्याण माध्यमिक विद्यालयमा १० कक्षामा पढ्दापढ्दै उनी ‘होटटाइमर' मिलिसियाका रूपमा माओवादीमा प्रवेश गरेकी थिइन्।

‘म उपमेयरमा विजयी भएँ भने जनजाति समुदायका महिला र खेतीकिसानी गर्ने किसानका लागि काम गर्ने योजनामा छु,' उनले सुनाइन्।

 जिल्लाको पश्चिमी देउमाई नगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिन लागेका रामकुमार राई दुवै खुट्टामा गोलीको छर्रा बोकेर हिँडिरहेका छन्। सशस्त्र द्वन्द्वका बेला इलामकै जितपुर गाउँमा तत्कालीन शाही नेपाली सेनासँग ‘मुठभेड' हुँदा उनको खुट्टामा गोली लागेको हो। ‘त्यतिबेला उपचार हुन सकेन। डाक्टरले अहिले गोली झिक्दा प्यारालाइसिस हुने सम्भावना रहेको सुझाव दिएकाले शरीरमै गोली बोकेर हिँड्नुपरेको छ,' उनले भने। लडाकुका रूपमा उनले २०६२ सालपछि काम गरेका हुन्। ‘सुरुमै मलाई सेनाको प्लाटुन कमान्डरका रूपमा लगिएको थियो,' उनले भने, ‘तर, ६ महिनापछि संगठनकै काममा आएको हुँ।'

राई सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्रमाणपत्र तह पढ्दापढ्दै होलटाइमरकै रूपमा माओवादी प्रवेश गरेका हुन्। २०५८ सालमा उनलाई जिल्लाकै बाँझो गाउँका बासिन्दाले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए। त्यसपछि उनी करिब तीन वर्ष जेल बसे। पार्टीको जिल्ला सदस्य, सचिवालय सदस्य, राज्य समिति सदस्य हुँदै उनी जिल्ला सेक्रेटरी भए। उनी अहिले माओवादी केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य छन्। ‘सेनाका रूपमा केही समय काम गरे पनि मैले धेरै समय राजनीतिक कार्यकर्ताकै रूपमा बिताएको छु,' उनले भने, ‘विगतको अनुभवले समाज सुधारको काम गर्ने धेरै ज्ञान सिकाएको छ।'

 देउमाई नगरपालिकाकै उपप्रमुखका रूपमा उम्मेदवारी दिँदै गरेकी शान्ता बस्नेत (सर्कल) पनि माओवादी पूर्वलडाकु नै हुन्। देउमाई नगरपालिका–१ चमैतामा जन्मिएकी शान्ता एसएलसीपछि २०५९ सालमा माओवादी सेनामा प्रवेश गरेकी थिइन्। उनले माओवादीको मिलिसिया हुँदै ‘१९औं बटालियन' को प्लाटुन कमान्डरसम्म भएर तीन वर्ष बिताएकी छिन्। ‘त्यसपछि पार्टी संगठनमा आएर पार्टीको एरिया सेक्रेटरी, जिल्ला सदस्य हुँदै अहिले माओवादी केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य छु,' उनले भनिन्, ‘पार्टी कार्यकर्ताका रूपमा काम गरेको पनि निकै वर्ष भइसकेकाले जनताको सेवा गर्ने तरिका धेरै थाहा भयो।' 

 माओवादीबाटै जिल्लाको फाकफोकथुम गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न लागेका राजकुमार थापाले माओवादी सेनाको बटालियनसम्म भएर काम गरे। फाकफोकथुम–७, एकतप्पामा जन्मिएका थापा २०५९ सालमा होलटाइमरका रूपमा सुरुमै माओवाली मिलिसियामा लागेका हुन्। कक्षा १२ सम्म अध्ययन गरेका उनी बटालियन कमान्डरसम्म भए। उनी वाइसिएल निर्माण हुँदा जिल्ला सचिवालय सदस्य भए।

 त्यसपछि माओवादीको जिल्ला सदस्य, राज्य समिति सदस्य हुँदै उनी अहिले केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य छन्। ‘सेना र राजनीतिकर्मी दुवैतिरको अनुभवले जनतासँग भिज्ने, उनीहरूका समस्या नजिकैबाट बु‰ने अवसर पाएको छु,' उनले भने, ‘अहिलेको राजनीतिक उपलब्धि संस्थागत गर्न अब योगदान गर्नुपर्छ भन्ने लागेर गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिन खोजेको हुँ।'

 जिल्लाको रोङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवारी दिँदै गरेका नवराज कट्टेल विद्यार्थी राजनीतिबाट माओवादी सैनिक हुँदै पत्रकारितामा प्रवेश गरे। रोङ गाउँपालिका–३, कोल्बुङमा जन्मिएका उनी २०५८ सालमा माओवादीको विद्यार्थी संगठनमा प्रवेश गरेका हुन्। ०५९ सालमा उनले करिब तीन महिना माओवादीको ‘देउमाई गर्जन' मुखपत्रमा काम गरे। त्यसपछि माओवादीको सेनाको प्रकाशन विभागमा काम गर्दै विभिन्न भिडन्तहरूमा समेत सहभागी भएर उनी २०६१ सालमा प्लाटुन कमान्डर भए।

 ‘इलाम दानाबारी, सुरुंगा, धनकुटालगायतमा भएका भिडन्तको लडाकुका रूपमा प्रत्यक्ष अनुभव गर्न पाइएको थियो,' उनले भने, ‘ प्रचार विभागचाहिँ मेरो जिम्मामा थियो।' समाजशास्त्रमा स्नातकोत्तर उनी शान्तिप्रक्रिया सुरु भएपछि विराटनगर गए। स्थानीय जनविद्रोह दैनिकको सम्पादक हुँदै नेपाल पत्रकार महासंघ मोरङ शाखाको एक कार्यकाल कोषाध्यक्ष र सचिवसमेत भए उनी। ‘अब राजनीति दलकै कार्यकर्ताका रूपमा नागरिकको सेवा गर्ने सोचेर गाउँ फर्किएको छु,' उनले भने, ‘देशलाई हामीजस्तै युवा नेतृत्वको खाँचो छ।'

 जिल्लास्थित माओवादी केन्द्रले जिल्लाका अन्य वडामा पनि माओवादी पूर्वलडाकु धेरै संख्यामा उम्मेदवार भएको तर सबैको तथ्यांक यकिन नभएको जानकारी दिएको छ। केन्द्रका जिल्ला इन्चार्ज धीरेन शर्मा रमणले आफ्नो पार्टीले विगतमा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरूलाई पार्टीले स्थानीय तहका उम्मेदवार बनाएको बताए। ‘हामीले सकेसम्म योग्य र धेरै क्षेत्रमा अनुभव भएका व्यक्तिलाई उम्मेदवार बनाएका छौं,' उनले भने, ‘धेरै ठाउँमा पूर्वलडाकुहरू पनि प्रमुख पदमा उम्मेदवारी दिँदैछन्।'

प्रकाशित: २२ जेष्ठ २०७४ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App