७ वैशाख २०८१ शुक्रबार
राजनीति

भोट हाल्न आतुर भूकम्पपीडित

चौतारास्थित कृष्णरत्न गंगा मावि केन्द्रमा परिचयपत्र बुझ्दै मतादाता । तस्बिर : ध्रुव दंगाल

सिन्धुपाल्चोक – चौतारा–साँगाचोकगढी नगरपालिका–५ का ६२ वर्षीय चोपनाथ ढुंगाना लठ्ठीमा बुढ्यौली शरीर अड्याउँदै मतदान केन्द्र पुगे । घन्टौं लाइनमा बसेर मतदाता परिचयपत्र लिए । ‘लेमिनेसन’ गरिएको आकर्षक परिचयपत्र स्मसुम्याउँदै उनले भूकम्पपीडितलाई नै ध्यान दिएर बनाएको जस्तो लागेको बताए । ‘जस्ताको टहरोमा शीत र पानीले नभिज्ने, धुवाँधुलोले नछुने,’ कोटको भित्री खल्तीमा परिचयपत्र राख्दै उनले भने, ‘कार्ड पनि राम्रो लाग्यो ।’

उम्मेद्वार र मतदातामा एउटा समानता छ, दुवै भूकम्पपीडित छन् । मतदाता टहरोमा दुःखकष्ट सहँदै बसेका छन्, उम्मेद्वारको अवस्था पनि यस्तै छ । 

‘हामी ल्याइदिन्छौं,’ भन्दै उनलाई छोराबुहारीले दुःख नगर्न भनेका थिए । बुढ्यौली जिद्दीको अगाडि उनीहरुको केही लागेन । ‘त्यसो भनेर कहाँ हुन्छ,’ जिद्दी कस्नुको कारण खुलाउँदै ढुंगानाले भने, ‘भोट हाल्नेकै हातमा कार्ड हुनुपर्छ ।’ उनले भोट खसाल्ने दिन सबैभन्दा पहिला लाइनमा बस्न पुग्ने सुनाए । 

२०५४ मा स्थानीय चुनाव हुँदा उनी भर्भराउँदो प्रौढ उमेरका थिए । ‘चुनाव कुर्दा कुर्दै बूढो पो भइएछ,’ एक हातले शिरको ढाका टोपी मिलाउँदै उनले भने । आँखा केही कम देख्ने भए पनि आफैंले मतपत्रमा छाप लगाउने उनले बताए । पार्टीभन्दा व्यक्ति छानेकाले क्रस भोट हाल्नुपर्ने बाध्यतामा आफू रहेको उनले बताए । उनले भने, ‘सातै भोट नबिगारी हाल्छु ।’

गिदानेकी ८० वर्षीया ठूली तामाङ वृद्धभत्ता लिन बिहीबार सदरमुकाम चौतारा जानु थियो । गाउँमा मतदाता परिचयपत्र वितरण सुरु भएको सुनेपछि उनी सदरमुकाम गइनन्, मतदान केन्द्रतिर सोझिइन् । वृद्धा भएकाले कर्मचारीले उनलाई लाइनमा नराखी परिचयपत्र दिए । टहरोमा मतदाता परिचयपत्र थन्काएर उनी भत्ताका लागि शुक्रबार मात्र चौतारा आइन् ।

‘बैंकमा जम्मा भएको भत्ता जहिले लिए पनि हुन्छ,’ परिचयपत्रलाई प्राथमिक दिनुको कारण खुलाउँदै उनले भनिन्, ‘भोट माग्नेको हानथाप छ । कार्ड अरूको हातमा परे नदिन के बेर !’ उनी पहिलोपटक स्थानीय चुनावमा सहभागी हुँदै छिन् । घरधन्दा छा्ड्न नसक्दा उनले अघिल्ला दुवै स्थानीय चुनाव छुटाइन् । ६५ वर्ष उमेर पुगेपछि भत्ताका लागि मात्र उनले नागरिकता बनाएकी थिइन् । ‘पार्टी हेर्ने हो व्यक्ति चिनिन्न,’ आँखा कम देखे पनि चिह्न चिन्न नसक्ने उनले भनिन्, ‘सानो नातिलाई रोजेको पार्टी चिह्नमा भोट हाल्न लगाउँछु ।’

भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडित मतदाता मतदान गर्न तयार छन् । भूकम्पको पीडा भुल्दै उनीहरू भोट हाल्ने दिनको प्रतीक्षामा छन् । चुनावको अगाडि पक्की घर गौण बनेको छ उनीहरूका लागि । चुनावपछि पुनर्निर्माणले गति लिनेमा पनि उनीहरू ढुक्क देखिए । कारण, सबै उम्मेदवारले भूकम्पपछिको पुनर्निर्माण तत्काल सक्ने बाचा गरेका छन् । 

मतदाता परिचय वितरण हेर्दा भूकम्प पीडित मतदाता चुनावका लागि निकै उत्साही छन् । दोस्रो दिनमा झन्डै ८० प्रतिशत मतदाता परिचयपत्र वितरण भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । परिचयपत्र बुझ्ने उत्साह देख्दा धेरैभन्दा धेरै मत खस्ने कार्यालयको अनुमान छ । जिल्ला निर्वाचन अधिकृत विजयकुमार कार्कीका अनुसार जिल्लामा एक लाख ९८ हजार मतदाता छन् । 

चुनावमा उम्मेदवार र मतदातामा एउटा समानता छ, दुवै भूकम्पपीडित छन् । मतदाता टहरोमा दुःखकष्ट सहँदै बसेका छन्, उम्मेदवारको अवस्था पनि त्यस्तै छ । जिल्लाका स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका दुई हजार एक सयभन्दा बढी सबै उम्मेदवार भूकम्पपीडित हुन् ।

चुनावी तयारी पूरा भएकाले पीडित मतदाताले भोट खसाल्न टहरोमा एउटा खुट्टा उचालिसकेका छन् । 

‘अर्को पटक के हो, केहो ! यो पल्ट जसरी पनि भोट खसाल्ने हो,’ मतदाता परिचयपत्र बुझेपछि पीपलडाँडाका ७१ वर्षीय इन्द्रबहादुर घर्ती भने । आफ्नो उमेरले डाँडो काट्न लागेकाले नातिनातिनाको भविष्यका लागि योग्य उम्मेदवारलाई भोट दिने घरसल्लाह भएको उनले सुनाए । 

यतिबेला गाउँगाउँमा भोट हाल्न फर्केने मतदाताको लर्को छ । विभिन्न पेसा, व्यवसाय गरेर राजधानी काठमाडौंलगायत सहरमा बस्ने मतदाता बस रिजर्भ गरेर जिल्ला फर्किरहेका छन् । नियमित चल्ने बस भरिभराउ देखिन्छन् । मतदाता फर्केसँगै गाउँगाउँमा चहलपहल बढेको छ । 

जिल्लाका सबै दुई सय ५० मतदान केन्द्रमा चुनावी सामग्रीसहित मंगलबारै कर्मचारी पुगेका थिए । कर्मचारीले बिहीबारदेखि धमाधम मतदाता परिचयपत्र वितरण गरिरहेका छन् । निर्वाचन गराउन एक हजार ६ सय कर्मचारी खटिएका छन् । चुनावी सुरक्षाका लागि म्यादीसहित एक हजार सात सय प्रहरी गाउँ पुगेका थिए । तेस्रो घेराको सुरक्षामा रहने नेपाली सेना शुक्रबारदेखि गाउँ खटिइरहेको छ ।

प्रकाशित: ३० वैशाख २०७४ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App