coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वीरगन्जमा चुनावी सरगर्मी, को को बन्लान् उम्मेदवार ?

 वीरगन्ज- बढ्दो गर्मीसंगै वीरगन्जमा चुनावी सरगर्मी पनि बढेको छ। गत मधेस आन्दोलनको केन्द्र बनेको वीरगन्ज आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनको तयारीमा जुटीसकेको छ । दलहरुले उम्मेदवार घोषणाको अन्तिम तयारीमा रहेके बेला मतदाताले समेत यस चुनावमा आफ्नो चासो बढाएका छन्। आकाँक्षीहरुको संख्या बढी भएकोले दलहरुले उम्मेदवारहरुको नाम घोषणामा ढिलाई गर्दा चुनाव केन्द्रीत औपचारिक कार्यक्रमहरु भने गरिएका छैनन्।

                ‘वीरगन्ज धेरै दृष्टिकोणले महत्वपुर्ण छदैछ, तर कुरा यहाँको मात्र होइन पर्सा काँग्रेसभित्र जिल्लाका ११ गाउँपालिका, एउटा पोखरिया नगरपालिका र यो वीरगन्ज उपमाहानगरपालिकाको हकमा उम्मेदवार छान्न भइरहेको गृहकार्य अन्तिम चरणमा छ,’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले भने, ‘सम्बन्धीत गाउँपालिका, नगरपालिका र उपमाहानगरपालिकाको इकाई समितिले सर्वसम्मत निर्णय गरेर नाम दिने, त्यहाँ बिवाद भए क्षेत्रीय समितिले निर्णय गर्ने र क्षेत्रले नसके जिल्ला समितिले उम्मेदवार टुँग्याउने नीति छ ।’ बिभिन्न दलहरुले स्थानीय निर्वाचनको लागि रणनीतिक महत्वको ठाउँको रुपमा लिएको वीरगन्जको मेयरमा पार्टीका जिल्ला सभापति अजयकुमार द्विवेदीले चुनाव लड्नु पर्ने कार्यकर्ताहरुको दबाव रहेको उनले बताए।

                ‘जिल्ला सभापति द्विवेदीले म चुनाव लड्छुँ भन्ने भनिसक्नु भएके छैन्, कार्यकर्ताहरुको चाँही निकै दबाव छ,’ चौरसियाले भने, ‘अरु आँकाक्षीले पनि पार्टी सभापति द्विवेदी अघि सरे समर्थन रह्ने जनाई सकेका छन् ।’ कार्यकर्ताहरुबाट दबाव आइरहेको द्विवेदीले पनि स्विकारे । ‘दबाव दिने कार्यकर्तालाई मैले भनेको छु कोही टिकट पाओस काँग्रेस जित्नु पर्छ,’ द्विवेदीले भने, ‘मैले आफै लड्नु पर्छ भन्ने सोंचेको छैन् ।’ उनले यसरी भनि हर्दा काँग्रेसका कार्यकर्ताहरुले द्विवेदीलाई उम्मेदवार बताउन थालिसकेका छन् । उता केन्द्रीय नेतृत्व तहले पनि द्विवेदीलाई उम्मेदवार बनाउन चारिहेको पार्टी स्रोतको दावी।

                यता नेकपा एमालेका पार्टीभित्र जिल्ला तहबाट उम्मेदवारको रुपमा सिफारिस भएकामध्ये एमालेको भातृ संस्था राष्ट्रिय मधेसी संगठनका पर्सा अध्यक्ष सुन्दर कुर्मीले सूर्य छापको लागि भोट माग्दै घरदैलो थालिसकेका छन् । ‘यहाँबाट नेता चिरिञ्जिवी आचार्य, सुन्दर कुर्मी र मनोज चौधरीको नाम मेयरको उम्मेदवारको लागि प्रदेश समितिमा सिफारिस भएको छ,’ एमालेका पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साहले भने, ‘निर्णय चाँही भइसकेको छैन्।’ सिफारिस भएकाहरु बाहेकको नाम पनि आउन सक्ने उनले बताए। अहिले बसरुद्दीन अन्सारीको नाम पनि एमालेबाट मेयरको उम्मेदवारको रुपमा चर्चामा रहेको छ । अन्सारी गत संबिधानसभा निर्वाचनमा तत्कालीन एकीकृत मओवादीबाट पर्सा क्षेत्र नम्बर २ बाट प्रत्यासी थिए ।

