४ वैशाख २०८१ मंगलबार
राजनीति

गाउँसम्मै तालमेलको पहल

पोखरा- स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल गर्ने केन्द्रस्तरीय सहमतिपछि पोखरा–लेखनाथ महानगरपालिकाको मेयर पदका माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका छन्। उपमेयरकी उम्मेदवार गोमा ढकालको भने उम्मेद्वारी कायम छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको अनुरोधपछि उम्मेदवारी फिर्ता लिएको लामिछानेले बताए। 'पार्टीकै निर्देशनमा मैले उम्मेदवारी दिएको थिए। अहिले पार्टीले नै फिर्ता लिन भन्यो,' लामिछानेले भने, 'त्यही अनुसार फिर्ता लिएको छु।' कांग्रेससँग तालमेल गर्ने केन्द्रीय नीति अनुुसार मेयरका दावेदार लामिछानेको उम्मेद्वारी फिर्ता भएको माओवादी केन्द्रका सह–इन्चार्ज जीवन बरालले बताए। उनका अनुसार अहिलेसम्म महानगरको मेयरमा बाहेक अन्यत्र तालमेल भइसकेको छैन।

माओवादी र कांग्रेसको केन्द्रीय नीतिबाहेक गाउँपालिकास्तरमा चुनावी तालमेलको पहल निकै नै भएको थियो। तर, तालमेल हुन नसकेको कांग्रेसले बताएको छ। कांग्रेस कास्की सभापति कृष्ण केसीका अनुसार गाउँपालिकाका इकाईमा कांग्रेसले तालमेलको प्रयास गरेको थियो। 'ठूलाबाहेक साना आकारका राजनीतिक दलसँग तालमेल गर्ने पहल भएको हो। तर, उम्मेदवारी फिर्ता हुनेगरी सहमति बनेको छैन,' केसीले भने, 'माओवादी केन्द्र, राप्रपासँग मिलेर जाने योजना बनेको हो। सबै दललाई गाउँपालिका तहमा ठाउँ दिलाउने गरी तालमेल गर्न खोजेका हौ। तर, हुन सकेको छैन।'

स्थानीय तहमा शक्ति सन्तुलन मिलाउन तल्लो तहमा तालमेल गर्न खोजेको उनले बताए। 'माओवादी केन्द्र र राप्रपासँग गाउँपालिकास्तरमा तालमेल गर्न छलफल भएको हो। तर, हुन सकेन,' उनले भने, 'उम्मेदवारी फिर्ता लिने गरी तालमेल नभए पनि सहकार्य गर्न सकिन्छ।' केसीका अनुसार कांग्रेस कास्कीका सबै ३ सय ७० जना उम्मेदवार कायमै छन्। अहिलेसम्म कसैले उम्मेदवारी फिर्ता लिएका छैनन्।

एमाले कास्कीका प्रचार विभाग प्रमुख तेजनारायण अधिकारीले उम्मेदवारी नै फिर्ता लिने गरी तालमेल नभएको बताए। राप्रपासँग महानगरमा तालमेल गर्ने प्रयास गरे पनि हुन नसकेको उनले बताए। त्यसबाहेक गाउँपालिकास्तरमा माओवादी केन्द्र र राप्रपासँग नै तालमेलको कुरा चलेको पनि उनले बताए। 'उम्मेदवारी नै फिर्ता हुने गरी तालमेल भएको छैन। पहल मात्र भएको हो,' उनले भने।

तनहुँमा एमाले र माओवादी केन्द्रबीच नगरपालिकादेखि गाउँपालिकासम्म तालमेलको प्रयास सुरुदेखि नै थियो। त्यसै अनुसार केही नगरपालिका र गाउँपालिकामा दुवै दलले एकअर्काविरुद्ध उम्मेदवारी दिएका थिएनन्। व्यास नगरपालिकामा एमालेको मेयर र माओवादी केन्द्रको उपमेयरमा तालमेल भएपछि त्यसै अनुसार उम्मेदवारी परेको थियो।

एमाले तनहुँका अध्यक्ष केदार सिग्देलले कांग्रेसबाहेक राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रसँग तालमेलको पहल भइरहेको बताए। 'उम्मेदवारी फिर्ता लिने समय सकिए पनि तालमेलको पहल अझै भइरहेको छ,' उनले भने, 'उम्मेदवारी फिर्ता लिएर मात्र तालमेल हुने होइन। एकले अर्काेलाई सघाउने गरी घोषणा गर्न सकिन्छ। त्यसमा पहल भइरहेको छ।'

तनहुँको भीमाद नगरपालिकामा मेयर र उपमेयरमा एमालेलाई सघाउने भन्दै माओवादी केन्द्रले उम्मेदवारी दिएको थिएन। घिरिङ गाउँपालिकामा पनि एमालेलाई सघाउने भनेर माओवादी केन्द्रले उम्मेवारी दिएको थिएन।

बाग्लुङमा एमाले जिल्ला सचिव लालबहादुर थापाका अनुसार राष्ट्रिय जनमोर्चा र एमालेको सहमति भएका ठाउँमा एक अर्काको उम्मेदवारी फिर्ता गरेर आपसमा सहयोग गर्ने सहमति भएको छ। जसअनुसार बाग्लुङ नगरपालिका, बडिगाड गाउँपालिका र काठेखोलामा एमालेले प्रमुख र ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले प्रमुख पद पाउनेछन्। यद्यपि ढोरपाटन नगरपालिकामा भने माओवादी केन्द्रबाट एमाले प्रवेश गरेर देवकुमार नेपाली मेयरमा उम्मेदवारी दिएपछि सहमति भाँडिएको केही नेताले बताएका छन्। यसबारे एमाले राष्ट्रिय जनमोर्चाका जिल्ला नेताले कुनै प्रतिक्रिया दिएका छैनन्।

म्याग्दीमा बेनी नगरपालिका, मंगला गाउँपालिका र धौलागिरी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ। बेनीमा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर पाउने गरि तालमेल गरिएको छ। मंगला र धौलागिरी गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख र कांग्रेसले उपप्रमुख पाउने गरी तालमेल भएको कांग्रेसका म्याग्दी सभापति खमबीर गर्बुजाले बताए।

अन्नपूर्ण गाउँपालिकामा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गर्ने भएको छ। बेनी नगरपालिकाभित्रै पनि एमाले र राप्रपाबीच तालमेल भएको छ। त्यसअनुुसार एमालेले मेयर र राप्रपाले उपमेयर पाउने गरी तालमेल गरेका छन्। रघुगंगा गाउँपालिकामा एमाले, माओवादी केन्द्र र राप्रपा मिलेर एमालेलाई प्रमुख, माओवादी केन्द्रलाई उपप्रमुख दिने गरी सहमति गरेको एमाले जिल्ला सचिव बालकृष्ण सुवेदीले बताए। तालमेल भएका नगरपालिका, गाउँपालिकाका केही वडामा समेत एकले अर्काेलाई सघाउने गरी दलले तालमेल गरेका छन्।

प्रकाशित: २२ वैशाख २०७४ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App