coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

६ नम्बर प्रदेशकी एक्ली महिला उम्मेद्वारकाे योजना

चुनावी प्रचारप्रसार कार्यक्रममा उम्मेद्वार सेजुवाल । तस्बिर : डिबी बुढा

जुम्ला – चन्दननाथ नगरपालिका खोलिकोटकी कान्तिका सेजुवाल ६ नम्बर प्रदेशको एक्ली मेयरको उम्मेद्वार हुन । चन्दननाथ नगपालिका जुम्लाको मेयरको उम्मेद्वार सेजुवाल शिक्षण पेशा छाडेर राजनीतिमा होमिएकी हुन् । ६ नम्बर प्रदेशकै एक्ली महिला मेयरको उम्मेद्वारी दिएकी सेजुवालको चर्चा निकै छ । मेयरको उम्मेद्वार मनोनयन पछि निकालेको घोषणा पत्रले उनलाई चर्चाको शिखरमा पुर्याएको छ । उनले वृहत अवधारणा, भौतिक पूर्वाधार, पर्यटन, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, कृषि, सञ्चार, शिक्षा, स्वास्थ्य र सुशासनलाई मुख्य प्रथामिकतामा पार्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेकी छिन् । 

नयाँ युगमा नविनतम सोच हाम्रो जागरुकता, समृद्ध चन्दननाथ, सुखी जनता हाम्रो प्रतिबद्धता भन्ने मुल नारा सहित उनी निर्वाचनमा मतदाताको घरदैलोमा भेटघाटमा व्यस्त छिन् । चन्दननाथ नगरपालिकालाई ६ नम्बर प्रदेशको वैकल्पिक राजधानी बनाउन राज्यसँग जोडदार पहल गर्ने र ५ वर्षीय अल्पकालिन र २० वर्षीय दिर्घकालिन योजना निर्माण गरेर चन्दननाथ नगरपालिकालाई स्मार्ट सिटी बनाउने प्रतिबद्धता उनको छ । उनको यो प्रतिबद्धतालाई धेरैले महत्वकाक्षी भन्दै आइरहेका छन् ।  टाउन प्लानिङ गरेर चन्दननाथलाई समृद्ध शहरको यात्रामा अघि बढाउने, स्वच्छ, सुन्दर, हराभरा सहर बनाउन सरसफाई अभियानलाई तिव्रता दिने, फोहोर व्यवस्थापनको लागि सुविधा सम्पन्न डम्पिङ साइटको निर्माण गर्ने, नगरपालिका क्षेत्रका प्रत्येक वडामा मोटरबाटो निर्माण गर्नुका साथै टाउन प्लानिङ बमोजिम सडक चौडा बनाइने भएको छ । चन्दननाथ नगरपालिकालाई चौबिसै घण्टा उज्यालोको नारालाई सार्थक बनाउन जगाड खोला जलविद्युत आयोजना निर्माण गर्ने र घरघरमा स्वच्छ खानेपानी वितरणको प्रवन्ध मिलाइने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । 

उनले घोषणा पत्रमा धार्मिक, साँस्कृतिक र पुरातात्विक पर्यटनलाई टेवा पुग्ने खाले अभियान चलाउनले प्रतिबद्धता गरेकी छिन् । कर्णालीकै प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिर र दानसाघुको संरक्षण तथा संवद्र्धन गरी धार्मिक पर्यटनको विकास गर्ने र मुगुको राराताल र खस भाषाको केन्द्र सिजा उपत्यका जाने पर्यटकका लागि चन्दननाथ नगरलाई हबको रुपमा विकसित गरिने भएको उनको घोषणा पत्रमा भनिएको छ ।  

पर्यटकको गास बासका लागि सुविधा सम्पन्न होटल निर्माणमा जोड दिँदै पर्यटकीय नगरी कनकासुन्दरी गाउँपालिका जोड्ने मोटरबाटो बनाउन पहल हुने प्रतिबद्धता छ । यसैगरी हाम्रो चन्दननाथ, जनताको साथ भन्ने नारालाई साकार पार्न जेष्ठ नागरिक, दलित, गर्भवती, एकल महिला, असाहय, नागरिकलाई नगरपालिकाबाट थप सेवा सुविधा प्रदान गरिने छ । विपद् व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गर्ने दुव्र्यसन मुक्त नगरपालिका बनाउन परामर्श केन्द्रको स्थापना गर्ने उनले अठोट लिइएकी छिन् । 

उत्पादन मुलक कृषि उत्पादनलाई प्रथामिकता
चन्दननाथ नगरपालिका मेयरका उम्मेद्वार सेजुवालले जडिबुटी, फलफुल, तरकारी र मौरीपालन जस्ता उत्पादन मुलक कृषि कार्यक्रमलाई प्रथामिकताका साथ लागु पर्ने र बजारीकरणको व्यवस्था गर्ने बताएकी छिन् । संसारको सबैभन्दा उच्च स्थानमा फल्ने भनेर ख्याति कमाएको कालीमार्सी धानको जर्गेना गर्दै, अर्गानिक कृषि उत्पादनका लागि प्रोत्साहनमुलक कार्यक्रम ल्याइने उल्लेख गरेकी छिन् । कृषिलाई आधुनिक कृषिमा आर्कषित गर्न आर्थिक तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता उनको छ । चन्दननाथ नगरपालिकाको आफ्नै एफएम र अनलाइन पत्रिका सञ्चालन गर्न पहल गर्नुका साथै स्थानीय सञ्चार माध्यमको विकासका लागि विशेष जोड दिने भएको छ । कर्णाली विश्वविद्यालय स्थापना, दलित तथा विपन्न बालबालिकाको शिक्षामा ग्यारेण्टी, बाल संरक्षण गृह स्थापना प्रथामिकतामा परेका विषय हुन् । 
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरोन्नती गर्ने, प्रत्येक वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने र महिला स्वास्थ्यलाई गहन रुपमा लिने उनले प्रतिबद्धता जनाएकी हुन् । सुशासनको पाटोलाई गम्भिरता पूर्वक अघि बढाउनको लागि पहल गर्ने उनले बताएकी छिन । 

हरी बहादुर म्याराथुन मार्ग
कर्णालीको चितुवा धावक हरी बहादुर रोकायको योगदानको मुल्यांकन गर्दै उम्मेद्वार सेजुवालले जुम्लामा हरि बहादुर म्याराथुन मार्ग निर्माण गरी अघि बढ्ने बताएकी छिन । एक खेल, एक प्रशिक्षकको अवधारणा अघि सार्ने र युवालाई क्षमता र दक्षताका आधारमा रोजगारीको ग्यारेण्टी गर्ने वाचा गरेकी हुन । उनले आधुनिक सूचना प्रविधि केन्द्र स्थापना गर्ने र नगर क्षेत्रमा निशुल्क वाईफाई राखिनेमा जोड दिइएकी हुन् । उनको प्रतिबद्धता पत्र सार्वजनिक भइसक्दा समेत उनका प्रतिश्पर्धीद्वारा भने कुनै योजना सार्वजनिक हुन सकेको छैन । निर्वाचनमा नेकपा एमालेका शान्तिलाल महत र नेकपा माओवादी केन्द्रका अशोक कुमार श्रेष्ठ उनका प्रतिद्वन्द्वी हुन् । उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रले मतदातामा सकारात्मक सोचको विकास गराएको जानकारहरु बताउँछन ।  

प्रकाशित: २४ वैशाख २०७४ ०५:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App