७ वैशाख २०८१ शुक्रबार
राजनीति

माओवादी केन्द्र प्रदेश ६ मा पहिलो, १० जिल्लामा शून्य

काठमाडौं- पहिलो चरणको निर्वाचन भएका ३४ जिल्लामध्ये १० जिल्लामा सत्तारुढ माओवादी केन्द्रको परिणाम शून्य भएको भएको छ।

माओवादीले प्रदेश नम्बर ६ का दैलेख र मुगु, ४ नम्बरका कास्की, पर्वत, स्याङ्जा, मनाङ, मुस्ताङ र ३ नम्बरका काठमाडौं, भक्तपुर, दोलखा जिल्लामा माओवादी केन्द्रले नगरपालिका/गाउँपालिका प्रमुखमा खातासमेत खोल्न सकेन। त्यस्तै, मतगणना जारी रहेका चार महानगरपालिका काठमाडौं, ललितपुर, भरतपुर र पोखरामा वडाध्यक्षमा समेत अझै खाता खोल्न सकिसकेको छैन।

काठमाडौं, भक्तपुर, दोलखा, दैलेख, मुगु, कास्की, स्याङ्जा, पर्वत, मनाङ र मुस्ताङका स्थानीय तह प्रमुखमा माओवादी शून्य।

माओवादी केन्द्रले भक्तपुर र काठमाडौंका गरी १४ स्थानीय तहमध्ये चन्द्रागिरी–२ मा वडाध्यक्षमात्रै जितेको छ। सो वडामा माओवादी उम्मेदवार गोपी सुर्खेती वडाध्यक्षमा विजयी भएका छन्। 'चन्द्रागिरिमा एउटा वार्डअध्यक्षबाहेक अन्य कुनै पदमा काठमाडौंमा पार्टीले जित हासिल गर्न सकेको छैन,' केन्द्रीय कार्यालय सदस्य हितमान शाक्यले नागरिकसँग भने, 'सबै परिणाम आएपछि काठमाडौंको बारेमा गम्भीर समीक्षा गर्नेछौं।' उनका अनुसार भक्तपुर जिल्लामा पनि अझैसम्म माओवादीले वार्डअध्यक्ष जितेको खबर प्राप्त भएको छैन।

काठमाडौं र ललितपुरमा मेयर र उपमेयरका उम्मेदवार त प्रतिस्पर्धामा नै आउन सकेनन्। काठमाडौंमा ठूला दल कांग्रेस र एमालेसँग मात्रै होइन, नयाँ दल विवेकशील र साझाभन्दा पनि फराकिलो अन्तरले माओवादी पछि परेको छ। ललितपुर महानगरमा पनि त्यही अवस्था छ।

उता, प्रदेश नम्बर ४ का ५ जिल्ला मनाङ, मुस्ताङ, कास्की, पर्वत र स्याङ्जामा माओवादी केन्द्रले प्रमुख पदमा खाता नै खोल्न सकेन। माओवादीको गढ मानिएको गोरखामा जम्मा दुई तहमा माओवादीले जित हासिल गर्‍यो, बाँकी आठ तहमा कांग्रेसले बाजी मार्‍यो।

प्रदेश ४ का ८५ स्थानिय तहमध्ये पाँचमा मात्रै माओवादीले नेतृत्व लिन सफल भएको छ। माओवादीले पराजयका बारेमा चाँडै समीक्षा गर्ने नेता हितराज पाण्डेले बताए। उनका अनुसार डा. बाबुराम भट्टराईको नयाँ शक्तिका कारण पनि माओवादीले पराजय भोग्नुपरेको हो। 'बाबुरामजीको त पार्टी नै अर्को, स्वाभाविक रुपमा प्रतिस्पर्धा हुने भयो तर म आन्तरिक कारणका बारेमा समीक्षा गर्ने पक्षमा छु,' पाण्डेले नागरिकसँग भने, 'आन्तरिक नेतृत्वले व्यवस्थापन गर्न किन सकेन, हामी कहाँकहाँ चुक्यौ, सबैभन्दा पहिला यहाँबाट समीक्षा गर्नुपर्छ।'

प्रदेश नम्बर ४ का तनहुँ, बाग्लुङ र लम्जुङमा एकएक गाउँपालिकामा विजय हासिल गरेको छ। सो प्रदेशका २६ नगरपालिकामध्ये कसैमा पनि माओवादीले जित हासिल गर्न सकेन।

आफ्नै पकड क्षेत्र मानेको प्रदेश नं. ६ मा पनि माओवादी कांग्रेस र एमालेभन्दा मुस्किलले अगाडि देखिएको छ। 'यो क्षेत्र माओवादीको गढको रुपमा परिचित छ। गत संविधानसभा चुनावमा पनि यसै क्षेत्रबाट माओवादीका सबैभन्दा बढी सांसद चुनिएका थिए,' माओवादी सांसद महेन्द्रबहादुर शाहीले भने, 'यो प्रदेशमा अन्य दलले तालमेल नगरेको भए धेरै स्थानमा जित्ने अवस्थामा थियौं।'

यस प्रदेशका हुम्लाका सबै चार एकाइ र रुकुम (पश्चिम क्षेत्र) का सबै ६ तह मा माओवादी विजयी भएको छ। यही प्रदेशका पनि दैलेख र मुगुमा भने माओवादीले खाता खोल्न सकेन। 'दैलेख र मुगुमा हामी चुकेका छौं,' शाहीले भने। दैलेखका ७ सय ७२ पदमध्ये माओवादी एउटैमा पनि विजयी हुन सकेन।

यस प्रदेशका १० नगरपालिका र १५ गाउँपालिकामा माओवादीले पकड जमाएको छ भने एमालेले १० नगरपालिका र १५ गाउँपालिका तथा कांग्रेसले आठ नगरपालिका र १५ गाउँपालिकामा विजय हासिल गरेका छन्।

यो प्रदेशको योगी नरहरिनाथ नगरपालिकामा निर्वाचन हुन बाँकी छ। राप्रपाका उम्मेदवार मारिएपछि त्यहाँ चुनाव आइतबार भएको शाहीले बताए।

नेता पाण्डेले सबै तहको परिणाम आएपछि केन्द्रीय कार्यालयको बैठक बसेर चुनाव परिणामबारे गम्भीर रुपमा समीक्षा गर्ने बताए। 'धेरै तहमा आउने भनेर अपेक्षा गरेका प्रदेश र क्षेत्रमा नै सोचेजस्तो परिणाम नआएपछि यसको गम्भीर समीक्षा गर्नेछौं,' पाण्डले भने, 'सबैभन्दा पहिला आन्तरिक कमजोरी खोज्नुपर्छ।'

प्रकाशित: ८ जेष्ठ २०७४ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App