६ वैशाख २०८१ बिहीबार
राजनीति

भरतपुरमा अझै ढुक्क छैन एमाले, कसले मार्ला बाजी ?

चितवन – कूल २९ वटा वडा र एक लाख १२ हजार ७४१ मत खसेको भरतपुर महानगरपालिकाको मत गणना अब उत्तरार्धमा पुगेको छ । २३ वटा वडाको मत गणना सकिएको छ । खसेको मध्ये ९३ हजार ५०४ मत गणना भइ सकेको छ । नतिजा घोषणा भएकोमध्ये १३ वटा वडामा एमालेका उम्मेद्वारहरु वडाध्यक्षमा विजयी भएका छन् । मेयरमा एमालेका उम्मेद्वार देवि ज्ञवालीको लगातार अग्रता कायमै छ ।

गणना भएकोमध्ये मेयर पदमा ज्ञवालीलाई ३६ हजार ६६७ मत आएको छ । उनी प्रतिस्पर्धी उम्मेद्वार माओवादी केन्द्रकी रेणु दाहालभन्दा एक हजार ८२० मतले अगाडि छन् । सत्तारुढ गठबन्धन काँग्रेस माओवादीको साझा उम्मेद्वार रहेकी दाहालको २३ वटा वार्डको मत गणना सकिदा कूल ३४ हजार ८४७ मत आएको छ । 

अहिलेसम्मको तथ्याङ्कले मेयरमा एमाले जित उन्मुख भएको देखिन्छ । तर अवस्था त्यस्तो पनि छैन । किन कि मत गणना हुन बाँकी रहेका वडाहरु एमालेका लागिभन्दा गठबन्धनका लागि अनुकुल मानिएका वडाहरु हुन् । ति वडामा गठबन्धनका लागि राम्रो मत आउने अनुमान लगाउन सहज छ तर एमाले साच्चिैकै कमजोर छ वा उसको मत पनि सन्तोषजनक छ गणना नसकिदासम्म भन्न मिल्ने अवस्था छैन ।

अब गन्न बाँकी रहेका वडाहरु १७, १८, १९, २०, २१ र २२ नम्बर वडाहरु हुन् । वडा नं. २१ बाहेक अरु वडाहरु चितवनको निर्वाचन क्षेत्र नम्बर चार अन्तर्गतका छन् । चार नम्बर क्षेत्रमा काँग्रेस बलियो मानिन्छ । वडा नं. २२ माओवादीका लागि अनुकुल वडा हो । बाँकी चारवटा वडाहरु तत्कालिन चित्रवन नगरपालिका अन्तर्गत रहेका वडाहरु हुन् । साविकको चित्रवन नगरपालिका नेपाली काँग्रेसको परम्परागत गढ मानिन्छ । भरतपुरको बजार क्षेत्रभन्दा बाहिर रेणुलाई काँग्रेस मतदाताको पनि राम्रै मत आइ रहेको छ । 

एमालेको डर यीनै वडाहरुमा छ । मंगलबारसम्मको मत गणनामा एमालेका उम्मेद्वार देवि ज्ञवाली रेणु दाहालभन्दा ३८ सय ३६ मतको फराकिलो अन्तरमा थिए । तर जब माओवादी र काँग्रेसको गढ मानिएका पाँचवटा वडाहरुमा मत गणना सुरु भयो मतान्तरमा निरञ्तर पहिरो जान थाल्यो । त्यो पहिरो सानोे थिएन कुल पाँचवटा वडामा २१ हजार ३५७ मत गनेर सकिदा ज्ञवालीको अग्रताबाट दुई हजार ६०१ मत गुम्यो ।

बिहीबारको मध्यरातपछि एमालेका लागि राहतको खबर आउन थालेको हो । त्यसपछि गणना भएका २४, १६ र २३ नम्बर वडाको मत गणनामा एमालेका उम्मेद्वारहरु लगातार वडाध्यमा विजयी मात्रै भएनन् मेयर पदमा ज्ञवाली र दाहाल बीचको मतान्तर पनि बढ्दै गयो । तर मतान्तर जति बढ्नु पर्ने हो त्योभन्दा कम बढेको अनुभव एमालेका नेताहरुको छ ।

२३ पछि वडा नम्बर १७ को मत गणना सुरु भएको छ । स्वभाविक छ यहाँबाट मतान्तर फेरि ओरालो लाग्न सुरु हुन्छ । एमालेका नेता केही वडामा मतान्तर ओरालो लाग्नु स्वभाविकै मान्छन तर बुधबार र बिहीबारको दिनजस्तो पहिरो नै पो जाने हो कि भन्ने त्रास पनि उनीहरुलाई छ ।

अहिलेसम्म गणना भएको मतमा एमाले उम्मेद्वार देवि ज्ञवालीलाई ३९ प्रतिशतभन्दा केही बढी मत आएको छ । गठबन्धनकी माओवादी उम्मेद्वार रेणु दाहाललाई ३७ प्रतिशतभन्दा केही बढी मत आएको छ । गन्न बाँकी वडाहरुमा रेणु दाहाललाई देवि ज्ञवालीलाई भन्दा धेरै मत आउने अनुमान सवैको छ । तर रेणुले जित्नका लागि उनको र ज्ञवाली बीचको मतअन्तरको प्रतिशत आठभन्दा माथि पुर्याउनै पर्ने हुन्छ ।

अर्थात अहिलेसम्म गणना भएको मत पाउनेमा ज्ञवाली रेणुभन्दा लगभग दुई प्रतिशतले अगाडी छन् । अब रेणुले उछिने पनि प्रतिशतको अन्तर आठभन्दा बढी भएन भने ज्ञवाली जित नजिक पुग्ने छन् । भरतपुरलाई महानगर बनाउन तत्कालिन भरतपुर उपमहानगरपालिकामा पश्चिम चितवनका नारायणी र चित्रवन नगरपालिका मिसाइएको थियो । चित्रवनका वासिन्दा महानगरमा नमिसिने अडानमा थिए । उनीहरुले आन्दोलनसेत गरे । अहिले सोही क्षेत्रका बासिन्दाले मत गनेर सकिदा महानगरको पहिलो मेयर घोषणा हुने भएको छ । 

भरतपुर महानगरको मेयरको विषयमा अहिलेसम्म यसै भन्न मिल्ने अवस्था नरहे पनि उपमेयर लगभग निश्चित जस्तै भएको छ । उपमेयरमा गठबन्धनबाट उम्मेद्वार रहेकी नेपाली काँग्रेसकी पार्वती शाह फराकिलो मतअन्तरले अगाडी छन् । उनको ३८ हजार ४७६ मत आएको छ । एमाले उम्मेद्वार दिब्य शर्मा आचार्यले ३३ हजार ३५३ मत ल्याएकी छन् । त्यसैले उपमेयरमा शाह लगभग पक्का जस्तै भएकी छन् ।

अहिलेसम्म नतिजा घोषणा भएकामध्ये २, ४, ५, ७, ९, १०, ११, १२, १६, २३, २४, २८ र २९ नम्बर वडामा एमालेका उम्मेद्वारहरु वडाध्यक्ष पदमा विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेद्वारहरु १, ३, ६, ८, १४, १५ र २७ नम्बर गरेर कुल सातवटा वडामा वडाध्यक्षमा विजयी भएका छन् । माओवादीका उम्मेद्वारहरु १३, २५ र २६ नम्बर वडामा वडाध्यक्षमा विजयी भएका छन् । 
    
    

प्रकाशित: १३ जेष्ठ २०७४ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App