१६ चैत्र २०८० शुक्रबार
राजनीति

युवा उमेरमा नगरको जिम्मेवारी

सिन्धुपाल्चोक – भर्खरै ग्रामीण विकासमा स्नात्तकोतर गरेकी । साथै कानुनकी विद्यार्थी । अनुहारले प्रस्ट संकेत गर्छ, उनी कलिलै छिन् । उनी अर्थात् जानुका पराजुली, वर्ष ३० । समयले कलिलै उमेरमा बोझिलो जिम्मेवारी दिएको छ उनलाई । 

सदरमुकाम रहेको चौतारा–साँगाचोकगढी नगरपालिकाको उपमेयरमा उनी निर्वाचित भएकी छन् । माओवादी केन्द्रबाट उनी चुनावी प्रतिस्पर्धामा उत्रिएकी थिइन् । आफ्नै गाउँका पाँचसहित सात प्रतिस्पर्धीलाई पन्छाउँदै उनी यो जिम्मेवारीमा पुगेकी हुन् । ‘योभन्दा ठूलो जिम्मेवारी अरु हुन सक्दैन,’ बिहीबार निर्वाचित भएपछि उनले नागरिकसँग भनिन्, ‘पदीय जिम्मेवारी फत्ते गर्छु ।’ ७ हजार ७ सय २२ मत प्राप्त गरेकी उनले समान उमेरकी निकटतम प्रतिद्वन्द्वीसहित बाआमा उमेरका हस्तीलाई हराइन् । ६ हजार २ सय ६७ मत प्राप्त गरेकी एमाले उम्मेदवार सीता थापा उनको निकटतम प्रतिद्वन्द्वी थिइन् । 

‘कानुनले उपमेयरलाई मुद्दा हेर्ने अधिकार दिएको छ, यो भूमिका निष्पक्ष बनाउँछु, प्राकृतिक न्यायको सिद्धान्तमा आधारित न्याय प्रवाह गर्छु ।’

विद्यार्थी संगठनको केन्द्रीय जिम्मेवारी निर्वाह गरिसकेका पराजुली र थापा साँगाचोकका हुन् । यही गाउँबाट आमा उमेरकी राधा गिरी (राप्रपा), विष्णु कमिनी (नयाँ शक्ति), अधिवक्ता रोशनराज गिरी (स्वतन्त्र) उपमेयरको चुनावी दौडमा थिए । २० वर्ष शिक्षण गरेर राजनीतिमा आएकी कांग्रेस उम्मेदवार शोभा उलक अर्को तगारो थिइन् । उमेर सानै भए पनि ओझपूर्ण उम्मेदवारी प्रस्तुत गरेकी पराजुलीले उनलाई ३ हजार २ सय १३ मतमै रोकेर तेस्रो स्थानमा खुम्च्याइन् । 

‘कानुनले उपमेयरलाई मुद्दा हेर्ने अधिकार दिएको छ, यो भूमिका निष्पक्ष बनाउँछु,’ उनले काँधमा आएको जिम्मेवारी पूरा गर्ने आफ्नो सोचबारे भनिन्, ‘प्राकृतिक न्यायको सिद्धान्तमा आधारित न्याय प्रवाह गर्छु ।’ उमेर कलिलै भए पनि उनको राजनीतिक सुझबुझ परिपक्व छ । उनलाई राजनीतिमा निखारिन पारिवारिक पृष्ठभूमि र निरन्तरको सक्रियताले काम गरेको छ । 

उनी कम्युनिस्ट परिवारमै हुर्किन् । त्यसैले स्कुल पढ्दै गर्दा अखिल क्रान्तिकारीको राजनीति थालिन् । तत्कालीन जनमोर्चाबाट उनका बाबु ध्रुव पराजुलीले २०४९ मा साँगाचोक गाविसको अध्यक्ष जितेका थिए । पराजुलीले २०५५ मा एसएलसी दिँदा बाबु ध्रुव ‘जनयुद्ध’ मा भूमिगत भइसकेका थिए । एसएलसीपछि उनी पनि बन्दुक बोकेर बाबुको बाटोमा लागिन् । बन्दुकसँग खेलेकाले धेरै पटक मरेर बाँचेको अनुभव छ उनीसँग । २०६२ मा भएको ठोकर्पा बम वर्षा काण्ड उनलाई सम्झना भइरहन्छ । उनका अनुसार कार्यक्रम भइरहँदा आकाशबाट सेनाले एक्कासि बम वर्षा गर्याे। ‘भाग्दै गर्दा सामुन्नेमै बम खस्यो ।  कसोकसो म फुत्किएँ, छेउकी साथी ढलिन्,’ उनी सम्झिन्छिन्, ‘अब बाँच्दिनँ भन्ने सोचेकी थिएँ।’

शान्ति प्रक्रियापछि पनि उनले राजनीतिबाट विश्राम लिइनन्, बरु थप तिखारिइन् । राजनीतिसँगै टुटेको पढाइलाई निरन्तरता दिइन् । अखिल क्रान्तिकारीको केन्द्रीय जिम्मेवारीमा समेत पुगिन् । उनका बुवा ध्रुव माओवादी केन्द्रका केन्द्रीय स्तरका नेता हुन् । उनले बुवासमानै ठान्ने सहयोद्धा नेता अमानसिंह तामाङले मेयर पदमा जितेका छन् । उनी थप्छिन्, ‘मतदाताले दिएको ठूलो जिम्मेवारी अवसरकै रुपमा लिएको छु ।’ 

 

प्रकाशित: ५ जेष्ठ २०७४ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App