१६ चैत्र २०८० शुक्रबार
राजनीति

काठमाडौंका ८ नगरपालिकामध्ये ५ मा एमाले ३ मा काँग्रेसको अग्रता

काठमाडौं—काठमाडौंको मतपरिणाम आउन बाँकी ८ नगरपालिकामध्ये पाँचमा एमालेले अग्रता लिइरहेको छ। तीन वटामा काँग्रेसको अग्रता छ। एमालेले टोखा, तार्केश्वर, कीर्तिपुर, बुढानिलकण्ठ र गोकर्णेश्वरमा अग्रता लिइरहेको छ। यसैगरी काँग्रेसले नागार्जुन, चन्द्रागिरी र कागेश्वरीमा अग्रता लिइरहेको छ। 

१. टोखा नगरपालिका

टोखामा मेयर पदमा एमालेका प्रकाश अधिकारी ६६५६ का साथ अग्रस्थानमा छन्। काँग्रेसका हरिहर अधिकारी ६२३३ का साथ प्रकाश अधिकारीलाई पछ्‌याइरहेका छन्। दिउँसो १ बजेसम्म टोखाको १७५०० मत गणना भएको छ।

२. गोकर्णेश्वर नगरपालिका

गोकर्णेश्वरको मेयरमा एमालेले अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार पुण्य चौलगाईं २२९२ मतसहित अग्रस्थानमा छन्। काँग्रेसका सन्तोष चालिसे २२५२ मतसहित एमालेका चौलगाईंलाई पछ्‌याइरहेका छन्। उपमेयरमा एमालेकी शान्ति शान्ति श्रेष्ठ २६२१ मतका साथ अगाडि छिन्। काँग्रेसकी शान्ति नेपाल १८८६ मतसहित एमालेकी श्रेष्ठलाई पछ्‌याइरहेकी छिन्।

३. नागार्जुन नगरपालिका

नागार्जुन नगरपालिकामा काँग्रेसले अग्रता लिइरहेको छ। पछिल्लो परिणामअनुसार काँग्रेसका मेयर प्रत्यासी मोहन बस्नेत ३७७५ मत पाएर अगाडि छन्। एमालेका कृष्णहरि खत्री ३५५२ मत पाएका छन्। यसैगरी उपमेयरमा एमालेका सुशीला अधिकारी ४०१६ मत पाएर अगाडि छन्। काँग्रेसकी कल्याणी खड्का ३४३१ मत पाएकी छिन्।

४. चन्द्रागिरी नगरपालिका

चन्द्रागिरी नगरपालिकामा काँग्रेसले अग्रता लिइरहेको छ। काँग्रेसका मेयर उम्मेदवार घनश्याम गिरी ६१८५ मतसहित अगाडि छन्। एमालेका प्रल्हाद कार्की ३८७७ मतसहित दोस्रो स्थानमा छन्। माओवादी केन्द्रका श्रीकृण्ण श्रेष्ठले १८७३ मत प्राप्त गरेका छन्।

५. तार्केश्वर नगरपालिका

तार्केश्वर नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ। एमालेका मेयर प्रत्यासी रामेश्वर बोहरा ३२२८ मतसहित अगाडि छन्। काँग्रेसका श्रीराम थापा ३१४९ मत पाएर एमालेका बोहरालाई पछ्‌याइरहेका छन्।

६. कीर्तिपुर नगरपालिका

कीर्तिपुर नगरपालिकामा एमाले सुरुदेखि नै अग्रता लिइरहेको छ। एमालेका मेयर प्रत्यासी रमेश महर्जन ३४९६ मतसहित अगाडि छन्। काँग्रेसका राजकुमार नकर्मी ३१८१ मत पाएर एमालेका महर्जनलाई पछ्‌याइरहेका छन्।

७. बुढानिलकण्ठ नगरपालिका

निलकण्ठ नगरपालिकामा एमालेले अग्रता लिएको छ। एमालेका मेयर प्रत्यासी उद्धव खरेल ४२२७ मतसहित अगाडि छन्। काँग्रेसका राजु श्रेष्ठ २९९९ मतसहित एमालेका खरेललाई पछ्‌याइरहेका छन्।

८. कागेश्वरी मनहरा

कागेश्वरी मनहरा नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ। काँग्रेसका मेयर प्रत्यासी उपेन्द्र कार्की २४४२ मत पाउँदै अगाडि छन्। एमालेका हरिकृष्ण थापा २२०९ मतका साथ दोस्रो स्थानमा छन्।

दक्षिणकाली र शंखरापुरमा यसअघि नै नतिजा आइसकेको छ। दक्षिणकाली काँग्रसेले जितेको थियो भने शंखरापुर एमालेको पक्षमा गएको थियो।

प्रकाशित: ४ जेष्ठ २०७४ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App