८ वैशाख २०८१ शनिबार
राजनीति

जुगल गाउँपालिकाको पहिलो बैठक, मृगौला पीडितलाई १ लाख आर्थिक सहायता

सिन्धुपाल्चोक- नवनिर्वाचित जुगल गाउँपालिकाका जनप्रतिनिधिको पहिलो बैठकले मृगौला पीडितलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ।

                पदभार ग्रहण गर्दै चनौटेस्थित गाउँपालिका केन्द्रमा बसेको बैठकले स्थानीय मृगौला पीडित निरबहादुर बिकलाई १ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो । बिक लामो समयदेखि मृगौला रोगी छन् । उनको दुबै मृगौलाले काम गर्दैनन् । मृगौला प्रत्यारोपण प्रक्रिया अघि बढे पनि बिपन्न दलित परिवारका उनी आर्थिक अभावमा रोकिएका थिए ।

                ‘निर्वाचित सबै जनप्रतिनिधिबाट व्यक्तिगत रुपमा चन्दा संकलन गरेर एकमुष्ट रकम हस्तान्तरण गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय जानकारी दिँदै नवनिर्वाचित अध्यक्ष होमनारायण श्रेष्ठले नागरिकसँग भने । निर्णयअनुसार अध्यक्षले १० हजार, उपाध्यक्षले पाँच हजार र सबै सदस्यले २ हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराइने उनले जानकारी दिए ।

                उक्त गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्य गरी ३७ जनप्रतिनिधि चुनिएका छन्। आर्थिक सहायता तत्काल पीडितलाई उपलब्ध गराएर उपचारमा सघाउने श्रेष्ठले बताए । उनका अनुसार बैठकले व्यक्तिगत पहलमा घर बनाएका पीडितलाई दोस्रो किस्ता उपलब्ध गराउन पहल थाल्ने अर्को निर्णय गरेको छ ।

                ‘ब्यक्तिगत पहलमा गाउँमा धेरै घर बनेका छन् तर प्राविधिक जाँच नहुँदा पीडित दोस्रो किस्ता पाउनबाट रोकिएका छन्,’ उनले भने । प्राविधिक झिकाएर पुनर्निर्माण भएका घरको जाँच गराइने उनले बताए । बैठकले गाउँपालिकाभित्र सञ्चालित विकासे योजना खोजी गर्दै व्यवस्थित रेकर्ड राख्ने निर्णय गरेको छ । गुम्बा, गोल्चे, पाङताङ, हगाम, सेलाङ र बराम्ची गाविस मिलेर बनेको उक्त गाउँपालिकामा सञ्चालित योजनाको जानकारी र यस सम्वन्धी कागजात कार्यालयमा नआएको अध्यक्ष श्रेष्ठले बताए।

                नवनिर्वाचित जनप्रतिनिधि शपथ ग्रहणपछि धमाधप पदभार ग्रहण गरिरहेका छन्। पदभारसँगै पहिलो बैठक बसेर लोकप्रिय निर्णयसमेत भइरहेको छ । गाउँपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुखलाई भित्र्याउन तीव्र गतिमा कार्यालय व्यवस्थापन भइरहेको छ । चौतारा, बाह्रविसे, मेलम्ची नगरपालिका, बलेफी, जुगल लगायत गाउँपालिकामा कार्यालय व्यवस्थापन भइरहेको छ ।

                मेलम्ची नपा–६ का वडाध्यक्ष जितराज थापाले सोमबार कार्यभार सम्हाल्दै पहिलो बैठक राखेर केही निर्णय गराएका छन् । वडासमितिको बैठकले भूकम्प पीडितका गुनासो यथोचित सम्बोधन गर्ने,  आगामी दसैँसम्म वडाभरिका काठे विद्युतीय पोल बिस्थापित गर्दै स्टील पोलको व्यवस्था गर्ने र चाँपाबोटमा रहेको रहेको वडा कार्यालय मर्मत गरी माथिल्लो भेगका स्थानीयलाई सेवा प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित: ९ जेष्ठ २०७४ १४:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App