coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चुनाव सार्ने सरकारको निर्णय सकारात्मक : राजपा

काठमाडौं- चुनाव सार्ने सरकारी निर्णयलाई राजपाले सकारात्मक प्रतिक्रिया दिएको छ। राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले चुनाव सार्ने सरकारी निर्णय सकारात्मक भएको बताए। उनले भने, 'चुनाव मिति सार्ने सरकारको निर्णय सकारात्मक छ। यो निर्णयसँगसँगै संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धिको माग पनि सम्बोधन भएमा हामी चुनावमा जाने बाटो खुल्छ,' झाले भने। चुनाव सार्ने निर्णयपछि राजपाले यसअघि घोषणा गरेको आन्दोलनका कार्यक्रम पुनरावलोकन हुने या स्थगित हुन सक्ने  उनले बताए। 'अब आन्दोलनका कार्यक्रम पुनरावलोकन हुन सक्छ या स्थगित पनि हुन सक्छ', झाले भने।

राजपाका दोस्रो तहका नेता मनीष सुमनले भने सरकारी निर्णय राजपाका लागि हर्ष न बिस्मात् भएको प्रतिक्रिया दिए। 'हाम्रो माग संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको वृद्धि गर्नुपर्छ भन्ने हो। यो माग  पूरा नभएसम्म चुनाव मिति सार्नु न हर्ष न बिस्मात हो,' उनले भने। सरकारले चुनाव मिति सार्नुमा राजपाको आन्दोलनको मनोवैज्ञानिक जित भएको पनि उनले बताए। 'राजपालाई नल्याएर मधेसमा चुनाव हुन सक्दैन भन्ने सरकारले अब बुझेको देखियो। यो हाम्रा लागि मनोवैज्ञानिक विजयी हो,' उनले भने।

राजपाका अर्का एक नेताले भने चुनाव मिति यसरी सर्दै गएमा मंसिरसम्म पनि पुग्ने सक्ने बताए। 'दुईपटक मिति सरिसकेको छ। यसैगरी सरिरहे मंसिरसम्म पनि पुग्न सक्छ,' ती नेताले भने।

प्रमुख तीन दल र राजपाका नेताहरूबीच आइतबार भएको छलफलपछि सरकारले दोस्रो चरणको चुनाव असार ९ गते सार्ने निर्णय गरेको हो। यसबारे पार्टीको औपचारिक धारणा बनाउन राजपाका अध्यक्ष मण्डलको बैठक मंगलबार बस्ने भएको छ। बैठकले आन्दोलनका कार्यक्रम पुनरावलोकन गर्ने सम्भावना रहेको राजपाका नेता झाले बताए।

राजपालाई चुनावमा ल्याउन सरकारले यसअघि पनि दुई चरणमा चुनाव गर्ने निर्णय गरेको थियो। दोस्रो चरणको चुनावमा पनि राजपाले नआउने जनाएपछि सरकारले मिति पनि सार्ने निर्णय गरेको हो। राजपाले चुनावअघि संविधान संशोधन हुनुपर्ने, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढ्नुपर्ने, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गरी परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, राजपा पाटी दर्ता हुनुपर्ने, पार्टीले चुनाव चिह्न पाउनुपर्नेलगायतका माग राखेको छ।

प्रकाशित: १६ जेष्ठ २०७४ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App