८ वैशाख २०८१ शनिबार
राजनीति

दोस्रो चरण निर्वाचन :  उम्मेदवार छनोट गर्दै दल

काठमाडौं- पहिलो चरणको निर्वाचन सम्पन्न भई मतपरिणाम आइनसक्दै प्रमुख दलले जेठ ३१ मा हुने दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवार छनोटदेखि घरदैलो कार्यक्रमसमेत सुरु गरिसकेका छन्।

नेकपा एमालेको गत ६ गते बसेको स्थायी समिति बैठकले दोस्रो चरणको निर्वाचन तयारीमा लाग्न स्थानीय कमिटीलाई निर्देशन दिइसकेको छ भने माओवादी केन्द्रले उम्मेदवार चयन गर्नेदेखि विराटनगरलगायतका क्षेत्रमा घरदैलो कार्यक्रम सुरु गरिसकेको छ। नेपाली कांग्रेसले औपचारिक निर्णय केही नलिए तापनि उम्मेदवार छनोट कार्य तीव्र पारेको छ।

उम्मेदवार टुंगो लगाइसकेका कपितय स्थानमा दलले घरदैलो कार्यक्रसमेत थालिसकेका छन्।

एमालेको स्थायी समितिले दोस्रो चरणको निर्वाचनमा जुट्न र आवश्यकताअनुसार तालमेलसमेत गर्न तल्ला कमिटीलाई निर्देशन दिएको छ। 'दोस्रो चरणको निर्वाचनका लागि अविलम्ब उम्मेदवारको निर्णय र सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन गरेको छ र साथै पहिलो चरणका अनुभवबाट शिक्षा लिँदै पार्टीको विजयका लागि थप उत्साह र एकताबद्ध रुपमा अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ,' एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, 'पहिलो चरणको निर्वाचनका घटना र अनुभवबाट शिक्षा लिँदै स्थानीय औचित्य र आवश्यकताका आधारमा पार्टीको नेतृत्वसँग समन्वय गरी चुनावी ताममेल गर्नसक्ने अधिकार स्थानीय पार्टी कमिटीलाई प्रदान गरिएको छ।' भट्टराईका अनुसार स्थानीय तहमा तालमेल गर्ने अधिकार दिए पनि पार्टी नेतृत्वसँग समन्वय भने गर्नु पर्ने सर्त छ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङका अनुसार प्रदेश नम्बर १ का उम्मेदवार टुंग्याउन इटहरीमा बैठक जारी छ भने ७ नम्बर प्रदेशका उम्मेदवारको लगभग टुंगो लागिसकेको छ। 'एमालेका धेरै उम्मेदवार यतिखेर कोणसभा गर्दै मत पनि माग्न घरदैलो कार्यक्रमा व्यस्त भइसकेका छन्,' नेम्बाङले नागरिकसँग भने, 'टुंगो लाग्न नसकेका उम्मेदवार पनि यही साताभित्रमा नै टुंग्याइसक्ने योजनामा छौं।' उनका अनुसार जेठ ३१ मा मतदान हुने चारवटै प्रदेशको चुनावी तयारीका लागि केन्द्रीय नेतासमेत खटिइसकेका छन्।

माओवादी केन्द्रले झापा र विराटनगरमा चयन गरेका उम्मेदवारले कोणसभा र घरदैलो सुरु गरिसकेका छन्। विराटनगरमा मेयरका उम्मेदवार भोगेन्द्र यादव र उपमेयरकी नमिता न्यौपाने घरदैलोमा व्यस्त छन्। झापाको दमक नगरपालिकाका मेयर उम्मेदवार गगन पुरीले पनि घरदैलो सुरु गरिसकेको माओवादीले जनाएको छ।

उता २ नम्बर प्रदेशमा पनि चुनाव प्रचारप्रसारको रौनक देखिएको छ। चोकचोकमा पार्टीका झन्डा फहराइएको देखिन थालेको छ। सो क्षेत्रमा पनि एमालेसहित माओवादी केन्द्र र कांग्रेसका आन्तरिक बैठकले तीव्रता पाइरहेको सम्बद्ध नेताले बताएका छन्।

