coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमा नै हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरेका छन्। 

व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफू र आफ्नो पार्टीलाई मात्र केन्द्रमा राखेको–हेरेको भए सबैलाई जोडेर स्थानीय तहको निर्वाचनमा जान सकिँदैन थियो भन्दै देशको आवश्यकता र संविधान कार्यान्वयनका लागि आफूले यस्तो कदम चालेको स्पष्ट पारे। 

केही सांसदले सरकार र नीति तथा कार्यक्रम कामचलाउ भनेको प्रति जवाफ दिँदै भने, “यो नीति कामचलाउ होइन र छलफल पनि काम चलाउ होइन, अझ परिमार्जन गर्न छलफल हो । यो सरकार बहुमत गुमाएको वा अविश्वास दर्ता भएको होइन न त जनताको विरोध भएर राजीनामा गरी कामचलाउ भएको हो । सबै राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउन गरिएको महत्वपूर्ण कदम हो ।” 

उनले भने, “मेरो जोड स्थानीयपछि प्रदेश र सङ्घको निर्वाचनसमेत सम्पन्न गरी सङ्क्रमणकाल अन्त्य गर्नेमा छ ।” भारतसँगको छलफलपछि हुलाकी राजमार्गको करिब ८०० किमी सडक जोडतोडका साथ निर्माण अघि बढेको जानकारी गराउँदै उनले चीनसँगका सम्झौता पनि अघि बढेका छन् भने । 

प्रतिपक्षीलाई आफूले सदैव विश्वासमा लिने क्रमलाई निरन्तरता दिँदै आएको अवगत गराउँदै प्रधानमन्त्री दाहालले भने, “म निरन्तर प्रतिपक्षीलगायतसँग संवादमा छु ।” सरकारले थालेको महत्वपूर्ण अभियानअन्तर्गत विद्युत्भार कटौती अन्त्य र आर्थिक वृद्धिदर बढेको उल्लेख गरे। 

परराष्ट्र नीति आवेगबाट होइन विवेकबाट हुनुपर्छ भन्ने कुरा आफूले व्यवहारमा कार्यान्वयन गरेको प्रधानमन्त्री दाहालले स्पष्ट पारे । प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा छुटेका केही विषयलाई बजेटले समेट्ने आश्वासन पनि दिए । रासस 

प्रकाशित: १४ जेष्ठ २०७४ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App