८ वैशाख २०८१ शनिबार
राजनीति

दोस्रो चरणको निर्वाचन कार्यक्रम सुरु, सक्रिय हुँदै दल र आयोग

इलाम-पहिलो चरणको स्थानीय तह चुनाव सकिएर मतगणना जारी रहँदा पूर्वमा जेठ ३१ मा हुने दोस्रो चरणको निर्वाचनका लागि सक्रियता बढेको छ। दोस्रो चरणको निर्वाचन कार्यक्रम शनिबार सुरु भएपछि जिल्लाका राजनीतिक दल र निर्वाचन कार्यालय गतिविधि तीव्र बनाउँदै छन् ।

                कतिपय स्थानमा दलहरूको उम्मेदवारीसमेत घोषणा भइसकेको थियो । तर, चुनावको मिति महिनादिनपछि सरेपछि दलहरूको चुनावी गतिविधि सुस्त थियो। चुनावको सामान्य चर्चा र प्रचारबाहेक दलहरू खासै तयारीमा जुटेका थिएनन् । तर, पहिलो चरणको चुनाव शान्तिपूर्ण रूपमै सम्पन्न भएपछि राजनीतिक दल र सर्वसाधारणमा दोस्रो चरणको चुनाव पनि हुने विश्वास बढेको छ । त्यही विश्वासमा दलहरूले पुनः चुनावी गतिविधि बढाएका हुन् ।

                नेकपा एमालेले जिल्लामा वडा तहसम्मका सबै उम्मेदवार सार्वजनिक गरिसकेको छ । गत बुधबार पत्रकार सम्मेलन आयोजना गरी एमालेले जिल्लाका ८१ नै वडाका वडाध्यक्ष र सदस्यका उम्मेदवारको नाम सार्वजनिक गर्‍यो । एमालेले ८१ वडाका वडाध्यक्ष, ८१ वडाका ४ सय ५ सदस्यमध्ये ४ सय १ जनाको नाम सार्वजनिक गरेको हो । इलाम नगरपालिका–३, पुवामझुवामा भने एमालेले संघीय समाजवादी र नेकपा माओवादी केन्द्रसँग तालमेल गरी ३ सदस्य अन्य दललाई दिएको जनाएको छ । माई नगरपालिका–१०, चिसापानीमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गरी १ सदस्य दिएको एमाले जिल्ला अध्यक्ष राम रानाले बताए ।

                नगरपालिकाका प्रमुख–उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षबाहेक जिल्लाका सबै वडामा एमालेबाट ५९.३५ प्रतिशत पुरुष र ४०.६५ प्रतिशत महिला स्थानीय तह चुनावका लागि उम्मेदवार बन्दैछन् । एमालेले जिल्लाका १० स्थानीय तह (४ नगर र ६ गाउँपालिका)मध्ये इलाम नगरपालिकाको प्रमुख, देउमाई नगरपालिकाको प्रमुख–उपप्रमुख तथा सन्दकपुर र माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षका उम्मेदवारको नामसमेत निश्चित गरिसकेको छ ।

                इलाम नगरपालिकाको उपप्रमुखसहित माई र सूर्योदय नगरपालिकाका प्रमुख–उपप्रमुखका उम्मेदवारको नाम टुंगिन बाँकी छ । फाकफोकथुम, माइजोगमाई, चुलाचुली र रोङ गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षमा पनि एकभन्दा बढीको नाम आएकाले अन्तिम छनौटका लागि प्रदेश समितिमा पठाएको एमालेले जनाएको छ । जेठ ९ सम्ममा सबै नगरका प्रमुख–उपप्रमुख तथा सबै गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष पदका उम्मेदवारको नामले पनि अन्तिम रूप पाउने एमालेले जनाएको छ।

                एमाले उपसचिव उमेश गुरुङले नगर र वडा तहका लागि पार्टीले १–२ दिनभित्रै ‘प्रतिबद्धतापत्र’समेत सार्वजनिक गर्ने बताए । ‘अहिले चुनावी अभियान तीव्र रूपमा चलिरहेको छ,’ उनले भने, ‘सबै उम्मेदवारको नाम ९ गतेसम्ममा फाइनल हुन्छ ।’

