coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

​काठमाडौं मेयरका प्रतिबद्धता : 'जिते चौबीसै घन्टा खुल्ने सहर बनाउँछु'

काठमाडौं- एमालेबाट काठमाडौं महानगरपालिकाका लागि मेयरका प्रत्याशी विद्यासुन्दर शाक्यले आफू निर्वाचिन भए राजधानीलाई २४ सै घन्टा खुल्ने सहर बनाउने बताएका छन्। सञ्चारकर्मीसँग आफ्नो चुनावी अजेण्डाबारे कुराकानी गर्दै शाक्यले भने, 'बाहिर (अरू देश) महानगर कहाँ सुत्छ र, १८–२० घन्टा खुल्छ। हाम्रो महानगर राति ८ बजे नै सुनसान हुन्छ। यसलाई आवश्यक व्यवस्थापन गरी चौबिसै घन्टा खुल्ने बनाउँछु', शाक्यले भने, 'यो सहरलाई खुला र जीवन्त बनाउनुपर्छ, नियन्त्रण गर्ने होइन।' उनले यसका लागि स्थानीय प्रशासनसँग मिलेर शान्ति सुरक्षासहित आवश्यक अन्य प्रबन्ध मिलाउने बताए।

'बाहिर (अरू देश) महानगर कहाँ सुत्छ र, १८–२० घन्टा खुल्छ। हाम्रो महानगर राति ८ बजे नै सुनसान हुन्छ। यसलाई आवश्यक व्यवस्थापन गरी चौबिसै घन्टा खुल्ने बनाउँछु। यो सहरलाई खुला र जीवन्त बनाउनुपर्छ।'

उनीले आफ्नो २५बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छन्। जसमा राजधानीमा यातायात प्रणाली, सार्वजनिक शिक्षामा सुधार, खानेपानी, सडक निर्माण र विस्तारदेखि समाज कल्याणसम्मका कार्यक्रमको फेहरिस्त छ।  महानगरका वृद्धलाई मासिक एक हजार रुपैयाँ भत्ता व्यवस्था गर्ने पनि उनको प्रतिबद्धतामा उल्लेख  छ।

पूर्वाधार निर्माण तथा विकास शीर्षकमा यातायात व्यवस्था, खानेपानी तथा ढल निकास, आवास तथा सार्वजनिक जग्गा व्यवस्थापन, विशेष पूर्वाधार निर्माण गर्ने उनको योजना छ। विशेष पूर्वाधारमा महानगर सिटी प्लानिङ कमिसन निर्माण गर्ने उल्लेख छ।

प्रतिबद्धतापत्रमा दैनिक २० घण्टा सार्वजनिक यातायात सञ्चालन गर्ने र ५ मिनेटभन्दा बढी हिँड्नु नपर्नेगरी सार्वजनिक यातायात व्यवस्था गरिने उल्लेख छ। 'स्मार्ट सिटी ट्रान्सपोर्ट कार्डको व्यवस्था गरिनेछ। उक्त कार्ड मोनो रेल, मेट्रो ट्रेन, सिटी बस, केबलकार सबैका लागि प्रयोग गर्न सकिने व्यवस्था मिलाइने छ,' प्रतिबद्धतापत्रमा भनिएको छ।

त्यसैगरी सूचना तथा सञ्चार विकास, प्रदूषण नियन्त्रण, स्मार्ट सिटी व्यवस्थापन, शान्ति सुरक्षा, फोहोर व्यवस्थापन, संस्कृति र सम्पदा संरक्षण, भाषा, कला र साहित्य विकास, सामाजिक सेवा, पर्यटन विकास, रोजगारी अभिवृद्धि, ऊर्जा संकट समाधान, अन्तर्राष्ट्रिय सम्बन्ध, कृषि, उद्योग र बजार व्यवस्थापन विषयलाई पनि उनले प्रतिबद्धतापत्रमा समेटेका छन्।

गठबन्धन केन्द्रीय आवश्यकता

एमाले मेयरका प्रत्याशी शाक्यले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको चुनावी गठबन्धन स्थानीय नभई केन्द्रीय आवश्यकता भएको बताएका छन्। 'हामी एक्लै लड्दा पनि जित्ने अवस्था छैन। राप्रपासँगको गठबन्धनले त्यसलाई झनै सुनिश्चित पारेको छ,' शाक्यले भने, 'स्थानीय आवश्यकता मात्रै होइन केन्द्रको आवश्यकता हो। संविधान कार्यान्वयन र संशोधन जस्ता विषयमा भविष्यमा सहकार्यका लागि यो गठबन्धनले सघाउने छ।'

प्रमुख प्रतिपक्षी दल एमाले र राप्रपाबीच काठमाडौं र ललितपुर महानगरपालिकाको शीर्ष तहमा चुनावी गठबन्धन गर्ने सहमति बनेको छ। एमालेका नेताले यो गठबन्धनलाई बडा तहमा समेत पुर्‍याउने तयारी भइरहेको बताए।

साझा कार्यक्रम ल्याउने

राप्रपाबाट काठमाडौं महानगरपालिकामा उपमेयरका उम्मेदवार राजाराम श्रेष्ठले गठबन्धनमा चुनाव लडेको दल एमालेसँग मिलेर महानगरपालिका सञ्चालनका लागि साझा कार्यक्रम ल्याउने बताए। 'चाँडै नै एमालेसँग छलफल गरेर साझा न्यूनतम कार्यक्रम ल्याउनेछौं,' श्रेष्ठले भने, 'महानगर कसरी सञ्चालन गर्ने भनेर त्यो आवश्यक छ।'

राप्रपाबाट मेयरको उम्मदवारी दिने तयारीमा रहेका उनले एमालेसँग गठबन्धन बनेपछि उपमेयरमा उम्मेदवारी दिएका छन्। 'राजनीति गर्ने मानिस आवश्यकताअनुसार कहिले मेयर हुन्छ कहिले बडाध्यक्ष', श्रेष्ठले भने, 'प्रहरीमा जागिर खाएको हो र आइजिपी भएपछि डिआइजी बन्दिनँ भन्नलाई।'

प्रकाशित: २१ वैशाख २०७४ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App