                माओवादी केन्द्रले भने नेतृ उर्मिला अर्याललाई चुनावको लागि पर्साको जिम्मेवारी दिएको नेता पिएल श्रेष्ठले बताए । ‘जिल्लामा कुनै पनि ठाउँको उम्मेदवारको नाम टुँगो लागिसकेको छैन्,’ श्रेष्ठले भने, ‘केही दिनभित्र सबै ठाउँको उम्मेदवारहरुको नाम आइसक्ने छ।’ नेतृ अर्यालले आफुहरु उम्मेदवार तय गर्न गृहकार्यमा लागेको बताइन् ।

मधेसवादीका उम्मेदवार

                संघीय समाजवादी फोरम नेपालबाट उद्योगपति विजय सरावगी मेयरको रुपमा अगाडी सारिएको पार्टीका कार्यकर्ताहरुले बताएका छन् । चुनावमा जाने निर्णयसंगै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाआबद्ध अरु दलहरुबाट मतभेदमा परेको उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले पहिलो चरणको निर्वाचनमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट तालमेल गरे पनि दोस्रो चरणमा पर्सामा भने उसको एक्लो तयारी मात्र देखिएको छ।  पछिल्लो समयमा जिल्लामा पार्टी प्रवेसको लहर चलाएर बिभिन्न पार्टीका नेता–कार्यकर्ताहरु र चिनिएका स्वतन्त्र ब्यक्तिहरुलाई पार्टीभित्र ल्याएर यसपालीको चुनावमा यहाँ मजबुत रुपमा आफुहलाई उभ्याउन चाहेका छ । यसैक्रममा गत चैत ६ मा पोखरियामा बिशाल सभाबीच पार्टी प्रवेस गराईएका सरावगी अहिले वीरगन्जको मेयरको रुपमा फोरम नेपालबाट अघि सारिदै छन् ।

पार्टीका जिल्ला सदस्य आजाद हुसैनले वीरगन्ज नगरको मत, अवस्था र कार्यकर्ताहरुको चाहना अनुसार सरावगी मेयरको उम्मेदवार बन्न लागेको बताए । ‘पार्टीले दिएको कुनै पनि जिम्मेवारी निर्वाह गर्नु मेरो कर्तब्य हो,’ सरावगीले भने, ‘पार्टीबाट आधिकारिक निर्णय आएपछि मात्र मैले मेयरको उम्मेदवार हुँ भन्न पाउछुँ ।’ सरावगीलाई फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले भरपुर साँथ र समर्थन दिएपछि उनी मेयरको लागि बलियो दावेदार भएका थिए ।

                पहिलो चरणको चुनावमा फोरमले सहभागिता जनाएदेखी आलोचनामा उत्रिएको राष्ट्रिय जनता पार्टी (राजपा) को उम्मेदवार को हुने भन्नेमा वीरगन्जको चुनावको वास्तविक प्रतिस्पर्धा तय हुने देखिएको छ। राजपाबाट पूर्व मेयर बिमल श्रीवास्तवको नाम सबभन्दा बढी चर्चामा छ । पञ्चायति ब्यवस्था, प्रजातान्त्र काल र तत्कालीन राजा ज्ञानेन्द्रको शाही शासन ब्यवस्थामा पनि वीरगन्जको मेयर बनिसकेका पुराना नेता श्रीवास्तव तराई मधेश लोकतान्त्रि पार्टीसंगै राजपामा गएका हुन । राजपामा आबद्ध अरु नेताहरु भने उनको नाममा समर्थन जनाई सकेका छैनन् ।

राजपाबाट भने राजेशमान सिंह, सांसद रमेश कुर्मी, अधिवक्ता सुरेन्द्र कुर्मी र नेता पुरुषोत्तमलाल झाको नाम पनि चर्चामा छ। यता राजपा नेताहरु भने अझै चुनावमा नगएको बताउदै आएका छन् । ‘संविधान संसोधन नगरिकन हुने यथास्थितीको चुनावमा नजाने हाम्रो अहिलेसम्मको निर्णय हो, चुनावी कार्यक्रमहरुको बहिस्कार गर्ने र बिथोल्ने मनसायमा कार्यकर्ता छन्,’ नेता निजामोद्दीन समानीले भने, ‘चुनावमा गए पो उम्मेदवार को कुरा हुन्छ।’

प्रकाशित: १७ जेष्ठ २०७४ ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App