coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

चुनाव धाँधली छानबिन गर्न समिति

काठमाडौं- स्थानीय तहको निर्वाचनमा भएको धाँधली छानबिन गर्न पाँच सदस्यीय संसदीय समिति गठन भएको छ। प्रमुख प्रतिपक्षी एमालेले निर्वाचनमा धाँधली भएको भन्दै संसदीय समिति गठन माग गरेपछि शनिबार बसेकोसंसद् बैठकले समिति गठन गरेको हो।

माओवादी केन्द्रका प्रमुख सचेतक टेकहादुर बस्नेतको प्रस्ताव कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठ र एमाले प्रमुख सचेतक भानुभक्त ढकालले समर्थनमा समिति गठन गरिएको छ। समितिमा कांग्रेसका अर्जुनप्रसाद जोशी, एमालेका राजेन्द्रप्रसाद पाण्डे, माओवादी केन्द्रका रामनारायण बिडारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भाष्कर भद्रा र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का सुबोधकुमार पोखरेल सदस्य छन्।

संसद् नियमावली, २०७३ को नियम १८३ अनुसार गठित समितिले तीन महिनाभित्र छानबिन गरी प्रतिवेदन पेस गर्नेछ। समितिले सभामुखको निर्देशनमा रही आफ्नो कार्यविधि बनाउन सक्नेछ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रम संसद् बैठकमा टेबुल गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेकी थिइन्। नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपति भण्डारीलाई संसद् बैठकले धन्यवाद प्रस्ताव पारित गरेको छ।

त्यसअघि प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको सिंहदबारमा बसेको बैठकले निर्वाचन धाँधली छानबिन समिति गठन गर्न, प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोगको प्रस्ताव फिर्ता गर्न र टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन सहमत भएका थिए। दलीय सहमतिपछि प्रमुख प्रतिपक्षी एमाले संसद्को बैठक चलाउनसहमत भएको थियो।

बैठकमा असन्तुष्ट पक्षका माग सम्बोधन गर्दै दोस्रो चरण निर्वाचन सुनिश्चित गर्न पनि दलीय सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 'दोस्रो चरणको स्थानीय निर्वाचन सुनिश्चित गराउन र सरकारको नीति तथा कार्यक्रम पारित गराउनलगायत विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति भएको छ,' बैठकपछि श्रेष्ठले भने।

प्रकाशित: १४ जेष्ठ २०७४ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App