काठमाडौं- काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका मोहन बस्नेत विजयी भएका छन्। उनी ४६९८ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शशि शर्मा अर्यालले ४२६८ मत पाए। माओवादी केन्द्रका उर्गेन लामाले २४८१ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे।
‘जनता नेताभन्दा बाठा भएका छन्। राम्रो काम गर्नेलाई छानेका छन्। पार्टीभन्दा व्यक्ति हेरेका छन्’, श्याम केसीले भने।
तत्कालीन टुल्कु डुँगेचौर गाविसका अध्यक्ष रहेका बस्नेतको राजनीतिक करिअर तीन दशक पुरानो हो। राज्य पुनःसंरचना हुँदा टुल्कु डुँडेचौरसहित ६ वडा गाविस जोडेर दक्षिणकाली नगरपालिका बनाइएको थियो।
उपमेयरमा नेपाली काँग्रेसकी बसन्ती तामाङ ४७४९ मतसहित विजयी भएका छिन्। एमालेकी उपमेयर उम्मेदवार मीरा महर्जनले ४३३० र माओवादी केन्द्रकी कमला बोहराले १९३८ मत प्राप्त गरेका छन्।
मेयर—उपमेयरमा काँग्रेस विजयी भएको दक्षिणकालीका ९ मध्ये ५ वडा एमालेले जितेको छ। वडा नम्बर १, ३, ५, ६, ७ मा एमाले विजयी भएको छ। काँग्रेसले २, ४, ५, ९ मा विजय हाँसिल गरेको छ।
मतदाताले पार्टीभन्दा व्यक्ति हेरेको र स्थानीय काम गर्ने मान्छेलाई छानेको नवनिर्वाचित ५ नम्बर वडा अध्यक्ष श्याम केसीले बताए। ‘जनता नेताभन्दा बाठा भएका छन्। राम्रो काम गर्नेलाई छानेका छन्। पार्टीभन्दा व्यक्ति हेरेका छन्’, उनले भने।
मतपरिणाम घोषणा भएपछि दक्षिणकालीमा मध्यरातमै विजय जुलुस निस्किएको थियो।
प्रकाशित: ३ जेष्ठ २०७४ २१:३० बुधबार