७ वैशाख २०८१ शुक्रबार
राजनीति

भरतपुर २५ मा माओवादीलाई सफलता, रेणुको मतान्तर झनै घट्यो

चितवन- भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रलाई तेस्रो सफलता प्राप्त भएको छ। बिहीबार बिहान घोषणा भएको महानगपालिकाको वडा नं. २५ को अन्तिम मत परिणामअनुसार माओवादीका उम्मेद्वार विजय भुजेल ११ सय मत ल्याएर वडाध्यक्षमा विजयी भए। उनका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेद्वारको एक हजार ४४ मत आयो। मेयर पदमा देवी ज्ञवाली र रेणु दाहालबीचको मतान्तर घट्ने क्रम जारी नै रहयो।

वडा नं. २५ सम्मको मत गणना सकिदा मेयर पदमा नेकपा (एमाले)का उम्मेद्वार देवी ज्ञवालीले ३० हजार ६ सय ८२ मत ल्याएका छन्। सत्तारुढ गठबन्धनबाट मेयर पदमा उम्मेद्वार रहेकी माओवादीकी रेणु दाहाललाई २८ हजार ९ सय ३३ मत प्राप्त भएको छ। मेयर पदमा ज्ञवाली र दाहालबीच एक हजार ७ सय ४९ मतको अन्तर छ।

यसअघिको १४ नम्बर वडासम्मको मत गणना सकिदा मतान्तर एक हजार ९ सय ६१ थियो। मंगलबारसम्म देवी ज्ञवाली माओवादी उम्मेद्वार रेणु दाहालभन्दा तीन हजार ८ सय ३६ मतले अगाडी थिए। बुधबारबाट मतान्तर निरञ्तर ओरालो लागेको छ। भरतपुरमा अब वडा नं. १५ को मत गणना सुरु हुने छ। सो वडामा मंगलपुर, फूलबारी, श्रीपुर जस्ता कांग्रेसको अत्याधिक मतदाताको बसोबास भएका गाउँहरु छन्।

त्यसैले वडा नं. १५ को गणनापछि पनि मतान्तर झनै घट्ने सम्भावना छ। २९ वटा वडाहरु रहेको भरतपुरमा अब १० वटा वडाहरुको मत गणना बाँकी छ। एमालेको राम्रो मतआधार भएका वडाहरुको गणना सकिएका कारण सो पार्टीका उम्मेद्वारहरुको पक्षमा अब उल्लेख्य मत आउने सम्भावना छैन। तर गन्न बाँकी केही वडाहरुमा एमाले प्रतिस्पर्धामा आउन सक्ने र केहीमा जित्ने नै अवस्था रहेको नेताहरुले बनाएका छन्। जसका कारण मेयरमा देवि ज्ञवालीले गठबन्धन उम्मेद्वार दाहाललाई पराजित गर्ने एमालेको आशा कायमै छ।

भरतपुरमा १९ वटा वडाको मत गणना सकिएको छ। जसमा एमाले १०, काँग्रेस छ र माओवादी तीनवटा वडामा वडाध्यक्षमा विजयी भएको छ। पश्चिम चितवन तर्फ गएपछि मेयर उपमेयर पदमा राप्रपाका उम्मेद्वारहरुले पनि मत ल्याउने क्रम बढेको छ। भरतपुर महनागरपालिकामा अहिलेसम्म मेयरमा राप्रपाका उम्मेद्वार बद्री तिमिल्सिनाको चार हजार ४८१ र उपमेयरमा रिना गुरुङको चार हजार ७१३ मत आएको छ।

प्रकाशित: ११ जेष्ठ २०७४ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App