८ वैशाख २०८१ शनिबार
राजनीति

भरतपुर मत गणना : एमालेका ज्ञवालीको १५ सय मतको अग्रता

चितवन – भरतपुर महानगरपालिकाको मत गणनामा मेयर पदका उम्मेद्वार एमालेका देवि ज्ञवाली र माओवादी केन्द्रका रेणु दाहालबीचको मत अन्तर बिहीबारसम्म लगातार घट्दै गएको अवस्थामा शुक्रबारबाट यो क्रम रोकिएको छ । बिहीबार मध्यरातमा घोषणा भएको वडा नं. २४ को अन्तिम नतिजा र अहिले वडा नं. १६ को आधाभन्दा कम मत गन्दा ज्ञवालीले मतान्तरमा केही सुधार गरेका छन् ।

पाँच हजार सात सय २३ मत खसेको वडा नं. १६ मा दुई हजार ५८८ मत गणना गर्दा एमालेका ज्ञवालीको कूल मत ३४ हजार २१० पुगेको छ । माओवादी उम्मेद्वार रेणु दाहालको ३२ हजार ७१३ मत आएको छ । ज्ञवाली दाहालभन्दा एक हजार ४९७ मतले अगाडि छन् । यसअघि वडा नं. २४ को गणना सकिदा उनी एक हजार ३९९ मतले अगाडि थिए ।

हिजो वडा नम्बर १५ को मत गणना सकिदा  मतान्तर एक हजार २३५ मा झरेको थियो । मंगलबारसम्म देवि ज्ञवाली रेणु दाहालभन्दा तीन हजार ८३६ मतले अगाडि थिए । तर बुधबारबाट मतान्तर लगातार घटेको घट्यै गर्यो । जुन आज केही सुधारको अवस्थामा छ । तर एमालेको राम्रो मत आउने वडाका मतगणना सकिएका कारण मतान्तरमा एमालेले अब उल्लेख्य सुधार गर्ने सम्भावना कम छ । 

भरतपुरमा सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल छ । मेयरमा काँग्रेसले माओवादी उम्मेद्वारलाई सघाएको छ । उपमेयरमा माओवादीले काँग्रेस उम्मेद्वारलाई सघाएको छ । उपमेयरमा काँग्रेसकी उम्मेद्वार पार्वती शाहको ३६ हजार ३०८ मत आएको छ । एमालेकी दिब्य शर्मा आचार्यको ३० हजार ९९९ मत आएको छ ।

काँग्रेस, एमाले र माओवादी बाहेक भरतपुरमा मेयर उपमेयरमा राप्रपाका उम्मेद्वारहरुको मत पनि ठिकै आएको छ । राप्रपाका मेयर उम्मेद्वार बद्री तिमिल्सिनाको मत पाँच हजार ७४ पुगेको छ । उपमेयर पदकी उम्मेद्वार रिना गुरुङको पाँच हजार ३७२ मत आएको छ । 
    
     

प्रकाशित: १२ जेष्ठ २०७४ ०५:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App