coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दोस्रो चरणमा एमालेले तालमेल नगर्ने

काठमाडौं- एमालेले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा केन्द्रीय स्तरबाट कुनै पार्टीसँग पनि तालमेल नगर्ने भएको छ। पहिलो चरणको तालमेलले प्रभावकारी परिणाम दिन नसकेको निष्कर्ष निकाल्दै एमालेले यस्तो निर्णय गरेको हो।

'पहिलो चरणमा गठबन्धन प्रभावकारी हुन सकेन। दोस्रो चरणमा पनि संगठन र मुद्दाको बलमा लड्ने हो। आमरुपमा एक्लै लड्छौं।'

प्रदीप ज्ञवाली, एमाले नेता

नेपाली कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुने भन्दै एमालेले आफ्नो संगठन र कार्यक्रमको आधारमा जित्न सकिने निष्कर्ष निकालेको हो। 'पहिलो चरणमा गठबन्धन प्रभावकारी हुन सकेन। त्यसको विभिन्न कारण होलान्, समीक्षा हुन्छ,' एमाले नेता प्रदीप ज्ञवालीले भने, 'दोस्रो चरणमा पनि संगठन र मुद्दाको बलमा लड्ने हो। आमरुपमा एक्लै लड्छौं।'

उनले स्थानीय आवश्यकताको आधारमा चुनावी गठबन्धन नकार्न नसकिने बताए। पहिलो चरणका चुनावमा लमजुङ र बाग्लुङमा मात्रै गठबन्धन प्रभावकारी देखिएको उनको विश्लेषण छ। लमजुङमा माओवादी र बाग्लुङमा राष्ट्रिय जनमोर्चासँग एमालेको गठबन्धन थियो।

'जनताले सैद्धान्तिक अप्राकृतिक गठबन्धनलाई त्यति मन पराएको चुनावमा देखिएको छैन,' शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले भने, 'त्यसैले माओवादीले पनि कोसँग गठबन्धन गर्ने हो भनेर सोच्ने बेला आएको छ।'

यसअघि एमालेले केन्द्रीय स्तरबाटै काठमाडौं र ललितपुर महानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गरेको थियो।

एमाले दोस्रो चरणको स्थानीय चुनावमा पहिलो दल बन्ने रणनीतिका साथ चुनावमा उत्रिने भएको छ। प्रदेश नम्बर एक र पाँचमा राम्रो परिणाम आउने अपेक्षा लिएको एमालेले सात नम्बर प्रदेशमा कांग्रेससँग कडा प्रतिस्पर्धा हुने र प्रदेश नम्बर दुई मा त्रिपक्षीय प्रतिस्पर्धाको अपेक्षा लिएको छ।

'मधेसवादी दलले गठबन्धन गरे भने मात्रै त्रिपक्षीय प्रतिस्पर्धा हुन्छ,' सचिव ज्ञवालीले भने, 'केही स्थानमा छाडेर कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने हो।'

उनले मधेसवादी दलसँग सम्बन्ध समान्य बनाउने र गठबन्धनका लागि समेत स्थानीय स्तरमै छलफल भइरहेको बताए। पहिलो चरणमा प्रदेश नम्बर तीन, चार र छका २ सय ८३ स्थानीय तहमध्ये १ सय २४ तहको प्रमुख जित्दै एमाले पहिलो दल बनेको छ। दोस्रो रहेको कांग्रेसले १ सय ४ स्थानमा प्रमुख जितेको छ।

प्रदेश नम्बर एक, दुई, पाँच र सातका ४१ जिल्लामा दोस्रो चरणमा चुनाव हुँदैछ। दोस्रो चरणमा ४ सय ६१ स्थानीय तहका लागि चुनाव हुँदैछ।

आन्दोलनमा रहेका मधेसवादीले आफ्ना माग पूरा गराउन एमालेलाई सबैभन्दा ठूलो अवरोधकको रुपमा लिने गरेका छन्। एमालेले दक्षिणी सीमासँग जोडिएको क्षेत्रमा सुरक्षाको बारेमा चिन्ता व्यक्त गरेको छ। 'पहिलेदेखि त्यस क्षेत्रमा मनी (पैसा) र मसल (बल) धेरै प्रयोग हुने थियो। यसपटक पनि जनताको मतको सुरक्षा कसरी हुन्छ भन्ने चिन्ता छ,' ज्ञवालीले भने, 'सरकार र निर्वाचन आयोगलाई हामीले यस विषयमा ध्यानाकर्षण गरासकेका छौं।'

प्रदेश नम्बर ७ को उम्मेदवारीको टुंगो लगाएको एमालेले प्रदेश नम्बर ५ का चार उपमहानगरपालिकासहित स्थानीय तहको उम्मेदवार चयनसमेत गरिसकेको छ। उम्मेदवार छनोटका लागि प्रदेश नम्बर २ कमिटीको बैठक महोत्तरीको बर्दिबासमा जारी छ।

प्रकाशित: १६ जेष्ठ २०७४ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App