                नेकपा माओवादी केन्द्रले जिल्लाका सबै गाउँमा चुनावी अभियान तीव्र बनाएको छ । जिल्ला तहमा उम्मेदवारको नाम औपचारिक रूपमा सार्वजनिक नगरेपनि सबै उम्मेदवारको नामलाई अन्तिम रूप दिइसकेको केन्द्रले जनाएको छ । ‘सबै उम्मेदवारको नाम फाइनल भइसक्यो तर हामीले सम्बन्धित नगरपालिका र गाउँपालिकामा मात्रै सार्वजनिक गरेका छौं,’ केन्द्रका जिल्ला इन्चार्ज धिरेन शर्मा रमणले भने, ‘कुनै स्थानमा चुनावी तालमेल पनि हुन्छ तर अस्तित्व स्वीकार्नेसँग मात्रै ।’ उनले अहिले चुनावी अभियानका लागि पार्टीका सबै इकाई परिचालित भएको उनले जनाए ।

                नेपाली कांग्रेसले भने अहिलेसम्म चुनावमा उठ्ने कुनै उम्मेदवारको नाम औपचारिक रूपमा सार्वजनिक गर्न सकेको छैन । आउँदो १० गते सबै स्थानीय तहका उम्मेदवारको नामलाई अन्तिम रूप दिने योजना रहेको कांग्रेस जिल्ला सचिव खगेन्द्र देवानले बताए । ‘उम्मेदवारको नाम फाइनल नभएपनि आइतबारदेखि सबैतिर चुनावी अभियान तीव्र हुन्छ,’ उनले भने, ‘उम्मेदवारको नाम १० गते टुंग्याउनेगरी छलफल चलिरहेको छ ।’

                आइबारदेखि जिल्लाका क्षेत्रीय समितिहरूमा उम्मेदवारको विषयमा अन्तिम छलफल सुरु हुने उनले जनाए । कांग्रेसले अहिलेसम्म जिल्लाको माङ्सेबुङ गाउँपालिकामा मात्रै अध्यक्ष, उपाध्यक्षलगायत सबै पदका उम्मेदवारको नाम टुंग्याएको र औपचारिक रूपमा सार्वजनिक गर्न बाँकी रहेको देवानले बताए।

 

आयोगको काम नियमित

                स्थानीय तह निर्वाचनका लागि सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट शनिबार नियमित काम थालिएको छ । वैशाख ३ मा स्थापना गरिएको कार्यालय निर्वाचनको मिति सरेयता गतिविधिशून्यझैं थियो । इलाम नगरपालिकाबाहेक अन्य नगर र गाउँपालिकामा आउँदो जेठ १५ मा निर्वाचन अधिकृतको कार्यालय खोलिने छ ।

                निर्वाचन आयोगको निर्वाचन कार्यक्रमअनुसार जेठ १९ मा उम्मेदवार मनोनयन दर्ता गरिँदैछ। जेठ २० र २१ मा दाबी–विरोध तथा उम्मेदवारी फिर्ता, जेठ २२ मा उम्मेदवारलाई चुनाव चिह्न प्रदानको कार्यक्रम छ । अहिले निर्वाचन कार्यालयले निर्वाचन अधिकृतकहाँ पठाउन २० खाले सामग्री तयार गर्दैछ । मतदानस्थलमा भने ६८ प्रकारका सामग्री पठाइने जिल्ला निर्वाचन अधिकारी प्रेम काफ्लेले बताए । जिल्लामा १ सय ४४ मतदानस्थलमा २ सय ४९ मतदान केन्द्र निर्धारित छन् । यी केन्द्रमा जम्मा १ हजार ३ सय ७० कर्मचारी र २ जनाका दरले स्वयंसेवक खटाउने आयोगको तयारी छ ।

                जिल्लाका निर्वाचन अधिकृत यसअघि नै तोकिएका छन् ।  जिल्ला न्यायाधीश नवराज दाहाल इलाम नगरपालिकासमेतको जिम्मेवारी लिनेगरी जिल्लाका  मुख्य निर्वाचन अधिकृत छन् । सूर्योदय नगरपालिकामा राजेन्द्र भट्टराई, देउमाई नपामा पे्रमप्रसाद दाहाल र माई नपामा कालीदास ढकाल निर्वाचन अधिकृत तोकिएका छन् । माङ्सेबुङमा कृष्णकुमार कार्की, सन्दकपुरमा ऋद्धिनाथ निरौला, फाकफोकथुम गाउँपालिकामा लीलाराज पौडेल, चुलाचुलीमा कालीप्रसाद सुवेदी, माईजोगमाईमा अविकेशर पोख्रेल र रोङ गाउँपालिकामा शम्भू गौतमलाई निर्वाचन अधिकृतका रूपमा खटाइएको छ ।

                प्रत्येक मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गर्ने निर्वाचन आयोगको तयारी छ । जेठ २८, २९ र ३० मा मतदाता परिचयपत्र वितरण गरिने काफ्लेले बताए । आयोगले मतदाता शिक्षा शनिबार नै सुरु गरेको जनाएको छ ।

 

प्रकाशित: ६ जेष्ठ २०७४ १६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App