१५ चैत्र २०८० बिहीबार
राजनीति

प्रदेश ३ मा एमाले पहिलो दल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमाले प्रदेश नम्बर तीनको घोषित परिणाममा आधाभन्दा बढी स्थानीय तह जित्दै पहिलो दल बनेको छ। आइतबार साँझसम्म घोषित २५ नगरपालिका र ३२ गाउँपालिकाको प्रमुखमा एमालेले जित हासिल गरेको छ।

प्रदेश नम्बर तीनका एक सय आठ स्थानीय तहमध्ये ५७ का प्रमुखमा एमालेेले जित हासिल गरेको हो। प्रदेश ३ मा एक सय १९ वटा स्थानीय तह छन्।

प्रदेश ३ का तीन महानगरपालिका र एक उपमहानगरपालिका, ६ नगरपालिका र एक गाउँपालिकाको परिणाम सार्वजनिक हुन बाँकी छ। तीमध्ये दुई महानगरपालिका र चार नगरपालिकामा एमाले अगाडि छ। बाँकीमा नेपाली कांग्रेसको अग्रता छ। दोलखाका मेलुङ गाउँपालिकाको एक मतदान केन्द्रमा शनिबार चुनाव भएपछि मतगणना भएको छैन।

'२०५४ स्थानीय तहको चुनावभन्दा कम हो तर २०७० सालमा भएको दोस्रो संविधानसभाभन्दा परिणाम राम्रो हो,' एमालेका पोलिटब्युरो सदस्य पशुपति चौलागाईंले नागरिकसँग भने, 'तर हामीले जति जित्छौं भनेर अपेक्षा गरेका थियौं त्योभन्दा कम हो।' २०५४ मा एमालेले ६० प्रतिशत स्थानीय तहमा जित हासिल गरेको थियो।

पछिल्लो संविधानसभामा प्रदेश ३ अन्तर्गत पर्ने १३ जिल्लाका ४५ संसदीय सिटमा एमालेले १८ स्थानमा मात्रै जित हासिल गरेको छ।

काठमाडौं उपत्यकामा एमालेले सानदार कमब्याक गरेको छ। संविधानसभाको दोस्रो चुनावमा उपत्यकाका १५ सिटमध्ये तीन मात्रै जित हासिल गरेको थियो। ती सबै काठमाडौं जिल्लाका थिए।

एमालेले राजधानीका चार नगरपालिका जितेको छ भने एकएक वटा महानगरपालिका र नगरपालिकामा अग्रस्थानमा छ। दोस्रो संविधानसभामा तीनै स्थानमा हारेको ललितपुरमा एमालेले ६ स्थानीय तहमध्ये दुईमा जित हासिल गरेको छ भने महानगरपालिकामा प्रमुखमा कांग्रेसका उम्मेदवारसँग तीव्र प्रतिस्पर्धामा छ। काठमाडौं र ललितपुर महानगरमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एमालेले गठबन्धन गरेको छ।

अहिलेसम्म संसदीय चुनावमा कहिले पनि जित्न नसकेको भक्तपुरका चारर स्थानीय तहमध्ये एमालेले एउटामा जितेको छ भने एकमा अग्रस्थानमा छ। एमालेको नुवाकोटमा कमजोर देखिएको छ भने रामेछापमा राम्रो प्रदर्शन गरेको छ। मकवानपुर, धादिङमा एमालेविरुद्ध कांग्रेस र माओवादीको गठबन्धन बनेको थियो।

प्रदेश ३ मा १३ जिल्ला, तीन महानगरपालिका, एक उपमहानगरपालिका एक, ४१ नगरपालिका र ७४ गाउँपालिका ७४ रहेका छन्। एक सय १९ स्थानीय तहमा एक हजार एक सय २१ वडा छन्।

प्रकाशित: ८ जेष्ठ २०७४ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App