'प्रदेश नम्बर २ मा पनि अब क्रमशः उम्मेदवार चयन गर्दै जान्छौं, अहिले आन्तरिक संगठनको काम तीव्र गतिमा भइरहेको छ', माओवादीका सांसद प्रभु साहले भने, 'त्यसपछि उम्मेदवार चयन गरिनेछ।' उनका अनुसार २ नम्बरमा ५ केन्द्रीय नेतालाई जिम्मा दिएर उम्मेदवार छनोट गरिँदैछ। सिरहा–सप्तरीमा बिश्वनाथ साह, धनुषामा मातृका यादव, महोत्तरी र सर्लाहीका लागि गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको छ। रौतहट र बारामा प्रभु साह र पर्सामा उर्मिला अर्यालले उम्मेदवार चयन र छनोटको जिम्मेवारी पाएका छन्।

कांग्रेसले पनि पहिलो चरणको निर्वाचनको समीक्षा गर्न तथा दोस्रो चरणको निर्वाचन तयारीबारे निर्णय लिन पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाइसकेको छ। मंगलवार बिहान  बस्ने उक्त बैठकले आगामी चुनावको रणनीतिबारे निर्णय गर्नेछ। कांग्रेसले ताप्लेजुङ, अर्घाखाँचीलगायतका आधादर्जन भन्दा बढी जिल्लामा वडाध्यक्षका उम्मेदवार चयन गरेर गाउँपालिका र नगरपालिकाका प्रमुख चयनको क्रम तीव्र पारेको छ।

त्यस्तै, उम्मेदवार चयन प्रक्रिया अघि बढाउन संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमले पनि आन्तरिक परिपत्र जारी गरिसकेका छन्। दोस्रो चरणको निर्वाचनका लागि तालमेलसमेत गर्ने अधिकार दिएर परिपत्र जारी गरिएको संघीय फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले जानकारी दिए।

'पहिलो चरणको निर्वाचनमा भाग लिइसकेकाले दोस्रो चरणमा नजाने कुरा नै हुन्न, चुनावमा जाने तयारीमा छौं,' यादवले नागरिकसँग भने, 'विजय हासिल गर्ने उद्देश्यसहित स्थानीय कमिटीले तालमेल गर्न सक्ने अधिकारसहित परिपत्र जारी भइसकेको छ।' उनका अनुसार एमाले र राप्रपासँग भने तालमेल नगर्न निर्देशन दिइएको छ।

फोरम लोकतान्त्रिकले पनि उम्मेदवार चयन गर्न परिपत्र जारी गरेको छ। पहिलो चरणको निर्वाचनमा पनि भाग लिएको उक्त पार्टीका अध्यक्ष विजय गच्छदार चुनावी वातावरण बनाउन लागि परेका छन्। उनले गत आइतबार राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी गरे। 'चुनावी वातावरण बनाउन गच्छदारजी र मेरो बीचमा दुई घन्टा कुराकानी भएको थियो', ठाकुरले भने। संविधान संशोधन, स्थानीय तहको संख्या बढाउनेलगायतका बिषय सम्बोधन भए निर्वाचनमा जाने ठाकुरले बताएका छन्।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले पनि उम्मेदवार चयन सुरु गरेको छ। सोमबार कञ्चनपुरको भीमदत्त नगरपालिकामा माया नेगी, पुनर्वासमा सत्यदेवी चापागाईं, शुक्लाफाँटामा द्वारिका कुँवरलाई सो पार्टीले प्रुमख पदको उम्मेदवार घोषणा गरेको छ।

नेपाली जनता दलले सप्तरीको कल्याणपुर नपामा श्रवण चौधरी र विष्णुपुर्वा गाउँपालिकामा अनुज यादव, सर्लाही कर्मैयामा हरि बुढाथोकी र बलार नपामा विन्देश्वरी साहलाई मेयरको उम्मेदवार घोषणा गरिसकेको छ। अन्य साना दल पनि उम्मेदवार चयन र घोषणामा व्यस्त रहेको नेताहरुले जनाएका छन्।

जेठ ३१ गते प्रदेश नम्बर १, २, ५ र ७ का गरी ४१ जिल्लाका ४ सय ६१ स्थानीय तहमा निर्वाचन हुँदैछ।

प्रकाशित: ९ जेष्ठ २०७४ ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App